ad ad

खेल


सुपर सिक्समा आज बंगलादेशसँग नेपालको शक्ति परीक्षण

सुपर सिक्समा आज बंगलादेशसँग नेपालको शक्ति परीक्षण

फाइल तस्बिर


लक्ष्मी जि.सी
माघ १७, २०८० बुधबार ७:३३, काठमाडौँ

दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपाल आज (बुधबार) बंगलादेश भिड्दै छ।

सुपरसिक्सअन्तर्गत मंगलबार भएका खेलमा भारत र पाकिस्तान विजयी भएसँगै सेमिफाइनल पुग्ने दौडबाट बाहिरिइसकेको नेपालको यो प्रतिस्पर्धा केवल प्रतिष्ठा र शक्ति परीक्षणका लागि हुनेछ। 

नेपाल र बंगलादेशबीच सुपर सिक्सको पहिलो खेल ब्लुमफोनटिनस्थित मनगाउङग ओभलमा दिउँसो पौने २ बजे सुरु हुनेछ। 

बंगलादेशविरुद्ध लेगस्पिनर तिलक राजभण्डारी बेन्चमा हुन सक्छन्। अफगानिस्तानविरुद्धको खेलमा फिल्डिङका क्रममा घाइते तिलकको दाहिने हातको हत्केलामा २ वटा टाँका लगाइएको छ।

यद्यपि, दोस्रो इनिङस्मा चोटका बावजुद उनी क्रिजमा आएका थिए। उनले बल फेस नगरे पनि सुवास भण्डारीलाई साथ दिँदै नेपाललाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। हातमा टाँका लगाएका कारण डाक्टरले उनलाई करिब एक साता आराम गर्न भनेका छन्। 

तिलकको स्थानमा विकेटकिपर उत्तम थापा मगर आउन सक्नेछन्। अफगानिस्तानविरुद्ध तिलकले उत्तमको स्थान लिएका थिए।

बंगलादेशविरुद्ध ब्याटिङमा कप्तान देव खनाल र ओपनर अर्जुन कुमाल नेपालका मुख्य हतियार हुनेछन्।

अफगानिस्ताविरुद्ध देवले कप्तानी भुमिका पूरा गरेका थिए। ओपनर अर्जुन कुमाल पछिल्ला खेलमा चल्न नसके पनि आजको खेलमा लामो समय क्रिजमा टिक्ने आशा छ। 

बलरमा नेपालका आकाश चन्द र दिपेश कँडेलमाथि धेरैको नजर हुनेछ। नेपाललाई सुपर सिक्समा पुर्याउन महत्वपूर्ण भुमिका खेलेका आकाशले पाँच विकेट लिँदै सनसनी मच्चाएका थिए। 

उनले विश्वकपका तीन खेलमा ८ विकेट लिएका छन्। त्यस्तै समान खेलबाट ४ विकेट लिएका दिपेशले नेपाललाई सन्तुलनमा राख्न मद्दत गर्नेछन्। 

बंगलादेशका मरुफ मृदा र बलिङ अलराउण्डर महफुजुर रहमान रब्बी नेपालका लागि घातक बन्न सक्नेछन्।  

समूह ‘डी’ मा रहेको नेपालले समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै तेस्रो स्थानमा रहेर सुपर सिक्समा स्थान पक्का गरेको थियो। 

सुपर सिक्समा नेपाल अंकविहीन रुपमा खेल्दै छ। सुपर सिक्समा प्रवेश नगरेको अफगानिस्तानलाई हराएका कारण यस खेलबाट नेपालको अंक जोडिने छैन। यद्यपि नेपालको नेट रनरेट भने जोडिनेछ। 

यदि नेपालले सुपर सिक्समा स्थान बनाएका पाकिस्तान र न्युजिल्यान्डमध्ये एक टोलीलाई हराएको भए नेपालको खातामा अंक जोडिने थियो।

बंगलादेशको खातामा २ अंक छ। समूह ‘ए’को उपविजेता बन्दै बंगलादेशले सुपर सिक्समा स्थान बनाएको हो। बंगलादेशले सुपर सिक्समा पुगेको आयरल्यान्डलाई हराएका कारण २ अंक जोडेको छ।

समूह चरणमा बंगलादेशले आयरल्यान्डलाई ६ विकेटले हराएको थियो। अर्को खेलमा अमेरिकामाथि १ सय २१ रनको फराकिलो जित निकालेको थियो। 

नेपालले सुपर सिक्सको दोस्रो खेलमा समूह ‘ए’को विजेता भारतसँग शुक्रबार खेल्ने तालिका छ। 

सुपर सिक्समा आफ्नो स्थानको टोलीले अर्को समूहबाट आउने त्यही स्थानको टोलीसँग खेल्नु नपर्ने कारण नेपालले भारत र बंगलादेशसँग मात्रै खेल्न लागेको हो। 

सुपर सिक्सको समूह ‘ए’मा नेपाल र बंगलादेशसँगै भारत, पाकिस्तान, न्युजिल्यान्ड, र आयरल्यान्ड छन्। समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलंका, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, इङल्यान्ड र जिम्बाबे छन्। 

दुवै समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन्। 

हेड टु हेड
आईसीसी यू–१९ विश्वकपमा नेपाल र बंगलादेश तेस्रो पटक भिड्न लागेका हुन्। यसअघि भएका दुई भेटमा नेपाल र बंगलादेशले समान १/१ पटक जितका छन्। 

यी दुई टोली ८ वर्षपछि भेट हुन लागेका हुन्। यसअघि सन् २०१६ मा बंगलादेशमा नै भएको खेलको क्वार्टरफाइनलमा नेपाल ६ विकेटले पराजित भएको थियो। 

त्यसअघि सन् २००२ मा भएको विश्वकपमा नेपालले बंगलादेशलाई २३ रनले हराएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .