ad ad

खेल


नेपाली टोलीको सफलतामा खुसी छन् चोट बोकेका सरु र रेनुका

नेपाली टोलीको सफलतामा खुसी छन् चोट बोकेका सरु र रेनुका

फाइल तस्बिर


लक्ष्मी जि.सी
फागुन १४, २०८० सोमबार १९:५, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोली साउदी अरबमा जारी वाफ महिला च्याम्पियन्सिपको सेमिफाइनल पुगिसकेको छ। 

समूह चरणमा शतप्रतिशत नतिजा निकाल्दै अन्तिम चरणमा पुगेको नेपालले फाइनल प्रवेशका लागि  मंगलबार राति लेबनानको सामना गर्दैछ । 

टोलीले उच्च प्रदर्शन गरिरहँदा यसअघिका दुई महत्वपूर्ण सदस्य भने यतिबेला दर्शकमा सीमित छन्। 

नियमित कप्तान एवम् मिडफल्डर रेनुका नगरकोटे र अर्की मिडफिल्डर सरु लिम्बु यसपटक टोलीको हिस्सा भएनन्। दुवैले चोटका कारण वाफ गुमाउनु परेको हो। 

पछिल्लो दुई वर्षयता घरेलु मैदानमा महिला फुटबल शून्यको अवस्थामा छ। यस्तोमा अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउनु पर्दा स्वभाविक छ। दुवै खेलाडी केही निराश छन्। यद्यपि टोलीको सफलतामा दुवै खुुसी छन्। 

सिनियर खेलाडी रेनुका टोलीको सफलताको कामना गरिरहेकी छन्। गत वर्ष एसियन गेम्सकै तयारीका क्रममा रेनुकाको बायाँ क्लाभिकल (घाँटीमुनिको हड्डी) फ्याक्चर भएको थियो। 

जसकारण उनले गत वर्ष भदौमा स्वदेशमा भएको साफ च्याम्पियनसिप गुमाएकी थिइन्। टोलीमा पुनरागमन गरेकी रेनुकाले यसपटक अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता गमाुउनु परेको छ।

चीनमा गत असोजमा सम्पन्न एसियन गेम्सबाट फर्केपछि पुरानै चोट बल्झिएका कारण दोस्रो पटक शल्यक्रिया गर्नुपरेको थियो। 

‘टोलीबाहिर हुँदा दुःख लाग्छ नै। तर, साथीहरुले राम्रो खेलिरहेका छन्। त्यो देख्दा खुसी लागेको छ’, रेनुकाले भनिन्, ‘टोलीको जितमा आफ्नो दुःख पनि बिर्सने रहेछ।’

सन् २०१० मा राष्ट्रिय टोलीमा डेब्यु गरेकी रेनुका तेस्रो पटक टोली बाहिर रहनुपरेको हो। 

सन् २०१६ मा भारतमा भएको १२ औँ दक्षिण एसियाली खेदकुद (साग) पनि उनले चोटका कारण गुमाउनुपरेको थियो। 

त्यतिबेला प्रधानसेनापति कप फुटबल प्रतियोगिताका क्रममा घुँडामा समस्या भएपछि रेनुका पहिलो पटक टोलीबाहिर बसिन्।

उमेर समूहको कप्तानी सम्हाल्दै २०१६ मा राष्ट्रिय टोलीमा डेब्यु गरेकी सरु चोटका कारण पहिलो पटक टोलीबाहिर रहेकी हुन्। 

‘सबैजनाले राम्रो खेल्नु भएको छ। खेल हेर्दा राम्रो लागिरहेको छ,’ सरुले भनिन्, ‘हेर्न भन्दा आफैँ खेल्न पाए हुने भन्ने लाग्ने रहेछ। टोलीले राम्रो खेलेर जितिरहँदा खुसी लागेको छ।’ 

टोली खेलिरहँदा आफू पनि मैदानमा हुन पाए हुन्थ्यो भन्ने लाग्ने गरेको सुरुले बताइन्। 

‘टोलीबाहिर बसेर हेर्न मात्रै एकदम गाह्रो हुने रहेछ’, उनले भनिन्, ‘टोलीमा आफू पनि भएको भए हुने जस्तो लागिरहन्छ। तर चाहेर मात्रै नहुने।’ 

चीनमा भएको एसियाडमा भियतनामविरुद्ध खेल्दा चोट लागेपछि सरुले वाफ च्याम्पियनसिप गुमाएकी हुन्। 

पहिलो हाफको ३५ औँ मिनेटमा बायाँ खुट्टा ट्वीस्ट हुँदा सरुले मैदान छाडेकी थिइन्। त्यसपछि उनले एसियाडका बाँकी खेल पनि गुमाइन्। घुँडाको एसियल र मिनिस्कस गएपछि चीनमै उनको शल्यक्रिया गरिएको थियो। 

टोलीले साउदीमा उच्च प्रदर्शनलाई जारी राखेको छ। पहिलो खेलमा सिरियालाई ४–१ ले हराएको नेपालले दोस्रो खेलमा सबै गोल सावित्रा भण्डारी ‘साम्बा’ले गर्दा इराकमाथि ५–० को फराकिलो जित निकालेको थियो। अन्तिम खेलमा टोलीले प्यालेस्टाइनलाई ४–० ले हराउँदै नेपाल समूह विजेता भएको छ।

जारी प्रतियोगितामा ८ गोल गरिसकेकी साम्बाले यही प्रतियोगितामा ५० अन्तर्राष्ट्रिय गोलको कोसेढुंगा पार गरेकी छन्। 

वाफ च्याम्पियन्सिपमा ८ गोल गरेकी साम्बा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन्। उनीपछि लिगमा समान ३ गोल गरेका खेलाडी दोस्रो र तेस्रो स्थानमा छन्। 

फ्रान्सेली शीर्ष लिग खेल्दै गरेकी साम्बा त्यहीँबाट साउदी पुगेकी थिइन्। स्वदेश फर्केर साउदी जानुअघि टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बासहित ६ खेलाडी भारतीय महिला लिग खेलिरहेका थिए।

पहिलो पटक वाफ खेलिरहेको नेपाललाई उपाधि दाबेदारमध्येमा हेरिएको छ। सेमिफाइनलमा लेबनानलाई हराउन सके नेपालले फाइनलमा प्यालेस्टाइन र जोर्डनमध्ये एक टोलीको सामना गर्नेछ। 

साग र साफ च्याम्पियन्सिपमा लगातार फाइनल खेल्दै आएको नेपाली महिला टोलीका लागि उपाधिको खडेरीलाई चिर्न वाफ एउटा अवसर बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .