२२ वर्षीय भारतीय ओपनर यशस्वी जैसवालले पछिल्लो टेस्ट शृंखलामा इंग्ल्यान्डविरुद्ध ७१२ रन जोडेका छन्। इतिहासमै भारतीय ब्याटरले इंग्लिस टोलीलाई एक शृंखलामा हानेको सबैभन्दा धेरै रन हो यो।
यतिबेलासम्म तपाईंले सायद उनको कथा सुनिसक्नुभयो होला। सुनेको भए पनि केही छैन। यो कथा दोहोर्याउन लायक छ।
उत्तर प्रदेशको भदोही जिल्लामा अवस्थित घर छाड्दा जैसवाल १० वर्षका दुब्लोपातलो लजालु बालक थिए। बुवासँग उनी एक हजार माइल पार गरेर चम्किलो सहर मुम्बई पुगे। उनको सपना थियो क्रिकेटर बन्ने।
बुवाले जैसवाललाई काकासँग छाडिदिए र आफू घर फर्किए। त्यसको केही दिनपछि जैसवाल एउटा डेरीमा काम गर्न थाले र त्यहीँ बस्न थाले। त्यसपछि उनले सहरको प्रसिद्ध आजाद मैदानका हेरचाह गर्ने व्यक्तिसँग उनकै त्रिपालमा बस्ने मौका पाए।
यहाँ उनी ग्लुकोज बिस्कुट र कहिलेकाहीँ पाइने निशुल्क खानाको भरमा बाँचे। त्यसभन्दा पनि उनी क्रिकेटको भरमा जीवित रहे। नेटमा निरन्तरको अभ्यास र खेलहरूमा उनले आफ्नो ब्याटिङ कौशल तिखार्ने मौका पाए।
‘म लामो, धेरै लामो समय एक्लै रहेँ,’ गत वर्ष उनले भनेका थिए, ‘बुवाले छाडेर गएपछि सुरुमा मलाई निकै कठिन भयो। बिस्तारै म बानी परेँ र व्यस्त हुन थालेँ।’
केही वर्ष मैदानमै उनले पालमुनि बिताए। त्यतिबेला उज्यालो भएदेखि रात नपरुञ्जेल उनी क्रिकेट खेलिरहन्थे। कहिलेकाहीँ सडक व्यापारीलाई पानीपुरी बेच्न सघाएर एकदुई रुपियाँ कमाउँथे। त्यहीबेला उनीमाथि क्रिकेट प्रशिक्षक ज्वाला सिंहको नजर पर्यो।
सिंहले उनको जिम्मा लिए र पछि वैधानिक अभिभावक पनि बने। त्यसपछि यी दुई जना उनीहरूको सपना पूरा गर्न अथक रुपले लागिरहे।
त्यसअघि एक्लै हुँदा जैसवाल आफ्नो त्रिपालबाहिर उभिन्थे र वानखेडे रंगशालाको फ्लडलाइट नियाल्ने गर्थे। जसले मुम्बईको आकाश उज्यालो पार्थ्यो।
गत वर्षको अप्रिल ३० मा त्यही प्रसिद्ध मैदानमा उनी आफ्नो सपना बाँचिरहेका थिए– उनले पहिलो आईपीएल शतक प्रहार गरे। मुम्बई इन्डियन्सविरुद्ध राजस्थान रोयलको पक्षबाट उनले ६२ बलमा १२४ रन बनाए।
खेलपछि उनले आफूले राति उभिएर वानखेडेको उज्यालो हेरेको सम्झिए।
‘यो सधैँ मेरो मनमा रहनेछ,’ आफ्नो अभूतपूर्व यात्राबारे उनले भने, ‘यसले मलाई सधैँ आत्मविश्वास दिन्छ। लड्ने उत्प्रेरणा दिन्छ। जस्तोसुकै परिस्थिति आओस्, म तयार रहनेछु।’
इंग्ल्यान्डको सामना गर्न जैसवाल तम्तयार थिए। उनी शृंखलाभरि व्यस्त रहे। पहिलो खेलमा हैदरावादमा जितपछि निर्मित इंग्ल्यान्डको आत्मविश्वास विसाखपटनम र राजकोटमा उनका दोहोरो शतकले समाप्त पारिदियो। प्रत्येक इनिङमा खेलका सबै पक्षमा भारतको हालिमुहाली रह्यो।
इंग्ल्यान्डको हारका विषयमा अनेक निष्कर्ष निकालिनेछ। तर, बिर्सिन नहुने कुरा भनेको भारतले पछिल्लो समय घरेलु मैदानमा एकदम राम्रो प्रदर्शन गरिरहेको छ।
रोहित शर्माको टोली हरेक पक्षमा सबल देखिन्छ। विराट कोहली नभए पनि केही फरक परेन। युवा ब्याटर जोडी चम्किए। विकेटकिपर कार दुर्घटनामा परेर अझै निको भइसकेका छैनन्। तर, २३ वर्षे युवा विकेटकिपर आए र राम्रो प्रदर्शन गरे। ब्याटिङ पनि उनको गज्जबको छ।
बलिङमा पनि उस्तै छ। कुलदीप यादव टेस्टमा सबैभन्दा छिटो ५० विकेट लिने भारतीय खेलाडी बनेका छन्।
मैदानबाट यो विश्वव्यापी खेल भारतले चलाउँछ र यसको मापदण्ड उही तय गर्छ। नगरोस् पनि किन! यतिखेर जैसवालको कथा मात्र चर्चामा छैन। उनीजस्तै अरु कयौँले सफलता हात पारिरहेका छन्। र, यो क्रम जारी रहनेछ। त्यस्ता कयौँ छन्, जो अहिले मैदानको माटो दलिएका गोडामा उभिएर निकै टाढा रंगशालामा बलिरहेको फ्लडलाइटमा आँखा लगाइरहेका छन्। मौकाको ताकमा। गार्डियनबाट
Shares
प्रतिक्रिया