ad ad

खेल


लेबनानविरुद्धको जितपछि जब पूजाको आँखाबाट थामिएन आँसु

लेबनानविरुद्धको जितपछि जब पूजाको आँखाबाट थामिएन आँसु

वाफ च्याम्पियनसिप खेलेर नेपाल फर्किएपछि अन्य टोली सदस्यहरुसँगै पूजा (इन्सेटमा लेबनानविरुद्धको जितपछि पूजा)।


लक्ष्मी जि.सी
चैत १, २०८० बिहिबार १४:३०, काठमाडौँ

वाफ महिला च्याम्पियनसिपमा उपविजेता भएर नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएको दुई साता भएको छ। 

अहिले टोलीका खेलाडीहरुलाई विभिन्न संघ/संस्थाहरुले सम्मान गरिरहेका छन्। नेपाली फुटबल इतिहासको ३८औँ वर्षमा ११औँ फाइनल खेलेको महिला टोली फेरि एक पटक उपविजेतामै सीमित बन्यो। 

समूह चरणमा अपराजित रहँदै सेमिफाइनल पुगेको महिला टोलीले सेमिफाइनलमा लेबनानलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो। सेमिफाइनमा नेपालले लेबनानलाई २–१ गोल अन्तरले हराउँदै पहिलो सहभागिता नै फाइनल पुगेको थियो। 

सेमिफाइनलमा लेबनानलाई हराएपछि महिला टोलीकी डिफेन्डर पूजा राना मैदानमा निकै बेर रोइन्। 

उनको आँसु पुछ्न टोलीका सबै सदस्य लागिपरेका थिए। पूजाको त्यो रुवाइले सायद नेपाल र लेबनानबीचको सेमिफाइनल खेल हेर्ने दर्शकको पनि मन छोएको हुनुपर्छ। 

नेपाल फाइनलमा पुगेको खुसीका बीचमा पूजाको आँसुमा छुट्टै भाव देखिन्थो। खेलपछि उनको आँखाबाट बगिरहेको आँसुको अर्थ थियो, खेलमा उनले गरेको आत्मघाती गोल। 

खेलको ३८औँ मिनेटमा नेपाली टोलीकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बा र डिफेन्डर पूजाबीच तालमेल नमिल्दा पूजाको ब्याक पास गोलमा परिणत हुन पुगेको थियो। 

खेलको ७६औँ मिनेटमा सावित्रा भण्डारी साम्बाको गोलमा नेपाल खेलमा फर्किएको थियो। तर निर्धारित समयमा पनि खेल बराबरीमा हुँदा सबैमा चिन्ताको भाव देखिन्थ्यो। 

तर इन्ज्युरी समयमा प्रिति राइको निर्णायक गोलमा नेपालले फाइनल यात्रा तय गरेको थियो। 

आफैँलाई मोटिभेट गरिरहेँ
खेलपछि डिफेन्डर पूजा निकै भावुक देखिइन्।

नेपाल फर्किएपछि नेपालखबरसँग पूजाले भनिन्, ‘आत्मघाती गोल गर्दा एकदमै नराम्रो लागेको थियो। तर मैदानमा आफैँले आफैँलाई मोटिभेट गरिरहेँ, त्यो गोलको कारण आफ्नो खेल खस्किन दिन हुन्न भन्ने थियो।’

सेमिफाइनलमा पूजाले पूरै समय मैदानमा बिताइन्।

आत्मघाती गोलपछि पनि पूजाले मनमा सोचिरहिन्, ‘अब टोलीलाई राम्रो पास दिन्छु, त्यो पनि गोल गर्ने गरेर।’ 

नेपालले खेलमा २ गोल गरेर जितेपछि थाहै नपाईकन आँसु झरेको पूजा सम्झिन्छिन्। 

‘त्यो बेलामा टिमले एकदम राम्रो सपोर्ट गरेको थियो, पछि टिमले कमब्याक पनि गर्यो र जित्यौँ’, उनी भन्छिन्, ‘मनमनै सोचिरहेको थिएँँ। यो सबै खेलको एक पक्ष हो, यही कुरालाई मनमा लिइरहेँ भने अर्को खेल पनि नराम्रो हुन्छ भनेर सोचिरहेँ। अनि आफैँलाई मोटिभेट गरेँ।’ 

पहिलो सहभागितामा नै फाइनल खेलेको नेपाल पाँच पटकको विजेता जोर्डनसँग पराजित भयो। 

वाफ च्याम्पियसिपको समूह चरणको पहिलो खेलमा सिरियासँग ४–१ ले जित निकालेको नेपालले इराकलाई ५–० को फराकिलो अन्तरले हराएको थियो। समूह चरणको अन्तिम खेलमा भने प्यालेस्टाइनमाथि ४–० को जित दर्ता गर्यो। 

सेमिफाइलमा लेबनानलाई २–१ ले हराउँदै फाइनल यात्रा तय गरेको नेपालले जोर्डनसँग भने टाइब्रेकरमा पराजित हुन पुग्यो।

निर्धारित समयमा २–२ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकरमा नेपाल ५–३ ले पराजित भयो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .