ad ad

खेल


सरकारकै पुरस्कार हात पार्न खेलाडीलाई धौधौ

सरकारकै पुरस्कार हात पार्न खेलाडीलाई धौधौ

लक्ष्मी जि.सी
चैत १५, २०८० बिहिबार १७:३१, काठमाडौँ

नेपाली राष्ट्रिय टोलीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उच्च प्रदर्शन गर्दा उनीहरुको सम्मानमा पुरस्कार रकमको घोषणा हुँदै आएको छ। 

तर ती पुरस्कार पाउन खेलाडीले धेरै संघर्ष गर्दै आउनुपरेको छ। त्यसकै एक उदाहरण बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको खेलाडी विदाइ कार्यक्रममा पनि देखियो। 

एसीसी प्रिमियर कप तथा भारतस्थित गुजरातको वापीमा बरोडा र गुजरात सम्मिलित त्रिकोणात्मक फ्रेन्डशिप कप खेल्ने नेपाली टोलीको विदाइका लागि क्यानले आयोजना गरेको कार्यक्रममा खेलाडीलाई शुभकामना दिन तथा विदाइ गर्न युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ स्वयं पुगेका थिए। 

युवा तथा खेलकुदमन्त्रीकै अघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सरकारले आफूहरुको सम्मानस्वरूप घोषणा गरेको पुरस्कार रकम दिन युवा तथा खेलकुद मन्त्री श्रेष्ठसामु आग्रह गरे। 

कप्तान रोहितले सरकारले घोषणा गरेको पुरस्कार रकम दिन आग्रह गरेको यो पहिलो पटक भने होइन। यसअघि पनि उनले सरकारले घोषणा गरेको रकम दिन आग्रह गर्दै आएका थिए। 

विदाइ कार्यक्रममा कप्तान रोहितले भने, ‘एउटा अनुरोध छ, सरकारले हामीलाई सम्मानको रुपमा केही रकम तोक्नुभएको थियो। त्यसको ५०/६० प्रतिशत मात्र पाएका छौँ। त्यसपछि टी–२० विश्वकप छनोटको बेलामा पनि केही रकम घोषणा गर्नुभएको थियो। त्यो पाएका छैनौँ। अब विश्वकप खेल्न एक महिना मात्र बाँकी छ। त्यसलाई मन्त्रीज्यूले केही हेर्नुहुन्छ भन्ने विश्वास छ।’

खेलाडीलाई शुभकामना दिन तथा विदाइ गर्न पुगेका खेलकुदमन्त्री श्रेष्ठले यस्तो प्रतिक्रिया सामना गर्नुपर्ला भनेर सायद सोचेका थिएनन्। 

कप्तान रोहितको अनुरोधको जवाफ फर्काउँदै मन्त्री श्रेष्ठले भने, ‘पुरस्कार राशीका कुराहरु छन्, त्यो यहाँ मात्र हैन अन्य खेलको पनि रोकिएको छ। हिजो (बुधबार) भर्खर मात्र हामीले प्रक्रियालाई अघि बढाएका छौँ।’

उनले राष्ट्रिय एकतालाई कायम गर्न सक्ने खेलाडी नै भएकाले उनीहरुको प्रदर्शनले नै आफूलाई सम्बन्धित ठाउँमा दह्रोसँग उभिन मद्दत गर्ने बताए। 

प्रिमियर कपअघि नेपाली टोलीले गुजरातको वापीमा बरोडा र गुजरात सम्मिलित त्रिकोणात्मक फ्रेन्डशिप कप खेल्दै छ। प्रिमियर कपपछि नेपाली टोलीले विश्वकप खेल्नेछ। जसका लागि नेपाली टोली उत्साहित रहेको कप्तान पौडेलले बताए। 

गत कात्तिकमा भएको टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा स्थान बनाउँदै नेपालले वेष्ट इण्डिज र अमेरिकामा हुने विश्वकपका लागि स्थान पक्का गरेको थियो। घरेलु मैदानमा भएको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा स्थान बनाएको थियो। 

विश्वकपमा स्थान बनाएसँगै राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिको बैठकले टी–२० विश्वकपमा छनोट भएका १५ खेलाडीलाई जनही १३ लाख रुपैयाँ नगद पुरस्कार दिन सिफारिस गरेको थियो।    

राखेपका सदस्यसचिव टंकलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले १५ खेलाडी तथा मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको थियो। 

खेलाडीलाई जनही १५ लाख, मुख्य प्रशिक्षकलाई ३ लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोलाई समान १ लाख ९५ हजार रुपैयाँ दिन सिफारिस गरेको थियो। 

मन्त्रालयले गत माघमा एसिसी यू–१९ पुरुष सीडब्लुसी एसिया छनोटमा पदक विजेता खेलाडीलाई घोषित पुरस्कार दिएको थियो। जसका लागि खेलाडीले निकै संघर्ष गर्नुपरेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .