समाज


न्यायाधीश भट्टराईको वक्तव्य– मेरो ४३ वर्षे न्यायिक यात्रा खुला किताबजस्तै

न्यायाधीश भट्टराईको वक्तव्य– मेरो ४३ वर्षे न्यायिक यात्रा खुला किताबजस्तै

नेपालखबर
बैशाख १४, २०८१ शुक्रबार २१:३२, काठमाडौँ

सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराईले आफ्नो ४३ वर्षे न्यायिक यात्रा खुला किताबजस्तै रहेको बताएका छन्।

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशसमेत रहेका डा भट्टराईले स्टिङ अपरेसनसम्बन्धी मुद्दाका कुनै पक्षसँग आफूले भेटघाट नगरेको समेत स्पष्ट पारेका छन्।

एक युट्युब च्यानलले न्यायाधीश भट्टराईलाई समेत जोडेर सामग्री प्रसारण गरेपछि न्यायाधीश डा भट्टराईले एक संक्षिप्त वक्तव्य जारी गरी त्यसबाट आफू आश्चर्यचकित र स्तब्ध भएको बताएका छन्।

‘मेरो करिब ४३ वर्षको न्यायिक यात्रा खुला पुस्तकजस्तै छ,’ उनले वक्तव्यमा भनेका छन्, ‘जुन मुद्दाको प्रसंगमा मलाई जोडियो, सो मुद्दामा म संलग्न थिइनँ भन्ने कुरा उक्त मुद्दामा भएको फैसलाले नै बोलेको छ। त्यति मात्र नभई जुन समयमा संवैधानिक इजलासबाट सो फैसला भयो, सो अवधिमा मलाई संवैधानिक इजलासमा बिरलै राखिएको कुरा पनि स्पष्ट गर्दछु।’

साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गर्न अपनाएको विधि ‘स्टिङ अपरेसन’मा संवैधानिक इजलासबाट फैसला भएपश्चात् आफूले गरेका कयौं फैसलाहरूले सो विषयमा आफ्नो न्यायिक धारणा व्यक्त गरेको जानकारी पनि उनले दिएका छन्।

उनले लेखेका छन्, ‘उल्लिखित विषयमा मैले कसैलाई भेटेको वा कहीं कतै उपस्थित रहेको भन्ने कुरा नै तथ्यहीन छ। यस्तो आधारहीन, झुठो र जनतामा भ्रम छर्ने कुत्सित उद्देश्यबाट प्रसारित समाचारको म भर्त्सना गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .