ad ad

खेल


१०औँ खेलकुदको तयारीमा अनुभव बटुल्दै कर्णाली भलिबल

१०औँ खेलकुदको तयारीमा अनुभव बटुल्दै कर्णाली भलिबल

लक्ष्मी जि.सी
जेठ २८, २०८१ सोमबार १०:१८, काठमाडौँ

आठौँ प्रधानमन्त्री कप एनभीए भलिबल लिगका लागि छनोट भएपछि कर्णाली प्रदेश महिला टोलीमा बेग्लै उत्साह थियो। गत चैतमा लिग च्याम्पियनसिपबाट लिगका लागि पहिलो पटक छनोट हुँदा टोली उत्साहित हुन स्वाभाविक थियो।

तोकिएकै समयमा भयो भने यो वर्ष कर्णालीले १०औँ राष्ट्रिय खेलकुद आयोजना गर्दै छ। त्यसकै तयारीका रुपमा कर्णालीले पीएम कप लिगलाई हेरेको थियो। तर, नतिजा सोचेजस्तो भएन। लिग चरणका सबै खेलमा पराजित हुँदै टोेली घर फर्किएको छ। 

पहिलो पटक आफ्नो प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुदलाई कर्णाली यादगार बनाउन चाहन्छ। यद्यपि भलिबल टोलीले आफूलाई त्यो रुपमा उभ्याउन सकेन। 

१०औँ खेलकुदलाई लक्षित गर्दै कर्णालीले भलिबलसँगै अन्य खेलको पनि तयारी सुरु गरिरहेको छ। मौका मिलेको खण्डमा अन्य प्रतियोगितामा भाग सहभागी गराउँदै आएको छ। भलिबल टोलीले त्यस्तै उद्देश्यका साथ लिग च्याम्पियनसिपमा भाग लिएको थियो।

छनोट चरण पार गर्नु र लिगजस्तो माथिल्लोस्तरमा उच्च प्रदर्शन गर्नु दुई फरक विषय हुन्। पर्याप्त प्रशिक्षण र अनुभवको कमीका कारण कर्णाली लिगमा राम्रो छाप छाड्न नसकेको प्रस्ट देखिन्थ्यो। समग्रमै कर्णालीमा खेलकुदमा वामे सर्दै गरेको अवस्थामा छ। त्यसमा भलिबल मात्र अलग हुने विषय भएन। 

नयाँ अनुभव, १०औँ खेलकुदको तयारी
राम्रो प्रदर्शन गर्न नसके पनि लिग कर्णाली टोलीका लागि अनुभव बटुल्ने थलो बन्यो। राष्ट्रिय टोलीका खेलाडीसहित, भारतीय राष्ट्रिय टोलीका खेलाडी सम्मिलित टोलीविरुद्ध खेल्नु कर्णालीका खेलाडीका लागि ठूलो अवसर पनि हो। भविष्यमा यो अनुभवले टोलीलाई थप मजबुत गर्न मद्दत पुग्न सक्छ। 

युवा खेलाडीले भरिएको टोलीमा सिक्ने हुटहुटी पनि देखिन्छ। खेलाडीको हुटीहुटीलाई कायम राख्न नियमित प्रशिक्षण र प्रतियोगिताको थप अनुभव आवश्यक पर्छ। यदि त्यस्तो गर्न सकेको खण्डमा टोलीले १०औँ खेलकुदमा राम्रो छाप छाड्न सक्छ।

‘सोचेजस्तो प्रदर्शन गर्न सकेनौँ’
लिगमा आफ्नो टोलीले छनोट चरणजस्तो प्रदर्शन गर्न नसकेको टोलीका मुख्य प्रशिक्षक मोतीराम विश्वकर्मा र कप्तान रिमा गेलाङ स्वीकार गर्छन्। 

कप्तान रिमा भन्छिन्, ‘पहिलो पटक पीएम कपमा छनोट भएका हौँ। क्षमताअनुसार प्रदर्शन गर्न सकेनौँ। सायद अनुभवको कमीले त्यस्तो भएको हुन सक्छ। प्रशिक्षण पनि पुगेको छैन। भर्खरै खेल्न सुरु गरेका बहिनीहरुलाई ल्याउँदा सोचेजस्तो गर्न सकेनौँ।’

लिगको छनोटमा जस्तो लिगमा प्रदर्शन गर्न नसकेको रिमाको अनुभव छ। 

‘लिगको छनोट खेल्दा र अहिले खेल्दा फरक लाग्यो। त्यति बेलाको जस्तो खेल्न सकेनौँ। छनोटमा राम्रो खेलेका थियौँ, अहिले त्यस्तो भएन। विदेशी खेलाडीसँग खेल्दा डिफेन्स पुग्दैन, ब्लक काट्छन्। बहिनीहरुलाई धेरै सिकाउनुपर्ने छ।’

खुला मैदानको अभ्यास र त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलको म्याचमा खेल्दा फरक पर्ने भएकोले पनि सोचेजस्तो प्रदर्शन गर्न नसकेको रिमाको बुझाइ छ। त्यसलाई मध्यनजर गर्दै कर्णालीले १०औँ खेलकुदका लागि प्रदेश टोलीले म्याटमा तयारी गर्ने योजना बनाएको छ। 

कर्णाली प्रदेशले १०औँको तयारीका लागि असार १८ गते छनोट सुरु गर्दै छ। छनोट चरण पनि म्याटमा नै गराउने प्रदेशको तयारी रहेको बताइएको छ। 

रिमा भन्छिन्, ‘हामी बाहिर प्रशिक्षण गर्छौँ। तर म्याटमा गाह्रो हुने रहेछ। खुट्टा नै चल्दैन। लड्दा पनि चोट लाग्छ कि भन्ने हुने रहेछ।’ 

टोलीका मुख्य प्रशिक्षक मोतिराम विश्वकर्माले १०औँको तयारीका लागि नै कर्णाली प्रदेश खेलकुद परिषद्ले टोलीलाई प्रतियोगिताहरुमा सहभागी गराइरहेको जानकारी गराए। 

‘१०औँलाई लक्षित गर्दै अन्य प्रतियोगितामा भाग लिने र अनुभव बटुलिरहेका छौँ’, उनले भने, ‘हाम्रो समस्या भनेको मानसिक रुपमा अलिक कमजोर भएर हो। छनोटमा जस्तो राम्रो खेल्न सकेनौँ।’ 

‘टोली निर्माणकै चरणमा छौँ’
लिगमा सोचेजस्तो प्रदर्शन नभए पनि टोली निर्माणको प्रक्रिया भने निरन्तर चल्ने उनले जानकारी दिए। १०औँमा केही खेलाडी परिवर्तन हुन सक्ने बताउँदी उनले झण्डै ८० प्रतिशत भने अहिलेकै खेलाडी रहने बताए। 

खेलाडी र टोलीको निर्माणका लागि प्रदेश खेलकुद गम्भीर रहेको प्रशिक्षक मोतीरामको अनुभव छ। प्रदेशले खेललाई प्राथमिकतामा राखेको छ। बन्द प्रशिक्षणमा हरेक खेलाडीलाई १ हजार रुपैयाँ दैनिक भत्ता दिएर प्रशिक्षण सुरु गर्ने तयारी भइरहेको छ।

पूर्वाधार तयार पार्नु र खेलाडी तयार पार्नु फरक विषय भएको उनी बताउँछन्।  

‘पहिला २४ सदस्यीय खेलाडीलाई प्रशिक्षणमा समेट्नेछौँ’, उनले भने, ‘टिम बनाउन गाह्रो छ, अधिकांश खेलाडी विद्यार्थी हुन्। स्कुलबाट फर्केर प्रशिक्षणमा समावेश हुनुपर्ने अवस्था छ।’ 

समाजमा महिलालाई हेर्ने धारणा पहिले फरक रहे पनि अहिले केही सहज भएको उनको अनुभव छ। 

‘विभागीय टोलीसँग चाहिँ डर लाग्छ’
टोलीकी खेलाडी विमला विकले अन्य टोलीभन्दा यस पटक न्यु डायमन्डसँगको खेल केही सन्तोषजनक रहेको सुनाइन्।

‘न्यु डायमन्डको खेल एउटा समयमा पुुगेर जित्छौँ कि जस्तो पनि भएको थियो। अन्य टोलीसँग गाह्रो भयो। विभागको टोलीसँग चाहिँ डर लाग्छ’, उनले भनिन्।  

यसपटक उनले नयाँ अनुभव समेत लिन पाइन्। 

‘नम्बर जाँदा आफूले बिगार्दा आफ्नो कारणले हारेजस्तो लाग्ने रहेछ। रिसिभ पुगेको छ, केही चेन्ज गरियो भने राम्रो गरिन्छ’, उनले सुनाइन्।  

१०औँ राष्ट्रिय खेलकुदका लागि लागि फेरि छनोट हुने भएकाले नयाँ खेलाडीले पनि मौका पाउने सम्भावना छ। 

विमलाले भनिन्, ‘टिममा परियो भने खेल्ने हो। हाइट अलि कम छ, पढाइलाई पनि निरन्तरता दिन पर्यो।’ 

लिगमा भाग लिएकी कर्णालीकै अर्की खेलाडी नेहा कुमारी चौधरी भने मधेश प्रदेशबाट खेल्दै आएकी छिन्। यद्यपि उनको टोलीमा लिगमा समावेश नभएपछि उनी कर्णालीका लागि खेल्न आइपुगेकी हुन्। 

१०औँ खेलकुदमा उनले आफ्नै प्रदेशको प्रतिनिधित्व गर्नेछिन्। उनले भलिबल खेल्न थालेको ४ वर्ष भए पनि राष्ट्रिय प्रतियोगिता खेल्न थालेको भने २ वर्ष मात्रै भएको छ। 

उनको नजरमा पनि कर्णाली प्रदेशले पहिलाको जस्तो खेल्न सकेन। तर नियमित प्रशिक्षण गर्ने हो भने अहिलेभन्दा प्रदर्शनमा सुधार गर्न सक्नेमा उनी आशावादी छन्। 

खेलाडी, प्रदेश र दर्शक सबैको नजरमा नियमित प्रशिक्षण हुने हो भने कर्णालीले सुधार गर्न सक्ने ठाउँ थुप्रै छ। त्यसका लागि प्रदेशले पूर्वाधारमा जस्तै खेलाडी र प्रशिक्षणमा पनि पर्याप्त लगानी गर्न ढिला गर्नु हुँदैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .