ad ad

खेल


वेस्ट इन्डिज पुगेर आभारी हुँदै सन्दीपले लेखे- मेरो भिसाबारे झुटो प्रचार नपत्याउनुहोला

‘मेरो अनि सबै क्रिकेटप्रेमीको सपना पूरा गर्न तत्पर छु’
वेस्ट इन्डिज पुगेर आभारी हुँदै सन्दीपले लेखे- मेरो भिसाबारे झुटो प्रचार नपत्याउनुहोला

नेपालखबर
जेठ २८, २०८१ सोमबार ९:२, काठमाडौँ

जारी आईसीसी टी–२० विश्वकपमा सहभागी हुन पाएपछि सन्दीप लामिछानेले खुसी हुँदै यस अवसरका लागि वातावरण बनाउने सबैलाई धन्यवाद दिएका छन्। 

अमेरिकाको भिसा नपाउँदा विश्वकप खेल्नबाट वञ्चित भएका सन्दीप वेस्ट इन्डिजमा हुने विश्वकपका खेलमा भने सहभागी हुन पाएका हुन्। उनी शनिबार राति नै वेस्ट इन्डिज पुगिसकेका छन्। 

यो नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसहितका पदाधिकारी तथा बलात्कार मुद्दामा सफाइ दिलाउन बहस गर्ने अधिवक्तालगायतको ठूलो प्रयासबाट सम्भव भएको भन्दै सन्दीपले सोमबार बिहान सामाजिक सञ्जालमार्फत सबैलाई धन्यवाद दिएका हुन्। 

‘मेरो यात्रा सम्भव बनाउन हाम्रा अध्यक्ष चतुरबहादुर चन्द सर, सचिव तथा मेरा प्रिय दाइ पारस खड्का, वकिल सरोज के घिमिरे दाइ, विनोद दास दाइ, प्रबल गौतम दाइ तथा प्रिय बालकृष्ण लामिछाने दाइको असाधारण र समर्पित प्रयासका लागि आभार व्यक्त गर्छु’, सन्दीपले भनेका छन्, ‘आईसीसी र सम्बन्धित सबै आधिकारिक सञ्जालको समन्वयबाट म यो टी-२० विश्वकपमा भाग लिन सम्भव भएको हो।’

तर अध्यक्ष चतुर र सचिव पारसजस्ता हस्तीको छवि धूमिल पार्न भइरहेको प्रयासले आफू दुःखी भएको उनले उल्लेख गरेका छन्। 

दुईदुईपटक आवेदन दिँदा पनि नेपालस्थित अमेरकी दूतावासले भिसा नदिँदा क्यान अध्यक्षलगायत पदाधिकारीले पहल नगरेको भनी आरोप लगाइएको थियो। तर सन्दीपले अध्यक्ष, सचिवसहित क्यानले अमेरिकी भिसाका लागि सक्दो पहल गर्दागर्दै पनि नमिलेको उनले उल्लेख गरेका छन्। 

उनले लेखेका छन्, ‘कृपया मेरो भिसाका सम्बन्धमा भइरहेको झुटो प्रचारमा विश्वास नगर्नुहोला, जसको उपयोग मानिसहरूले क्यान र नेपाली क्रिकेटको छवि धमिलो बनाउन गरिरहेका छन्।’ 

उनले अब वेस्ट इन्डिजमा हुने अन्तिम दुई खेलका लागि आफू राष्ट्रिय टोलीमा आबद्ध भएको उल्लेख गर्दै उनले आफू र क्रिकेटप्रेमी सबैको सपना पूरा गर्न तत्पर रहेको दाबी पनि गरेका छन्।  

उनले लेखेका छन्, ‘तर अब यी सबैका बाबजुद म वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध भएको छु र मेरो र सबै क्रिकेटप्रेमीहरूको सपना पूरा गर्न तत्पर छु।’

पढ्नुहोस् सन्दीपको पूरा स्टाटस-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .