ad ad

खेल


३९ वर्षका रोनाल्डो पोर्चुगलका लागि वरदान कि बोझ?

३९ वर्षका रोनाल्डो पोर्चुगलका लागि वरदान कि बोझ?

नेपालखबर
असार ४, २०८१ मंगलबार १८:४३,

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले गत विश्वकपदेखि नै सन्न्यास लिने अपेक्षा थियो। तर, ३९ वर्षीय रोनाल्डोले सन्न्यास लिएनन्। बरु आफ्नो कीर्तिमानी छैटौँ युरोकप खेल्दैछन् उनी।

राष्ट्रिय टोलीमा उनको सहभागितालाई लिएर पोर्चुगलमा भने व्यापक बहस चल्ने गरेको छ। टोलीमा प्रशिक्षकको भन्दा उनको प्रभाव ज्यादा हुने गरेको आरोप समेत लाग्ने गर्छ।

के टोलीमा रोनाल्डोले आदेश दिने गर्छन्? यो प्रश्न सुन्दा मिडफिल्डर बर्नार्डो सिल्भा हाँस्दै अस्वीकार गर्छन्। तर, थुप्रैलाई यो कुरा साँचो लाग्छ।

‘एभर्टनको प्रशिक्षक हुँदा मैले २०१३ मा रोनाल्डोको सामना गरेको थिएँ,’ पोर्चुगलका वर्तमान प्रशिक्षक रोबर्टो मार्टिनेज भन्छन्, ‘अधिकांश खेलाडीको हकमा जब शरीरले साथ दिन छाड्छ, तब टाउकोले त्यो कुरा स्वीकार गर्छ। रोनाल्डोको हकमा उल्टो देखिन्छ। उनको शरीरले त्यतिबेला मात्रै साथ छाड्नेछ, जतिबेला टाउकोले रोकिन भन्नेछ।’

उनी नामका लागि नभएर योग्यताको भरमा टोलीमा परेको मार्टिनेजको भनाइ छ।

‘त्यो उमेरमा पनि उनको बानी र महत्वाकांक्षा १८ वर्षेको जस्तो हुनु अतुलनीय छ। उनको मानसिकता उच्चतम तहको छ, जसको कुनै सीमा छैन। राष्ट्रिय टोलीमा उनले २० वर्ष बिताइसके। यो अचम्मको कुरा हो,’ उनले थपे।

३९ वर्षको उमेरमा पनि उनले अन्तर्राष्ट्रिय मञ्चबाट बिदा हुने कुनै संकेत दिएका छैनन्।

रोनाल्डोले मार्टिनेजलाई पोर्चुगलबाट २५० खेल खेल्ने इच्छा रहेको बताएका छन्। उनले २०७ खेल खेलिसकेका छन्।

तर, आफ्नो लक्ष्यमा पुग्न उनले प्रशंसकहरूको बढ्दो आलोचना सहनुपर्ने हुन्छ। उनका स्वदेशी फ्यानहरूलाई लाग्छ, रोनाल्डो मैदानमा नहुँदै पोर्चुगलले राम्रो फुटबल खेल्छ।

‘रोनाल्डोको सबै खुबीलाई हेर्दा पनि अब उनी सधैँ टिममा पर्नु उचित लाग्दैन,’ फुटबल विश्लेषक सोफिया ओलिभिएरा भन्छिन्, ‘यो भूमिका आफूलाई सुहाउँदैन भनेर उनी आफैँले महसुस गरेदेखि बदलाव निकै सहज हुने थियो।’

उनी थप्छिन्, ‘मलाई लाग्छ, टोलीमा उनको उपस्थितिले अन्य खेलाडीलाई पनि प्रभावित पार्छ। ती खेलाडीको चाल हेर्दा पनि देखिन्छ। त्यसमाथि उनी बलबिना धेरै समय बिताउन चाहँदैनन्। उनी अरु खेलाडीले ओगटेको ठाउँतिर जान्छ। जसले अरुलाई असर गर्छ।’

‘रोनाल्डोका लागि मैदानभन्दा बेन्च उपयुक्त’
पोर्चुगलले युरोकपको छनोटमा गतिलो प्रदर्शन गर्‍यो। उनी १० गोल गर्दै दोस्रो उच्च गोलकर्ता बने। सो क्रममा ७२५ मिनेट खेल्दै उनी मुलुकका लागि तेस्रो सबैभन्दा बढी समय खेल्ने खेलाडी पनि भए। तैपनि उनको उपयोगिताबारेको बहस टुंगिएन।

युरो कप छनोटमा रोनाल्डोले एउटा खेल मात्र खेलेनन्। सोही खेलमा चाहिँ पोर्चुगलले लक्जेमबर्गलाई ९–० हरायो। जसलाई प्रशिक्षक मार्टिनेजको सबैभन्दा उत्कृष्ट खेल मान्ने गरिन्छ।

मार्टिनेजले रोनाल्डोबिना पोर्चुगल जित्न तयार रहेको बताएका छन्। युरोकपअघिका तीन तयारी खेलमा रोनाल्डोले एउटा मात्र खेल खेले। 

‘खेले पनि नखेले पनि म प्रशिक्षकको निर्णयको सम्मान गर्छु,’ आयरल्यान्डविरुद्धको जितपछि रोनाल्डोले भने।

तर, रोनाल्डो मैदानमा भन्दा बेन्चमा बसे राम्रो प्रभाव पर्ने ओलिभिएरा बताउँछिन्।

पोर्चुगलको खेलकुद पत्रिका ए बोलाले मार्टिनेजसामु गलत प्रश्न उठाइएको बताएको छ। ‘पोर्चुगलले रोनाल्डो हुँदा राम्रो खेल्छ कि रोनाल्डोबिना? सोधिनुपर्ने प्रश्न यो होइन। बरु सोधिनुपर्छ, यो टिमका लागि रोनाल्डोको उपस्थिति होइन, अनुपस्थिति कहिले सामान्य बन्छ?’

अब फर्नान्डेज प्रमुख खेलाडी
पोर्चुगलले पहिलो पटक प्रमुख प्रतियोगिताका सबै छनोट खेल जितेको छ। जुन क्रममा ३६ गोल गर्दै २ गोल मात्र खाएको छ। 

तर, स्लोभाकिया, लक्जेमबर्ग, आइसल्यान्ड, बोस्निया हर्जगोभिना र लिचेस्टाइन भएको समूहमा पोर्चुगलको परीक्षण हुन पाएको छैन भन्ने पनि छन्।

यही महिना मैत्रीपूर्ण खेलमा क्रोएसियासँग २–१ ले हारेको थियो पोर्चुगल। 

‘राम्रो नखेल्दा पनि पोर्चुगलले कहिलेकाहीँ जित्ने गर्छ। किनभने यो टोलीमा अविश्वसनीय मात्रामा प्रतिभावान् खेलाडी छन्। हालसम्मकै उत्कृष्ट पुस्ता हो यो,’ ओलिभिएरा भन्छिन्, ‘त्यसैकारणले यसपालि पनि पोर्चुगल युरोको दाबेदार हो।’

र, युरोकप जित्ने हो भने पोर्चुगलका ब्रुनो फर्नान्डेजले राम्रो खेल्नुपर्ने हुन्छ। यो सिजन म्यान्चेस्टर युनाइटेडमा उनले खास गतिलो प्रदर्शन नगरे पनि पोर्चुगलका लागि उनी प्रमुख खेलाडी बनेका छन्। जसले छनोट खेलमा ६ गोल, ८ असिस्ट गरेका छन्।

अझ महत्वपूर्ण कुरा, उनी र म्यान्चेस्टर सिटीका मिडफिल्डर बर्नार्डो सिल्भा साथ मैदानमा उत्रिन सक्छन्।

‘यो हाम्रा लागि सबैभन्दा राम्रो खबर हो,’ ओलिभिएरा भन्छिन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .