ad ad

खेल


पेरिस ओलम्पिक्सबारे मन्त्री श्रेष्ठले लिए जानकारी, मापदण्डमा रहेर मात्र अफिसियल पठाउन निर्देशन

पेरिस ओलम्पिक्सबारे मन्त्री श्रेष्ठले लिए जानकारी, मापदण्डमा रहेर मात्र अफिसियल पठाउन निर्देशन

नेपालखबर
असार १२, २०८१ बुधबार १९:४२, काठमाडौँ

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पेरिस ओलम्पिक्स-२०२४ मा नेपालको सहभागिता र तयारीका विषयमा बुधबार राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीसँग जानकारी लिएका छन्।

पेरिस ओलम्पिक्समा नेपालकोतर्फबाट सहभागी हुने सात खेलाडी निश्चित भएसँगै मन्त्री श्रेष्ठले सहभागिता र जिम्मेवारीको विषयमा राखेप सदस्य-सचिव टंकलाल घिसिङ तथा ओलम्पिक कमिटीका उपाध्यक्ष ज्योति राणा र महासचिव निलेन्द्रराज श्रेष्ठसँग छलफल गरेका हुन्।

मन्त्री श्रेष्ठले ओलम्पिक्समा सहभागिताको लागि खेलाडीबाहेक पदाधिकारीहरूको हकमा आवश्यकताका आधारमा मापदण्डभित्र रहेर टोली पठाउन निर्देशन दिएका छन्।

उनले एक साताभित्र नेपालबाट सहभागी हुने नेपाली टोलीको संख्या जिम्मेवारीसहित राष्ट्रिय खेलकुद परिषदमार्फत मन्त्रालयमा पेस गर्न नेपाल ओलम्पिक कमिटीलाई निर्देशन दिएका छन्। साथै, विगतमा भएका कमीकमजोरी र बेथितिलाई नदोहोर्‍याउन र राष्ट्रको गरिमामा आँच नआउने गरी सहभागी हुन उनले निर्देशन दिए।

राखेप सदस्य-सचिव घिसिङले सातमध्ये तीन खेलाडी टेबल टेनिसका स्यान्टु श्रेष्ठले अस्ट्रेलियामा ,पौडीका डुवाना लामाले थाइल्यान्डमा र एलेक्जेन्डर शाहले अमेरिकामा व्यक्तिगत रूपमा तथा ब्याडमिन्टनका प्रिन्स दाहाललाई राष्ट्रिय खेलकुद परिषदले वैदेशिक प्रशिक्षणका लागि श्रीलंका पठाएको जानकारी गराए।

ओलम्पिक कमिटीले सम्बन्धित संघले पठाएको प्रशिक्षकको एक्रिडिटेसनको लागि प्रक्रिया अगाडि बढाएको तर ब्याडमिन्टन संघले कसैको पनि नाम नदिएको स्पष्ट पारेको छ। यही कारण प्रिन्स दाहाल प्रशिक्षकबिना ओलम्पिक्स जाने सम्भावना उच्च रहेको छ।

एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र हिजो मात्र वाइल्ड कार्ड पाएकी जुडोकी मनिता श्रेष्ठ प्रधानलाई यही असारदेखि दैनिक २ हजारका दरले प्रशिक्षण खर्च दिइने जानकारी गराए। सदस्य-सचिव घिसिङले तयारी र राष्ट्रिय संघको मागअनुसार क्वालिफाइङ प्रतियोगिता खेल्न ५० लाख बजेट खर्च भएको बताए।

पेरिस ओलम्पिक जुलाई २६ देखि अगस्ट ११ सम्म हुँदै छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .