ad ad

खेल


‘अपराजित’ कीर्तिमान बनाउँदै १७ वर्षपछि भारतलाई टी–२० विश्वकपको उपाधि

विश्वकप इतिहासमा अपराजित हुँदै विश्वकप जिताउने रोहित एक्ला कप्तान
‘अपराजित’ कीर्तिमान बनाउँदै १७ वर्षपछि भारतलाई टी–२० विश्वकपको उपाधि

टी–२० विश्वकपको उपाधि हात पारेपछि खुसी साट्दै भारतीय क्रिकेट टोलीका खेलाडीहरू (तस्बिर : ईएसपीएन)


लक्ष्मी जि.सी
असार १६, २०८१ आइतबार ०:७, काठमाडौँ

दक्षिण अफ्रिकामाथि रोमाञ्चक जित निकाल्दै भारतीय क्रिकेट टोलीले १७ वर्षपछि आईसीसी टी–२० विश्वकपको उपाधि उचालेको छ। 

वेस्ट इन्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा शनिबार राति भएको खेलमा भारतले दक्षिण अफ्रिकामाथि ७ रनको जित निकाल्दै भारतले दोस्रो पटक टी–२० विश्वकप उपाधि जितेको हो।

पहिलो पटक ठूलो प्रतियोगिताको फाइनल खेलेको दक्षिण अफ्रिका उपविजेतामै सीमित बन्यो। दक्षिण अफ्रिकाको हारसँगै विश्वकपका अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ। 

यता भारतले भने अपराजित रहेर विश्वकपको उपाधि जित्ने एक्लो टोली बन्दै कीर्तिमान बनाएको छ। विश्वकप इतिहासमा अपराजित रहेर टोलीलाई विश्वकप जिताउने कप्तान रोहित शर्मा एक्ला कप्तान हुन्। 

भारतसँगै टी–२० विश्वकपको उपाधि वेस्ट इन्डिज र इङ्ल्याण्डले समान दुई पटक जितेका छन्। 

पहिलो पटक सन् २००७ मा भएको पहिलो विश्वकप भारतले जितेको थियो। २००९ को विश्वकप पाकिस्तानले २०१० र २०२२ को उपाधि इङ्ल्यान्डले उचालेको छ। सन् २०१२ र २०१६ को उपाधि वेस्ट इन्डिजले तथा २०१४ को उपाधि श्रीलंकाले र २०२१ को उपाधि अष्ट्रेलियाले जितेको थियो।  

सन् २००७ मा भएको पहिलो संस्करणको उपाधि उचाले यता भारतले विश्वकप ट्रफी जित्न सकेको थिएन। 

सन् २०२६ मा हुने १० औँ संस्करणको विश्वकप आयोजना गर्न लागेको भारत साविक विजेताको रुपमा विश्वकप खेल्नेछ। सन् २०२६ को विश्वकप भारत र श्रीलंकामा संयुक्त रुपमा हुनेछ। 

सन् २००७ पछि सन् २०१४ मा नजिक पुगेर पनि टाढिएको भारतले दोस्रो प्रयासमा टी–२० को विश्व विजेता बनेको हो। 

सन् २००७ मा पहिलो विश्वकप जितेपछि भारत सन् २००९, २०१० र २०१२ मा दोस्रो चरणबाट नै बाहिरियो। सन् २०१४ मा उपविजेता बनेको भारत सन् २०१६ को विश्वकप आयोजना गर्दा भने  सेमिफाइनल मै रोकियो। 

सन् २०२१ मा दोस्रो चरणबाट बाहिरिएको भारत २०२२ मा भने सेमिफाइनल सम्म पुगेको थियो।

नवौँ टी–२० विश्वकपमा भारतले दोस्रो सेमिफाइनलमा दुई पटकको च्याम्पियन इङल्यान्डमाथि ६८ रनको जित निकाल्दै दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको थियो। 

सुपर ८ मा भारतले अष्ट्रेलियालाई २४ रनले तथा बंगलादेशलाई ५० रनले हराएको थियो। अर्को खेलमा अफगानिस्तानमाथि ४७ रनको जित निकालेको थियो।

समूह चरणमा भारतले आयरल्यान्डमाथि ८ विकेटको जित निकाल्दा पाकिस्तानलाई भने ६ रनले हराएको थियो। 

अर्को खेलमा आयोजक अमेरिकालाई ७ विकेटले हराउँदा क्यानडाविरुद्धको खेल भने वर्षाले रद्द हुँदा अंक बाँडेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .