ad ad

खेल


साफ यू–२० : अनुभवी र युवा खेलाडीको साथमा उत्साहित नेपाली टोली

साफ यू–२० : अनुभवी र युवा खेलाडीको साथमा उत्साहित नेपाली टोली

अनुभवी र नयाँ खेलाडीको साथमा रहेको नेपाली टोली साफ च्याम्पियसिपका लागि उत्साहित छ (तस्बिर : सरोज नेपाल)


लक्ष्मी जि.सी
भदौ १, २०८१ शनिबार २०:२७, काठमाडौँ

घरेलु मैदानमा आइतबार श्रीलंकाविरुद्ध खेल्दै नेपाली युवा टोलीले साफ यू–२० च्याम्पियनसिपको सुरुवात गर्दैछ। 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने उद्घाटन खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ। 

यसअघि काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेल आयोजना हुने भनिएपनि खराब मैदानका कारण खेलहरू एन्फा मैदानमा हुने भएको हो। 

अनुभवी र नयाँ खेलाडीको साथमा रहेको नेपाली टोली साफ च्याम्पियसिपका लागि उत्साहित छ। 

च्याम्पियनसिप अघि एन्फा कम्प्लेक्समा शनिबार भएको पत्रकार सम्मेलनमा सहभागी टोलीका सबै प्रशिक्षक र कप्तानले राम्रो प्रदर्शनगर्ने बताएका छन्। 

नेपाली टोलीका कप्तान कुशल देउवाले तयारी राम्रो भएकाले प्रदर्शनराम्रो हुने बताएका छन्। उनले भने, ‘टोलीको तयारी एकदम राम्रो छ। अभ्यासका क्रममा मैत्रीपूर्ण खेलमा पनि नतिजा राम्रै आएको थियो। त्यसैले यो पटक राम्रो गर्नेछौँ।’

उनले थपे, ‘गतवर्षको टोली अलिक एक्पोजर नपाएको जस्तो थियो। तर यो पटक यू–१७ बाट सँगै खेलेको खेलाडी छन् एकै ब्याचको खेलाडीको भएर टोली राम्रो छ। यो पटक हामी प्रेसर सहन सक्छौँ।’

नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले छनोटदेखि गरेर ४०,४५ दिन एन्फा मैदानमा नै प्रशिक्षण गर्ने मौका पाएकाले तयारी राम्रो भएको बताए।  

उनले भने, ‘यो पटक तयारी गर्ने समय राम्रो पायौँ। भाग्यमानी छौँ यही मैदानमा नै खेल हुने भयो। दशरथ रथंशालामा खेल हुँदा केही गाह्रो हुने थियो।’

प्रशिक्षक श्रेष्ठले थपे, ‘अघिल्लो वर्षका खेलाडी पनि छन्। नयाँ खेलाडी पनि छन्। गतवर्ष अन्तिम टोलीमा नपरेका खेलाडीले यो पटक स्थान बनाएका छन्। र खेलाडीको क्षमता अनुसार रणनिति बनाएका छौँ। त्यसैले हामी सन्तुष्ट छौँ।’ 

समूह चरणको दोस्रो खेलमा नेपालले बंगलादेशसँग २२ अगष्टमा खेल्ने तालिका छ। 

च्याम्पियनसिपका लागि देउवाको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा भैसकेको छ। 

नेपाली टोलीले अभ्यासका क्रममा नेपालका ए डिभिजन क्लबसँग अभ्यास खेलको मौका पाएको थियो। भर्खरै एएफसी क्लब च्याम्पियसिप खेलेको चर्च ब्वाइज युनाइटेडसँग नेपाली टोलीले ३ अभ्यास खेल खेलेको थियो। 

आयोजक नेपाल बंगलादेश र श्रीलंका रहेको समूह ‘ए’ मा छ। समूह ‘बी’ मा भारत, भुटान र माल्दिभ्स छन्। समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। 

एक समय दक्षिण एसियाली फुटबलमा दबदबा बनाएको नेपालको उमेर समूहको प्रदर्शनपछिल्लो समय खस्कँदै गएको छ। 

नेपालको जुनसुकै उमेर समूहका टोलीले विपक्षीलाई दबाबमा राख्न सक्ने क्षमता थियो। तर अहिले नेपाली युवा टोली आफैँ दबाबमा पर्दै आएको छ। दबाबका कारण नै नेपाली टोलीले आफ्नो क्षमता अनुसारको खेल पनि मैदानमा देखाउन पाएको छैन। त्यसका लागि एन्फाले पर्याप्त लगानी र प्रशिक्षणको व्यवस्था गर्नुपर्छ। 

छोटो समयमो तयारीका बाबजुद पनि यो पटक नेपाली युवा टोली उच्च मनोबलमा छ। घरेलु मैदान र समर्थकको साथमा यो पटक नेपालको युवा टोलीले पूरानै लय समात्ने आशा गरिएको छ। 

नेपाली युवा टोलीः
जियारथ शेख (गोलकिपर), कृषल मोक्तान (गोलकिपर), विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, बिक्रम तामाङ, आयुष तिम्सिना, मदन पौडेल, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निन्साङ लिम्बु, कुशल देउवा, अविनाश स्याङ्तान, जनप्रकाश बम, लक्षु थापा, निरज कार्की, हरिश राज भट्ट, धर्बेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी, रोहन खड्गी।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .