खेल


खेलाडीको श्रेणी विभाजनले क्यानमाथि उब्जाएको प्रश्न

खेलाडीको श्रेणी विभाजनले क्यानमाथि उब्जाएको प्रश्न

लक्ष्मी जि.सी
असोज ११, २०७७ आइतबार १२:४,

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको १३ वर्षपछि महिला क्रिकेट खेलाडीलाई पनि पारिश्रमिक दिने परिपाटी बसालेकाे छ।

नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक महिला खेलाडीलाई श्रेणी विभाजनसहित सेन्ट्रल कन्ट्र्याक्ट गरी पारिश्रमिकको व्यवस्था गर्न लागेको हो।

कोरोना महामारीबीच गतसाता चितवनमा भएको क्यानको कार्यसमिति बैठकले खेलाडीको श्रेणी विभाजन गर्दै मासिक पारिश्रमिक पनि तोकेको छ।

सेन्ट्रल कन्ट्र्याक्ट गरी पारिश्रमिक दिने क्यानको निर्णयको स्वागत पनि भएको छ। तर, निर्णय भएको २४ घन्टा पनि नबित्दै खेलाडीको बर्गिकरण र पारिश्रमिक रकमका बारेमा प्रश्न पनि सँगसँगै उठ्यो।

श्रेणी विभाजनका दुईवटा विषयमा बढी विवादित भए। राष्ट्रिय टोलीमा पर्दै नपरेका खेलाडीलाई पनि बर्गिकरणमा समेटिनु, लामो समय टोलीमा हुनेलाई पनि बी श्रेणीमा राख्नु र केहि वर्षदेखि टोलीमा रहेकालाई पनि कन्ट्रयाक्टमा नराख्नुलाई धेरैले शंकाको दृष्टिले हेरेका छन्।

पुरुष खेलाडीको श्रेणी विभाजन र पारिश्रमिक तय पनि सोही बैठकले नै गरेको थियो। पुरुष खेलाडीको श्रेणी विभाजन पनि विवादमा परिसकेको छ।

कप्तान ज्ञानेन्द्र मल्लसहित खेलाडीको टोलीले बर्गिकरणमा पुर्नविचार गर्न क्यानलाई लिखित आग्रह समेत गरिसकेको छ। सो बैठकले पुरुष खेलाडी ए, बी, सी श्रेणीका खेलाडीलाई क्रमशः ५०, ४० र ३० हजार रुपैयाँ दिने निर्णय गर्यो।

महिलाको हकमा भने ए, बी, सी श्रेणीका खेलाडीलाई क्रमशः १५, १२ र १० हजार मात्र दिने निर्णय गर्यो।

सँगै आएको निर्णयमा पुरुष र महिला खेलाडीबीच ठूलो असमानता भएपछि बहस तातेकाे हाे। 

महिलाको तुलनामा पुरुष खेलाडीलाई तीन गुना बढि पारिश्रमिक तोकिएको छ। एउटै खेल खेल्ने खेलाडीबीच लैंगिक आधारमा पारिश्रमिकमा यति ठूलो विभेद गर्नु अनुचित भन्ने आवाज जोडदार रुपमा उठेको छ।

खेलाडी बर्गिकरण सिफारिस समितिका सदस्य समेत रहेका क्रिकेट संघ (क्यान)का सदस्य दुर्गाराज पाठक क्यानको निर्णयको बचाउ गर्दै अन्तर्राष्ट्रिय, राष्ट्रिय प्रतियोगितामा प्रदर्शन, अनुशासन र सम्भावनाका आधारमा खेलाडीको बर्गिकरण गरिएको तर्क गर्छन्। तर, उनको तर्कमा सरोकारवालाहरु सन्तुष्ट छैनन्।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले महिला खेलाडीलाई पारिश्रमिक दिने सुखद् सुरुवात भएको र यसलाई सकारात्मक रुपमा हेर्नुपर्ने जिकिर गर्छन्।

‘पुरुष खेलाडीको पनि पाँच हजारबाट सुरु हुँदै अहिले ५० हजार पुगेको हो। अब महिला खेलाडीले पनि पारिश्रमिक पाउने भएका छन्, सबैले प्रशंसा गर्नुपर्छ जस्तो लाग्छ,’ अध्यक्ष चन्दले भने, ‘क्यानको आर्थिक अवस्था र समयअनुसार रकम बृद्धि हुँदै जान्छ।’

महिला टोलीकी कप्तान रुविना क्षेत्रीले पारिश्रमिकका लागि लामो समयदेखि संघर्ष गर्दै आएको स्मरण गर्दै राम्रो सुरुवात भएको र प्रणाली बसेकोमा खुसी व्यक्त गरेकी छन।

‘राम्रो कुराको सुरुवात भएको छ, एउटा सिस्टम बसेको छ,’ उनले भनिन्, ‘यसले नयाँ पुस्तालाई अब क्रिकेट खेलेर पनि केहि हुन्छ भन्ने सन्देश गएको छ। नयाँ पुस्तामा यसले सकारात्मक सन्देश जान्छ।’

‘यद्यपी उनले रकम भने अहिलेको समयअनुसार कम रहेको बताइन्। जिल्ला जिल्लाका खेलाडीले काठमाडौं गएर डेरा गरेर बसेर क्रिकेट खेल्ने खर्च गर्नका लागि यो पर्याप्त होइन,’ उनले थपिन्, ‘यो रकमले एउटा राम्रो ब्याट किन्न पनि गाह्रो छ। तर, सुरुवातलाई राम्रो मान्नुपर्छ।’

उपकप्तान सीता रानामगर पनि रुविनाको भनाइमा सहमति राख्छिन्। ‘सुरुवात राम्रो हो। तर यो महङ्गीमा त्यो रकमले बाँच्न कठिन हुन्छ,’ उनले भनिन्, ‘नयाँ पुस्ताले क्रिकेटमा आएर जीविकोपार्जन हुने देख्नका लागि रकम बृद्धि गर्नुपर्छ।’

राष्ट्रिय टोलीका पूर्व कप्तान तथा महिला क्रिकेट अभियन्ता एलबी क्षेत्रीले खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्ट भन्दा पनि पकेट खर्चको रुपमा दिन खोजिएको देखिएको बताए।

‘क्यानका केहि पदाधिकारीले महिला खेलाडीलाई पकेट खर्चका रुपमा दिएको भनेको सुनिएको छ, यदि त्यो हो भने यसमा दयाभाव देखिएको छ। त्यो एकखालको भेदभाव हो,’ क्षेत्रीले भने।

क्रिकेट विश्लेषक पवित्रा राउतले क्यानले खेलाडीलाइ सेन्टल कन्ट्र्याक्टमा राख्नु व्यवसायिकताको राम्रो सुरुवात भएपनि पकेट खर्च भनेर दिनु राम्रो नभएको बताइन्।

उनी भन्छिन्, ‘यो खेलाडीलाइ आकर्षण बढाउनका लागि मात्र हो भने यो झन् घातक हो। क्यानले अहिले दिएको रकम पुराना खेलाडीलाई सहानुभुती जनाउन खाेजेको र नयाँलाइ प्रोेत्साहन गरेको जस्तो देखिएको छ।’

खेलाडी बर्गिकरणमा पनि समस्या देखिएको राउतको ठहर छ। ‘खेलाडीको श्रेणी विभाजन गर्दा राष्ट्रिय चासो हुन्छ। श्रेणी छुट्याउँदा प्रर्दशनलाइ मुख्य आधार मान्नुपर्ने त्यसमा नयाँ पुराना भन्ने हुँदैन। यस्तो विभाजनले खेलाडीलाइ झन् हिनताबोध गराउँछ,’ उनले भनिन्।

बर्गिकरण सहि हुन नसक्दा त्यसको असर राष्ट्रिय टोलीले भाग लिने अन्तराष्ट्रिय प्रतियोगितामा देखिने राउतले बताइन्।

कुनै प्रदेशबाट खेलाडी परेनन् भने त्यो ठाउँमा के गर्न सकिन्छ भनेर नयाँ कार्यक्रम बनाउनुपर्ने र क्यानले अभिभावकत्वको जिम्मेवारी लिन सक्नुपर्ने उनकाे सुझाव छ।

श्रेणी विभाजनप्रति महिला टोलीका पूर्व प्रशिक्षक राजु बस्न्यात पनि असन्तुष्ट देखिए। उनी भन्छन्, ‘क्यानको कदम राम्रो भएपनि केही कुरा सच्याउन जरुरी छ। खेलाडीको श्रेणी विभाजनमा बाहिर हुनुपर्ने भित्र र भित्र हुनुपर्ने बाहिर परेको देखिन्छ। यसले राम्रो सन्देश जादैन।’

बस्न्यातले पारिश्रमिकको हकमा महिला पुरुषलाई बराबरी नै हुनुपर्छ भन्ने पक्षमा चाहिँ आफु पनि नरहेको बताए। तर, सामान्य जीवनयापन गर्न पुग्ने हुनुपर्ने उनको भनाइ छ।

क्यान केन्द्रीय सदस्य पाठकले भने क्यानले राम्रो कामको सुरुवात गरेको भन्दै खेलाडीको श्रेणी विभाजनमा केहि कमजोरी रहेको भए सच्चाउन आफूहरु तयार रहेको बताए।

उनले भने, ‘कुनै पूर्वाग्रह नराखी खेलाडीको श्रेणी विभाजन गरेका छौ। खेलाडीलाइ दिएको रकम धेरैले पकेट मनि भनेर बुझेपनि यो सेन्ट्रल कन्ट्र्याक्ट नै हो। हामीले जग हाल्ने काम गरेका छौ। यो ऐतिहासिक क्षणको रुपमा लिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .