खेल


क्यानमाथि बढ्दैछ अविश्वास

क्यानमाथि बढ्दैछ अविश्वास

लक्ष्मी जि.सी
असोज १३, २०७७ मंगलबार १२:१०,

नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले गरेको निलम्बन फुकुवासँगै क्यानप्रतिको अपेक्षा ह्वात्तै बढेको थियो। तर, त्यसयताको अकर्मण्यताका कारण क्यानमाथिको अविश्वास चुलिँदै गएको छ।

निलम्बनका बेला तीन फ्रेन्चाइज लिग, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गर्ने प्रधानमन्त्री कपका कारण आन्तरिक रुपमा क्रिकेट खेल भइरहेका हुन्थे। आईसीसीले मात्र अन्तर्राष्ट्रिय खेलमा नेपालको सहभागितालाई सुनिश्चित गर्थ्यो। त्यसबाहेक देशभित्र क्रिकेटको अवस्था नाजुक थियो। ग्रासरुटका कार्यक्रम हुन सक्ने अवस्था थिएन। त्यति मात्र होइन क्रिकेटमा लाग्दा भविष्य अन्यौलपूर्ण हुन सक्छ भन्ने सन्देश गइरहेको थियो। क्यानका नाममा राजनीतिक खिचातानी यथावत थियो।

तर, एक वर्षअघि क्यानको निर्वाचन भएपछि भने क्रिकेटले गति लिने अपेक्षा गरिएको थियो। चतुरबहादुर चन्दको प्यानल फेरि पनि क्यानमा निर्वाचित हुन सफल भयो। गत वर्ष असोजको दोस्रो साता चन्दको नेतृत्वमा कार्यसमिति चयन भएपछि अब क्रिकेटमा रोकिएका सबै गतिविधि अघि बढ्छन् भन्ने विश्वास गरिएको थियो।

तर, सुरुवाती ६ महिनाको अलमल र पछिल्लो ६ महिना कोरोना भाइरसको असरका कारण क्यान अगाडि होइन, पछाडि फर्किएको आरोप लाग्न थालेको छ।

नयाँ कार्यसमिति बनेपछि असोज २७ गते आईसीसीले निलम्बन फुकुवा गर्दा क्रिकेटप्रेमी खुसी भएका थिए। तर, आईसीसीले निलम्बन फुकुवा गर्दा केही सर्त राखेको थियो। आईसीसीको सर्तले भन्दापनि फुकुवाको २४ घन्टा नबित्दै तत्कालीन कप्तान पारस खड्काले राजीनामा गरेपछि धेरै आश्चर्यमा परेका थिए।

अघिल्लो कार्यकालमा पनि चन्द समूहसँग पारसको सम्बन्ध राम्रो नभएकाले कतिले उनको राजीनामालाई स्वभाविक पनि माने। तर, पारसको नेतृत्वमा एक दशक उपकप्तान रहेका ज्ञानेन्द्र मल्ललाई त्यो जिम्मेवारी दिँदै क्यानले तत्कालीन अन्यौललाई चिर्ने प्रयास गरेको थियो।

क्यानको नयाँ कार्यसमितिले नियमित कामबाहेक देखिनेगरी अहिलेसम्म केही गर्न सकेको छैन। यसले आईसीसीसँगको समन्वयमा अमेरिका, ओमान सम्मिलित त्रिकोणात्मक सिरिज त्रिवि मैदानमा आयोजना गर्‍यो। गत वर्ष १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा आयोजनामा क्यानले क्रिकेटको व्यवस्थापनको जिम्मेवारी पाएको थियो। तर, उसले आफ्नै आन्तरिक कार्यक्रम भने ल्याउन सकेन। पछिल्लो ६ महिना कोरोना महामारी क्यानका लागि राम्रो बहाना भयो। कोरोनाले मैदानमा गतिविधि हुन नसकेपछि यो समय योजना बनाउनमा पनि क्यान चुकेको देखिन्छ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एलबी क्षेत्री नयाँ कार्यसमिति चुनौतीलाई अवसरमा बदल्न र प्रतिफल दिन असफल भएको बताउँछन्।

‘निर्वाचनको १५ दिनपछि आईसीसीले आंशिक रुपमा फुकुवा गरेपछि सरकारले पूरा सहयोग गरेको थियो। क्यानले सुरुवातबाट नै काम गर्नुपर्थ्यो। तर त्यस्तो गम्भिरता देखिएन,’ क्षेत्रीले भने, ‘अबको ४ वर्ष र १० वर्षमा यो यो काम गर्छौँ भनेर योजना सार्वजनिक गर्नसक्नुपर्थ्यो। टेस्ट राष्ट्र बन्ने हो भने अबको लक्ष्य वन डे, टु डे, थ्री डे क्रिकेट स्कुल लेभलको प्रतियोगिता यसरी गर्छौँ भनेर योजना ल्याउनुपर्थ्यो। सागंठनिक, प्रशासकीय, प्राविधिक, हरेक हिसाबले क्यान चुकेको छ।’

कोरोना संकटकै बीचमा क्यानको कार्यसमितिको बैठक चितवनमा बस्यो। जसले सन् २०२० का लागि पुरुष/महिला खेलाडीको सेन्ट्रल कन्ट्रयाक्ट र पारिश्रमिकको टुंगो लगायो। पुरुष खेलाडीले पहिलेदेखि नै पारिश्रमिक पाउँथे। पहिलो पटक महिला खेलाडीले पनि पारिश्रमिक पाउने निर्णय क्यानले गर्‍यो। पुरुषतर्फ ए, बी र सी श्रेणीका खेलाडीले क्रमशः ५०, ४० र ३० हजार पाउने निर्णय भयो। महिला खेलाडीले भने क्रमशः १५, १२ र १० हजार रुपैयाँ पाउने निर्णय भयो।
महिला खेलाडीका लागि तलबको सुरुवात राम्रो मानिएपनि यो विवादरहित हुन सकेन। नयाँ कार्यसमितिले पहिलो पटक गरेको वर्गीकरण नै विवादमा पर्नु क्यान नेतृत्वका लागि सुखद् होइन।
कप्तान ज्ञानेन्द्रसहित टोलीका सदस्यले वर्गीकरणमा चित्त नबुझेको भन्दै पुनर्विचार गर्न आग्रह गरे। यसबाट वर्गीकरणअघि क्यानले खेलाडीसँग छलफल नगरेको स्पष्ट हुन्छ।

नेपाल क्रिकेट खेलाडी संघ (सीप्यान) ले पनि खेलाडी वर्गीकरणको विषयलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सम्म पुर्याएको छ। सीप्यानका अध्यक्ष मनीषराज पाण्डेसहितको टोलीले राखेप सदस्य सचिव रमेश सिलवाललाई क्यानको निर्णय पुनर्विचारका लागि पहल गरिदिन आग्रह गरेका छन्। अब राखेपले पनि क्यानमाथि डण्डा चलाउने एउटा अवसर पाएको अनुमान धेरैले गरेका छन्।

पुरुषतर्फ नियमित टोलीमा रहेका ललितनारायण राजवंशी वर्गीकरणमै नपर्नु, टोलीमै नभएका खेलाडीलाई राख्नुजस्ता निर्णय विवादमा परेको हो।

महिलातर्फ पनि त्यस्तै निर्णय भएको गुनासो सार्वजनिक रुपमै हुन थालेको छ। खेलाडी वर्गीकरण समितिका संयोजक समेत रहेका कोषाध्यक्ष रोशन सिंहले ललितलाई फोन गरेरै कमजोरी भएको र आउने दिनमा सच्चाउने वचन दिएका छन्। यसबाट पनि क्यानको काम गर्ने तरिका कच्चा रहेको बुझिन्छ।

अर्का पूर्व कप्तान पवन अग्रवाल पनि क्यानले गर्न सक्ने जति काम नगरेको बताउँछन्।

‘आन्तरिक रुपमा जे जस्तो भएपनि बाहिरबाट हेर्दा क्यान जुन सेपमा आउनुपर्ने हो त्यो आउन सकेको छैन। यो समयमा नीति बनाउनुपर्ने र राम्ररी सञ्चालनमा आउनुपर्ने थियो,’ उनले भने, ‘क्यान पूर्णरुपमा फुकुवा भइसक्नुपर्ने हो। तर त्यो हुन सकेन। यो बीचमा कोरोनाले गर्दा केही काम गर्न सकेन तर पनि नीति र योजना बनाउन सकिन्थ्यो। त्यो पनि देखिएन।’

अर्कोतिर क्यानमा पदाधिकारीबीचमा समन्वय अभाव रहेको जानकारहरु बताउँछन्। एउटै प्यानल भएर निर्वाचनमा सफलता प्राप्त गरेका चन्द, कोषाध्यक्ष सिंहलगायत एकातिर र सचिव अशोकनाथ प्याकुरेलको नेतृत्वको समूह अर्कोतिर रहेकाले क्यानले सोचेजति काम गर्न नसकेको एक पदाधिकारीले बताए।

कारण जे भएपछि पछिल्लो एक वर्ष क्यान नेतृत्वको प्रदर्शन सन्तोषजनक हुन सकेको छैन। यो कार्यसमितिसँग अझै पनि ३ वर्षको समय छ। तसर्थ गल्ती सुधार्ने अवसर अझै कार्यसमितिसँग छ।

कोरानाका कारण क्रिकेट कहिलेसम्म रोकिन्छ, यसै भन्न सकिने अवस्था छैन। तर, अवस्था सामान्य बनेपछि क्यानले आफ्नो कार्यक्रम तल्लो तहसम्म पुर्‍याउनेगरी काम गर्न सकेको खण्डमा अहिले भइरहेका आलोचना केही हदसम्म मत्थर हुन सक्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .