खेल


पुरुष टोली खेलमा फर्किँदा महिला टोलीलाई बेवास्ता

पुरुष टोली खेलमा फर्किँदा महिला टोलीलाई बेवास्ता

लक्ष्मी जि.सी
मंसिर ११, २०७७ बिहिबार १२:१५,

फुटबल, क्रिकेटजस्ता खेलका पुरुष टोली खेलकुद गतिविधिमा फर्किसके पनि महिला टोलीलाई बेवास्ता गरिएको गुनासो खेलाडीहरुले गरेका छन्।

मासिक पारिश्रमिकका विषयमा विभेदमा परेका महिला खेलाडी आफूहरुलाई मैदान फर्काउने विषयमा पनि पुरुष टोलीभन्दा भिन्न व्यवहार गरिएको बताउँछन्।

सरकारले गत महिना खेलकुदको प्रशिक्षण सुरु गर्न स्वीकृति दिइसकेको छ। फुटबल र क्रिकेटमा पुरुष टोलीका खेलाडीलाई मैदान फर्काउने प्रयास भएपनि महिला टोलीका बारेमा भने सम्बन्धित संघ मौन देखिएका छन्। भलिबलतर्फ भने महिला र पुरुष दुवैको प्रशिक्षण सुरु गर्ने कुनै तरखर छैन।

पुरुषतर्फको राष्ट्रिय फुटबल टोली बंगलादेशमा २ वटा मैत्रीपूर्ण खेल खेलेर फर्किसकेको छ। केही सातापछि पुनः प्रशिक्षण सुरु गर्ने तयारी अखिल नेपाल फुटबल संघ (एन्फा) ले गरिरहेको बताइएको छ। क्रिकेटको पुरुष टोली पनि बिहीबारबाट प्रशिक्षणमा जुटेको छ।

कोरोनाकै कारण छोटो तयारीमा बंगलादेश पुगेको फुटबल टोलीले पहिलो खेल २–० ले गुमाएको थियो। अर्को खेल गोलरहित बराबरीमा टुंगिएको थियो।

महिला टोलीलाई प्रशिक्षणमा फर्काउने विषयमा भने एन्फा कुनै निर्णयमा पुगेको छैन। अन्तराष्ट्रिय क्षेत्रमा महिला टोलीहरु प्रशिक्षणमा फर्किसक्दा नेपाली महिला टोलीका खेलाडी भने सामाजिक सञ्जालमा हाम्रो पालो कहिले भनेर पोस्ट गरिरहेका देखिन्छन्।

एन्फा प्रवक्ता किरण राईले महिला फुटबल कहिलेबाट सुरु गर्ने भन्ने विषयमा छलफल नै नभएको बताए।

‘अबको केही दिनमा बैठक बस्दैछ। त्यसपछि फुटबल गतिविधि कसरी सुरु गर्ने भन्ने विषयमा छलफल गरेर निर्णयमा पुग्नेछौं।,’ उनले भने।

महिला टोलीका खेलाडी मैदान फर्कन हतारमा छन्। यू–१९ फुटबल टोलीकी कप्तान सरु लिम्बु पुरुष टोलीले मैत्रीपूर्ण खेल खेलेर फर्किसकेकाले अब महिला टोली र त्यसपछि विस्तारै उमेर समूहको प्रशिक्षणका लागि वातावरण बनाउनुपर्ने बताउँछिन्।

गत वर्ष १३औं दक्षिण एसियाली खेलकुद (साग) फुटबल पोखरामा खेलेपछि महिला टोलीले दशरथ रंगशालामा कुनै पनि प्रतियोगिता खेल्न पाएको छैन।

महिला टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा खेलाडी मैदान फर्कन आतुर भएपनि सम्बन्धित निकायले पहल नगरेको बताउँछिन्।

‘गत मंसिरमा साग खेल्यौं। त्यसपछि प्रधानसेनापति कप खेल्यौं। त्यसयता मैदान टेकेका छैनौं,’ उनले भनिन्, ‘पुरुष टोलीले मैत्रीपूर्ण खेल खेलेर फर्कंदा पनि हामी कहिले प्रशिक्षण होला भनेर हेर्न बाध्य छौं। अझै केही समय यस्तै हुने हो भने यसलेपछि सम्म महिला टोलीमा असर पर्न सक्छ।’

९ महिनादेखि मैदान बाहिर रहेपनि व्यक्तिगत रुपमा प्रशिक्षक राखेर प्रशिक्षण गरिहेकी राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री पनि मैदान फर्कन निकै आतुर रहेको सुनाउँछिन्। यो बीचमा आफूले कति गर्न सकियो भनेर मूल्यांकन पनि मैदान फर्किन हतार भएको उनको भनाइ छ।

एन्फा महिला कमिटी अध्यक्ष पेमा लामा महिला फुटबल गतिविधि सुरु गर्न आफूहरुले पहल थालेको बताउँछिन्।

‘गतिविधि अघि बढाउन एन्फासँग आग्रह गरिरहेका छौं,’ उनले भनिन्, ‘एन्फाको बैठकमा यो विषयमा छलफल गर्नेछौं।’

उनले विभागीय टोलीबीच मात्रै भए पनि प्रतियोगिता गर्न आफूले प्रस्ताव राखेको जानकारी दिइन्।

‘अहिले पनि कारोना संक्रमण बढिरहेकै छ। यस्तोमा धेरै भीड गर्ने अवस्था छैन। कम्तीमा तीन वटा विभागीय टोली (शसस्त्र, आर्मी र पुलिस) बीच मात्रै भएपनि प्रतियोगिता गर्न सकिन्छ भन्ने प्रस्ताव गरेकी छु,’ उनले भनिन्, ‘किनकि राष्ट्रिय टोलीका धेरै खेलाडी विभागमा नै छन्। त्यसैले उनीहरुलाई खेलाउन सकियो भने विस्तारै महिला फुटबलले गति लिनेछ। यसमा एन्फा पदाधिकारी पनि सकारात्मक हुनुहुन्छ।’

व्यक्तिगत खेलमा भन्दा समूहगत खेलमा संख्यात्मक रुपमा संक्रमण बढी देखिएको छ। बंगलादेश जानुअघि पुरुष फुटबलको तयारीका दौरानमा ५ खेलाडीलाई कोरोना संक्रमण भएको थियो। एक खेलाडी र व्यवस्थापकलाई बंगालदेश पुगेर संक्रमण भएको थियो।

‘तर, स्वास्थ्य मापदण्ड पुरा गर्दै प्रशिक्षण सुरु गर्न भने अब ढिला गर्न हुँदैन। खेलाडीमा फिटनेसमा मात्र कमी होइन, मनोवैज्ञानिक असर पनि पर्न थालेको देखिन्छ,’ उनले भनिन्।

बिनादर्शक विदेशी टोलीसँग मैत्रीपूर्ण खेलका विषयमा पनि छलफल अघि बढेको लामाले बताइन्।

‘सकारात्मक जवाफ आयो भने दशरंथ रंगशाला वा पोखरा रगंशालामा मैत्रीपूर्ण खेल गराउन सकिन्छ,’ उनले भनिन्।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले भने अहिले महिला टोलीको प्रशिक्षण सुरु गर्ने कुनै योजना नभएको सुनाए।

‘कोरोनाको कारण पुरुषहरुको धेरै प्रतियोगिता रोकिएको छ। त्यसैको लागि प्रशिक्षण सुरु गरेका हौं। कोरोनाले गर्दा अहिले दुवै टोलीको सँगै प्रशिक्षण सुरु गर्ने अवस्था नभएकाले पुरुषहरुको मात्र प्रशिक्षण सुरु गरेका हौं,’ प्याकुरेलले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .