खेल


एन्फाको बेइमानी: हतारमा पुरस्कार घोषणा गर्ने तर खेलाडीलाई नदिने

एन्फाको बेइमानी: हतारमा पुरस्कार घोषणा गर्ने तर खेलाडीलाई नदिने

लक्ष्मी जि.सी
मंसिर २२, २०७७ सोमबार १०:४३,

अखिल नेपाल फुटबल संघले घोषणा गरेको पुरस्कार खेलाडीहरुले वर्षौँ बित्दा पनि पाएका छैनन्। कतिपय खेलाडीले त आफूहरुलाई दिइने भनिएको पुरस्कार राशीको गणना नै बिर्सिन थालिसकेको बताएका छन्।

१३ औं सागमा नेपालले पुरुष फुटबलमा स्वर्ण पदक जितेको थियो। त्यो टोलीमा रहेका खेलाडीलाई एन्फाले जनही ५ लाख ५० हजार रुपैयाँ दिने घोषणा गरेको थियो। तर, साग सकिएको वर्ष दिन हुन लाग्यो, खेलाडीले पुरस्कार रकम अझै पाएका छैनन्। दशरथ रगंशालामा भुटानलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको थियो।

उता पोखरा रगंशालामा राष्ट्रिय महिला टोली भारतसँग पराजित हुँदा नेपालले रजत पदकमा चित्त बुझाउनु परेको थियो। त्यो टोलीका खेलाडीलाई जनही १ लाख ५० हजार रुपैयाँ दिने एन्फाको घोषणा अहिलेसम्म पनि कार्यान्वय भएको छैन।

घोषित पुरस्कार एन्फा डेमा वितरण गर्ने भनिएको थियो। कोभिड १९ का कारण एन्फा डे स्थगित भयो। खेलाडीले पुरस्कार रकम पनि पाएनन्। अझै कहिले पाउँछन् त्यसको टुंगो छैन।

एन्फाले खेलाडीलाई झुक्याएको यो पहिलो पटक होइन। यसअघि पनि थुप्रै पटक पुरस्कार घोषणा गर्ने तर खेलाडीलाई नदिने शैली एन्फाले अपनाउँदै आएको छ।

नेपालले भुटानमा साफ यू १८ च्याम्पियनसिप जितेको ३ वर्ष बितिसक्यो। अर्पण कार्कीको कप्तानीमा रहेको टोलीले बगंलादेशलाई २–१ ले हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको थियो। त्यो सफलतामा एन्फाले टोलीका सदस्यलाई जनही २ लाख रुपैयाँ दिने घोषणा गरेको थियो। तर, त्यो रकम खेलाडीले अझै पाएका छैनन्।

‘घोषणा गरेको पुरस्कार रकम दिए पो खेलाडीको मनोबल बढ्छ,’ कप्तान अर्पणले भने ,‘त्यो रकम पाउन अझै कति कुर्नुपर्ने हो थाहा छैन।’

२०७५ को कात्तिकमा थाइल्यान्डमा भएको एएफसी यू १९ च्याम्पियनसिपको दोस्रो चरण पुगेको महिला टोलीले पनि अझै पुरस्कार रकम पाएको छैन। त्यो टोलीका सदस्यलाई एन्फाले जनही २५ हजार रुपैयाँ दिने घोषणा गरेको थियो।

‘एन्फाले घोषणा गरेको कति च्याम्पियनसिपको पैसा पाउन बाँकी छ, बिर्सन लागि सक्यौं,’ कप्तान सरु लिम्बु भन्छिन्, ‘कति कति दिने भनेको थियो भन्ने पनि अहिले त याद छैन।’

128626294_137366247915651_1410228748101884794_n.jpg

२०७५ कै चैतमा विराटनगरमा भएको पाँचौं साफ महिला च्याम्पियनसिपमा नेपाली टोली दोस्रो भएको थियो। त्यतिबेला विराटनगरमै बसेको एन्फाको १८ औं वार्षिक साधारणसभाले खेलाडीलाई जनही १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो। त्यो रकम पनि खेलाडीले पाएका छैनन्। सोही सफलताका लागि विराटनगर महानगरपालिकाले खेलाडी र अफिसियललाई दिने घोषणा गरेको जनही ५० हजार रुपैयाँ भने उनीहरुले पाइसकेका छन्।

एन्फाले कुन प्रतियोगिताका लागि कति रकम प्रोत्साहन स्वरुप दिने भनेर कुनै मापदण्ड बनाउन सकेको छैन। तर, पुरस्कारको घोषणा भने हरेक पटक गरेकै हुन्छ। घोषणा गरिएको पुरस्कार रकम दिनका लागि एन्फासँग आफ्नै कुनै श्रोत नभएको प्रवक्ता किरण राई बताउँछन्।

‘कुन स्रोतबाट कसरी पुरस्कार रकम दिने भनेर छलफल भइरहेको छ। आगामी बैठकमा विविध शीर्षकमा हुने छलफलमा पनि यो विषयमा चर्चा गर्छाैं। त्यसमा निर्णय हुन सक्छ,’ प्रवक्ता राईले भने, ‘एन्फा बैठकपछि अध्यक्ष कर्मा छिरिङ शेर्पाले यो विषयमा जानकारी गराउनुहुनेछ। रकम व्यवस्थापनका लागि भने समय लाग्छ।

विभिन्न एजेन्डामा छलफल गर्न एन्फाले मंसिर २५ गतेका लागि केन्द्रीय समितिको बैठक डाकेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .