हालै सम्पन्न राष्ट्रिय महिला लिगको उपाधिका लागि मुख्यतः विभागीय टोलीबीचको प्रतिस्पर्धा हुने धेरैको अनुमान थियो। त्यसमा पनि एपीएफलाई सबैभन्दा दाबेदारका रुपमा हेरिएको थियो।
भयो पनि त्यस्तै। सबै १२ खेल जितेर एपीएफ च्याम्पियन बन्यो। त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो र नेपाल पुलिस क्लब तेस्रो भयो। त्यसपछि अन्य टोली रहे।
लिगकै अर्को सहभागी एउटा टोलीका लागि भने एपीएफको ठीक उल्टो रह्यो।
सहभागी ७ टोलीमा सबैभन्दा कमजोर रह्यो– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको प्रदर्शन। जुन बिर्सिनलायक थियो। एकातिर एपीएफले कुनै खेल हारेन भने अर्कोतिर चौदण्डीगढीले कुनै खेल जितेन।
१२ खेलमा १०७ गोलको भारी
केही खेलमा विभागीय टोलीलाई समेत दबाब दिन सफल स्याङ्जाको वालिङ र मोरङको विराटनगर महानगरपालिकाको टोलीको प्रदर्शन भने सम्झिनलायक रह्यो।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको महिला लिगमा सहभागी टोलीले पहिलोपटक विदेशी खेलाडी उतारे।
अन्य टोलीको दाँजोमा त्यसको फाइदा वालिङले उठायो। पहिलो चरणमा नेपाल पुलिस क्लबलाई १–१ गोलको बराबरीमा रोकेको वालिङ नगरपालिकाले दोस्रो चरणमा उसैलाई १–० ले हराएको थियो।
४ जना क्यामरुनी खेलाडीलाई समावेश गराएको वालिङले अंकतालिकाको चौथो स्थानमा रहँदै लिगको अन्त्य गरेको थियो। विराटनगरले पनि ४ भारतीय खेलाडीलाई खेलायो।
तर चाैदण्डीगढीले भने सबै खेल गुमायाे। उसले १ सय ७ गोलको भारी बोक्दा विपक्षी टोलीको पोष्टमा मात्र ४ गोल गरेको थियो। यसले पर्याप्त तयारी र विदेशी खेलाडी टाेलीमा नहुँदा चाैदण्डीगढीलाई ठूलै दबाब परेकाे महशुस हुन्छ।
चौदण्डीगढीले पनि दोस्रो राउण्डमा भारतका प्रदेशस्तरीय ४ खेलाडीलाई नउतारेको हाेइन। तर, त्यो धेरै ढिलो भइसकेको थियो। विदेशी हुँदा पनि चौदण्डीगढीको हारको सिलसिला रोकिएन।
टिमवर्क पुगेनः प्रशिक्षक थापा
सयभन्दा बढी गोल खाएर अंकविहीन हुँदै फर्केपछि चौदण्डीगढीका मुख्य प्रशिक्षक दिपक थापा भने खेलाडीको प्रदर्शनमा सन्तुष्ट छन्।
‘खेलाडीको व्यक्तिगत प्रदर्शनबाट सन्तुष्ट छु। मैले सिकाएजसरी नै उनीहरुले खेले। त्यसमा म खुसी छु’, उनले भने, ‘तर फुटबल टिम गेम भएका कारण समूहगत प्रदर्शन कमजोर रह्यो जसको कारण हामी अंकविहीन हुँदै फर्कियौँ।’
लिगमा आफ्नो टोलीले विभागीय टोलीलाई रोक्ने र अन्य नगरपालिकाका टोलीलाई भने हराउने नै रणनीतिक योजना बनाएको उनको भनाइ छ।
‘तर, पहिलो चरण सोचेजस्तो भएन। त्यसको असर अर्को चरणमा पनि पर्यो’, नेपालखबरसँग थापाले भने।
‘परम्परागत खेलले नतिजा दिँदैन’
महिला लिगका नजिकबाट नियालेका एन्फाका लिग निर्देशक सञ्जीव मिश्र भने परम्परागत खेलकै कारण चौदण्डीगढीले अंक जोड्न नसकेको बताए।
‘खेलमा नयाँ–नयाँ टेक्निक आइसकेको छ। एपीएफविरुद्धको खेलको नतिजा हेरौँ। पहिलो चरणमा २२ गोल गरेको टोलीसँग चौदण्डीगढीले डिफेन्सिभ खेल्नुपथ्र्यो। १ गोल मात्र भए नि हानौँ भन्ने सोचेर मात्र हुँदैन’, उनले भने, ‘१ गोल गर्छु भनेर अघि बढ्दा १२ गोल खाइन्छ भन्ने हेक्का हुन्न भने त्यसको के मतलब रह्यो र?’
मिश्रले खेलाडी परिवर्तनमा पनि प्रशिक्षकले खासै ध्यान दिएको नपाइएको बताए। विभागीय टोलीसँग निरीह देखिएको चौदण्डीगढीले अन्य नगरपालिका टोलीलाई पनि चुनौती दिन सकेन।
‘तयारी पुगेन’
राष्ट्रिय महिला टोलीका पूर्वप्रशिक्षक हरि खड्का चौदण्डीगढीले लिगको महत्व खासै बुझेजस्तो नलागेको बताए।
उनले भने, ‘तयारी नै कमजोरजस्तो देखियो। विदेशी खेलाडी राख्न पाउने प्रावधानको पनि राम्रो उपयोग भएन। त्यसले एकपछि अर्को खेलमा नतिजा खराब रह्यो।’
खड्काको भनाइमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)की फुटबलकी मुख्य प्रशिक्षक अरुणा गुरुङ पनि सहमत छिन्। उनले भनिन्, ‘लिगको लागि तयारी नै देखिएन। प्रदर्शन निकै कमजोर रह्यो।’
चौदण्डीगढीका व्यवस्थापक शशीचन्द्र राई छोटो तयारीकै कारण टोलीले राम्रो प्रदर्शन गर्न नसकेको स्वीकार गर्छन्।
उनले भने, ‘कोरोनाको कारण लामो समय प्रशिक्षण गराउन पाएनौँ। झण्डै दुई साताको प्रशिक्षणको भरमा लिग खेलेका थियौँ।’
राईले पीडा सुनाए– अन्य ठाउँभन्दा आफ्नो नगरपालिकामा महिला फुटबलको क्रेज नै छैन। महिला खेलाडीलाई पुरुषलाई जति खेल्न सहज छैन त्यसकारण हाम्रोमा महिला खेलाडी कम छन्।
‘विभागीय टोलीसँग कमजोर देखियौँ’
हुन त चौदण्डीगढीले अन्य नगरपालिकाका टोलीजस्तै छनोट चरण पार गरेर लिग खेलेको थियो। तर लिगमा भने छनोट चरण पार गरेर अघि बढेको कुनै छनक देखिएन।
‘छनोट चरणमा नगरपालिकाको टोली मात्र थियो, त्यसमा हाम्रो टोलीले नि ८/९ गोल गरेको पनि हो। तर लिगमा राष्ट्रिय खेलाडीसहितको विभागीय टोलीविरुद्ध हामी कमजोर देखियौँ’, व्यवस्थापक राईले भने।
चौदण्डीगढीमा त्रियुगा नगरपालिकाका ३ जना, उदयुरगढी, ताप्लेजुङ, इलामलगायत अन्य जिल्लाका खेलाडी थिए।
राईले भने, ‘हाम्रोमा टाढा–टाढाको खेलाडी छन्। छनोट चरण खेलेकै टोली हो। तर पहिलेजस्तो खेल्न सकेनौँ।’
७ लाख खर्च
लिगका लागि चौदण्डीगढीले झण्डै ७ लाख रुपैयाँ खर्च गर्नुपरेको व्यवस्थापक राईले जानकारी दिए।
‘पहिलो चरणमा केही सहयोग नगर्दा नगरपालिकाको झण्डै १२ लाख खर्च भएको छ’, राईले भने, ‘यो पटक एन्फाले पनि धेरथोर सहयोग गर्यो। कोरोना परीक्षणलगायतको पैसा एन्फाले दिने भनेको छ। दिइसकेको त छैन, चाँडै देला भन्ने आशा छ’, उनले भने।
विदेशी खेलाडी
नगरपालिकाका अन्य टोलीले जस्तै चौदण्डीगढीले पनि लिगको सुरुबाट विदेशी खेलाडी राख्न पहल गरेको थियो।
‘विदेशी खेलाडी ल्याउन एन्फासँग सल्लाह पनि गरेका थियौँ, एन्फाकै सल्लाहमा एन्जेटमार्फत बंगलादेशको खेलाडी ल्याउन प्रयास भएको थियो। तर अन्तिम समयमा उनीहरु आउन नसक्ने जानकारी आयो’, व्यवस्थापक राईले भने, ‘दोस्रो चरणमा भारतका ४ प्रदेशस्तरका खेलाडी ल्याए पनि त्यसले टोलीको कमजोर प्रदर्शनमा सुधार भएन।’
प्रतिक्रिया