खेलाडीको जीवनमा सबैभन्दा ठूलो शत्रु चोट मानिन्छ। चोटका कारण खेल जीवनबाटै बिदा लिनु परेको उदाहरण नेपाली खेलकुदमा पनि धेरै छन्। आफ्नो समयका चर्चित फुटबल खेलाडी हरि खड्का, प्रदीप महर्जन, चेतन घिमिरे, रविन श्रेष्ठ, निराजन मल्ल चोटकै कारण अपेक्षा गरेभन्दा अगाडि नै खेल जीवनबाट टाढा हुनु परेको थियो।
हरि आफ्नो समयका उम्दा फरवार्ड हुन्। तर, चोटकै कारण उनले औपचारिक रुपमा विदा लिन पाएनन्। प्रदीप, चेतन, निराजन जस्ता खेलाडीले घाइते भएपछि पुनरागमनको प्रयास गरेपनि सफल भएनन्।
अहिले पनि राष्ट्रिय फुटबल टोलीका दुई महत्वपूर्ण खेलाडीले केही साताको अन्तरमा गम्भीर चोट बेहोरेका छन्। एक वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका विमल घर्ती मगर र राष्ट्रिय टोली तथा एपीएफकी सावित्रा भण्डारी साम्बा घाइते भएका छन्। दुवैमा घुँडाको एसीएललगायत अन्य समस्याबाट पीडित छन्।
राष्ट्रिय टोलीको प्रशिक्षणका दौरान विमलको घुँडामा चोट लागेको थियो। साम्बा भने महिला लिगका दौरान नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएकी थिइन्। विमलको अहिले कतारमा उपचार भइरहेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले साम्बाको पनि उपचार कतारमै गर्ने प्रक्रिया सुरु गरिसकेको छ।
कति खेलाडीले राम्रो उपचार पाउँदैनन्। कति खेलाडी सोचेजस्तो उपचार पाउँदा पनि पुरानै अवस्थामा मैदान फर्कन सक्दैनन्। त्यसैले विमल र साम्बाको पुनरागमनबारे पनि चिन्ता छ। यद्यपि विश्वकै उत्कृष्टमध्येको अस्पतालमा उपचार हुने भएकाले उनीहरुप्रति आशा बढी छ। तर, उनीहरुलाई पुरानै अवस्थामा फर्केको हेर्न भने कम्तीमा एक वर्ष कुर्नुपर्ने छ।
यहाँ हामी गम्भीर चोटपछि पनि पुनरागमन गर्न सफल केही खेलाडीबारे चर्चा गर्दैछौँः
दीपक विष्ट, तेक्वान्दो
ओलम्पियन दीपक विष्ट नेपाली खेलकुदको व्यक्तिगत प्रतिस्पर्धाका सर्वाधिक सफल खेलाडी हुन्। सागमा लगातार ४ स्वर्ण र एसियाली खेलकुदमा दुई कास्य पदक जित्ने उनी एक्लो खेलाडी हुन्। तर, उनले खेल जीवनमा जति सफलता प्राप्त गरे, त्यति नै चोटसँग संघर्ष गर्नुपरेको थियो।
खेल जीवनमा चोटलाई नै आफूले साथी मानेको उनी बताउँछन्। उनले ३ पटक घुँडा र २ पटक हातको शल्यक्रिया गराएका थिए।
‘त्यसबाहेक ससाना चोटले कति दुःख दिए अहिले याद पनि छैन,’ उनले भने।
२००४ मा पाकिस्तानमा भएको नवौं साग खेल्नु १ वर्षअघि उनको दाहिने घुँडाको मिनिस्कसको शल्यक्रिया भएको थियो। जसका कारण उनी ६ महिना खेलबाट अलग रहे। नवौँ सागमा खुट्टाको चोट बल्झिए पनि उनले हिम्मत हारेनन्। स्वर्ण पदक जितेर बैसाखीको साहारामा स्वदेश फर्के। थाइल्यान्ड गएर उपचार गराए। त्यसपछि एक वर्ष उनले आराम गर्नुपर्यो। चोट, उपचार र त्यसपछि पदक जित्ने क्रमले निरन्तरता पाइराख्यो।
२००८ को ओलम्पिक खेल्ने बेलामा उनको बायाँ खुट्टामा समस्या देखिएको थियो। आठौँदेखि ११ औं सागमा लगातार स्वर्ण पदक जितेका उनले अन्तिम पटक स्वर्ण पदक जित्नुअघि पनि शल्यक्रिया गर्नुपर्ने भनिएको थियो। तर, उनले पहिला खेल्ने र त्यसपछि शल्यक्रिया गर्ने निर्णय लिए। सागपछि एसीएलको शल्यक्रिया गरे। त्यसबीचमा उनको हातको पनि शल्यक्रिया गराए। अहिले पनि उनको घुँडामा स्टिल छ।
चोटका कारण खेलाडीले शारीरिक पीडा त भोग्नै पर्ने हुन्छ। त्यो समय मानसिक रुपमा खेलाडी कमजोर भयो भने पुनरागमन गर्न कठिन हुने दीपक सुनाउँछन्। सफलतामा जसरी सबैले त्यसको श्रेय लिन चाहन्छन्, खेलाडीलाई चोट लाग्दा पनि सम्बन्धित व्यक्ति र निकायले त्यस्तै चासो राख्नुपर्ने दीपकको भनाइ छ।
रोहित चन्द, फुटबल
घरेलु लिगमा एक सिजन खेलेका रोहितको व्यावसायिक खेल जीवन विदेशी क्लबमै बित्यो। मछिन्द्र क्लबबाट व्यवसायिक फुटबलको यात्रा प्रारम्भ गरेका उनले आईलिग, इन्डोनेसिया, मलेसिया लिगको अनुभव बटुलेका छन्। अहिले पनि उनी इन्डोनेसियाको पर्सिजा जाकर्तामा आबद्ध छन्।
सन् २०१५ मा मलेसियाको टी टिम एफसीका लागि खेल्नेक्रममा रोहितको घुँडामा चोट लागेको थियो। शल्यक्रिया गर्नुपर्यो। पछि भारतको कोलकाता गएर ग्राउन्ड रिकभरी गरे। घुँडाको चोटका कारण नौ महिना मैदान बाहिर रहँदा रोहितले एएफसी सोलिडारिटी कप गुमाए। नेपालले सोलिडारिटी कप जितेर अहिलेसम्मकै ठूलो उपलब्धि हासिल गर्दा उनी दर्शक बन्नुपर्यो।
केही महिना फिटनेसका लागि आफैँ प्रशिक्षण गरेका रोहित मनाङको साथमा मैदानमा फर्केका थिए। चोटबाट फर्केका रोहितले २०७३ को माघमा पोखरामा भएको १५ औं आहा रारा गोल्डकप फुटबल खेल्दै पुनरागमन गरे। आहा गोल्डकपलगत्तै झापा गोल्डकप र बंगलादेशमा शेख कमल क्लब कप खेले। दुई प्रतियोगितापछि उनी सोझै राष्ट्रिय टोलीको प्रशिक्षणमा बोलाइए। त्यसयता उनी लगातार राष्ट्रिय टोलीमा छन्। राष्ट्रिय टोलीमा फर्केको केही समयपछि उनी पुनः पर्सिजा जाकार्तामा आबद्ध भए। २०१८ मा पर्सिजाले लिग जित्दा रोहितले गतिलो प्रदर्शन गरे। रोहित त्यो लिगमा सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए।
विक्रम लामा, फुटबल
विक्रमकै भाषामा भन्ने हो भने फेरि फुटबल खेल्न पाउनु पनि उनको ठूलो भाग्य हो। थ्री स्टारका लागि नेपाल पुलिस क्लबविरुद्ध बुढासुब्बा गोल्डकपको फाइनल खेल्ने क्रममा उनको खुट्टा भाँचिएको थियो। ग्रान्डी अस्प्तालमा उनको शल्यक्रिया पनि भयो र लामो समय फिजियोथेरापीको उपचारबाट गुज्रिनुपरेको थियो। थ्री स्टारले पनि उनको उपचारमा आर्थिक सहयोग गरे। विक्रमले विदेशमा पनि उपचार गरे र लगभग एक वर्षपछि खेलमा फर्केर राष्ट्रिय टोलीमा पनि स्थान बनाए।
दुई वर्षअघि चोट लागेपछि शल्यक्रिया गरेर खुट्टामा राखिएको सपोर्ट निकाल्न विक्रमको गत माघ २० मा कतारमा अर्को शल्यक्रिया गरिएको थियो। दायाँ खुट्टाको टिबिया र फिबुलामा चोट लागेपछि उनको शल्यक्रिया गरेर सपोर्ट राखिएको थियो। सफल पुनरागमका लागि उनले निकै मेहनत गरेका थिए।
हाल उपचारकै क्रममा कतारमा रहेका विक्रम भन्छन्, ‘चोट, फुटबल र खेल जीवन एक अर्काको पर्यायवाची शब्द हुन् जस्तो लाग्छ। खेल जिवनमा चोट सबैलाई लाग्छ फरक यति हो, कसैलाई सानो चोट लाग्छ, कसैलाई ठूलो।’
आफूले चोटबाट पनि धेरै कुरा सिक्न पाएको उनी बताउँछन्।
‘यही चोटले नै मलाई अझै फुटबलप्रति लालायित बनायो। आफूलाई अझै बलियो बनाउन, संघर्ष गर्न सिकेको छु,’ उनले भने।
प्रतिभा माली, भलिबल
चोटका कारण प्रतिभा झन्डै एक वर्ष कोर्टबाहिर रहिन्। राष्ट्रिय महिला भलिबल र न्यु डायमन्डकी महत्वपूर्ण सदस्य प्रतिभा नेपालले एभीसी सेन्ट्रल जोनमा स्वर्ण र १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको केही महिनापछि घाइते भएकी थिइन्। गत वर्ष कात्तिकमा स्वर्ण र मंसिरमा स्वदेशमा रजत पदक जित्दा प्रतिभाको प्रदर्शन उत्कृष्ट थियो।
गत वर्ष माघ १० गते पाँचौँ संस्करणको आरबीबी एनभीए क्लब च्याम्पियनसिपमा एपीएफ क्लबविरुद्धको फाइनलमा प्रतिभाको बायाँ घुडाँमा चोट लागेको थियो। स्पाइक प्रहार गरेपछि ल्यान्डिङ नमिल्दा उनले घुँडामा गम्भीर चोट लागेको थियो। एसीएल इन्जुरी, मिडियल मिनिस्कस टियर र मिडियल कोल्याटरल इन्जुरीका कारण ब्लु क्रस अस्पताल शल्यक्रिया गरिएको थियो।
शल्यक्रिया र त्यसपछि अर्थोप्लास्टमा नियमित फिजियोथेरापी गरेपछि उनी कोर्ट फर्कन सफल भएकी हुन्। गत पुसमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही पल्सर स्पोर्टस् अवार्डको पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेपछि उनलाई जिताउन पोखरामा मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो। अरुणालाई जिताउने अभियानमा आयोजित त्यो मैत्रीपूर्ण खेलबाट प्रतिभाले पुनरागमन गरेकी थिइन्।
त्यसपछि फागुन पहिलो साता भएको टाइगर कप प्रतिभाले खेलिन्। नेपालगन्जमा जारी प्रधानमन्त्री कपमा खेल्न पुग्दा उनले आफ्नो पुरानो प्रदर्शनलाई दोहोर्याने प्रयास गरेकी छिन्। यद्यपि उनी आफू अझै पूर्ण रुपमा ठीक भइनसकेको बताउँछिन्।
‘अझै म पहिलाजसरी खेल्न सकेको छैन। ३० प्रतिशत जति दुखाइ अहिले पनि छ। विस्तारै पुरानै अवस्थामा फर्कने कोशिस गर्दैछु,’ उनले भनेकी छिन्।
पृथु बास्कोटा, क्रिकेट
नेपाली क्रिकेटमा आशा गरिएका खेलाडी हुन् पृथु बास्कोटा। तर चोटकै कारण उनले आफूलाई धेरै समय मैदान बाहिर राख्नुपर्यो। घुँडाको चोटले उनलाई लामो समय मैदान फर्कने अनुमति दिएन। गत महिना भएको प्रधानमन्त्री कपमार्फत उनले खेलमा पुरानै लय समात्ने संकेत दिए।
सन् २०१३ मा कीर्तिपुर मैदानमा प्रशिक्षणका क्रममा उनको घुँडाको लिगामेन्ट च्यातिएको थियो। उनले टी–२० विश्वकप गुमाउनुपर्यो। पृथु ठिक हुँदा बंगलादेशमा भएको टी–२० विश्वकपमा नेपाल छनोट भइसकेको थियो।
चोटपछि पनि २०१५ मा एकदिवसीय विश्वकप छनोटका लागि राष्ट्रिय टोलीमा परे, तर युगाण्डाविरुद्धको खेलका क्रममा शरद भेषवाकरसँग ठोक्किएपछि उनी पुनः घाइते भए।
२०१५ मा आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा स्कटल्यान्डविरुद्ध खेल खेलेयता पृथु राष्ट्रिय टोली बाहिर छन्। उनले फ्रेन्चाइज लिग खेलेपनि राष्ट्रिय टोलीमा स्थान बनाउन भने सकेनन्। प्रधानमन्त्री कपमा उनी उत्कृष्ट ब्याट्सम्यान चुनिएका थिए।
राष्ट्रिय टोलीमा पुनरागमन सहज नभएको बुझेका पृथुले लगातार मेहनत गर्न नछाड्ने बताएका थिए। पछिल्लो समय राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा उनी पनि परेका छन्। राष्ट्रिय टोलीले खेल्ने प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएपछि उनले पुनरागमन सम्भावनाका लागि अझै कुर्नुपर्ने भएको छ। अहिले उनी बागमती प्रदेशबाट मेयर कप खेलिरहेका छन्।
Shares
प्रतिक्रिया