सुदूरपश्चिम


बैतडीमा शिक्षकको रहस्यमय मृत्यु, विद्यार्थी र शिक्षकमाथि प्रहरीको सोधपुछ

मृत भेटिनुअघि ‘खानपिन’मा थिए शिक्षक
बैतडीमा शिक्षकको रहस्यमय मृत्यु, विद्यार्थी र शिक्षकमाथि प्रहरीको सोधपुछ

गोकुल जोशी
पुस ५, २०७९ मंगलबार १४:४९, कञ्चनपुर

बैतडीको पाटन नगरपालिका–६ स्थित कृष्ण माध्यमिक विद्यालयका पुराना शिक्षक थिए, धनबहादुर बिष्ट। उनी गत शनिबार दिउँसो विद्यालय नजिकै मृत भेटिए।

विसं २०४८ सालदेखि कृष्ण माध्यमिक विद्यालयमा अध्यापन गराइरहेका विष्ट सुनर्या गाउँपालिका–२ ग्वानीका स्थानीय बासिन्दा हुन्। उनको विद्यालय भन्दा केही तल पनि घर छ।

कृष्ण माध्यमिक विद्यालयमा विष्ट गणित विषय अध्यापन गराउँथे। विगतमा सोही घरमा बस्ने उनी हाल विद्यालयकै छात्रावासमा बस्थे। शिक्षक विष्टको रहस्यमी मृत्युले पछिल्लो केही दिनयता बैतडी अशान्त छ।

विद्यार्थी र स्थानीय घटनाको विरोधमा आन्दोलनमा उत्रिएका छन्। शिक्षक विष्टको हत्या भएको भन्दै उनीहरुले घटनाको सत्य, तथ्य छानबिन गरेर दोषिलाई कानूनी दायरामा ल्याउनु पर्ने माग गरेका छन्।

उनीहरुले मंगलबार सडकमा टायर बालेर शिक्षक विष्टको लागि न्यायको माग गर्दै प्रदर्शन गरिरहेका छन्।

स्थानीय खोड्पे, सिउडी, ठाण, सत्तबाँझ लगायतका ठाउँमा सडकमा टायर बालेर सडक अवरुद्ध पारेका छन्। 

घटनास्थल र मृतकको शव हेर्दा हत्या गरेर शिक्षकलाई फालिएको हुनसक्ने पीडित परिवारको भनाइ छ। 

‘शिक्षक विष्टको शरीरका विभिन्न भागमा घाउ चोट छ। दाँत र नाक भाँचिएको छ, छाती, अनुहार सबैतिर कुटपिट गरेजस्तै घाउ छ,’ विष्टका आफन्त लोकेन्द्र विष्टले भने, ‘लडेको मात्र भए यति धेरै चोटपटक हुन सक्दैन।’ 

घटनाको सत्य, तथ्य छानबिन भएर दोषि कानूनी दायरामा नआउँदासम्म विष्टको शव नबुझ्ने परिवारको अडान छ।

शिक्षक विष्टको घटना रहस्यमी भएकाले घटनाको अनुसन्धानका लागि दबाब दिन आन्दोलनमा होमिनु परेको पाटनका व्यवसायी धर्मराज भट्टले बताए।

‘शिक्षक छात्रावासको माथिल्लो तलाबाट आफैँ खसे वा कसैले मारेर फालेको हो, यसको तत्काल अनुसन्धान गरेर दोषिलाई कानूनी दायरामा ल्याउनुपर्छ,’ उनले भने। 

शनिबार दिउँसो कृष्ण माध्यमिक विद्यालयको छात्रवास पछाडिको ३० मिटर तल विष्ट मृत भेटिएका थिए। 

विद्यार्थी र स्थानीयको आन्दोलनमा व्यवसायीहरुले पनि ऐक्यवद्धता जनाइरहेका छन्। व्यवसायीहरु स्वस्तफूर्त रुपमा बजार बन्द गराएर विष्टको न्यायको माग गर्दै आन्दोलनमा सहभागी भएका छन्। 

शिक्षक विष्टको हत्या भएको भन्दै अपराधिक घटनाले जनमानसमा त्रासको वातावरण सिर्जना गरेको खोड्पे बजार व्यवस्थापन समिति उपाध्यक्ष मोहनसिंह विष्ट बताउँछन्।

‘शिक्षकको हत्या भएको देखिन्छ, प्रहरीले घटनाको निष्पक्ष छानबिन गरेर दोषिलाई कारबाही गर्नुपर्छ,’ उनले भने,‘ यस्ता आपराधिक घटनाले समाजमा त्रासको वातावरण छ।’

घटनाको सत्य, तथ्य छानबिन गरेर दोषिलाई कानूनी दायरामा नल्याउञ्जेलसम्म आफूहरुले सडकबाट दबाब दिन नछोड्ने स्थानीय राजेन्द्रसिंह विष्टले बताए।

मृत भेटिनु अघि पार्टीमा थिए शिक्षक
कृष्ण माध्यमिक विद्यालयमा शुक्रबार दिउँसो ३/४ बजेतिर शिक्षकहरु ‘पार्टी’मा थिए। विद्यालयमा नयाँ कम्प्यूटर शिक्षक नियुक्ति भएको अवसरमा उनीहरुले खुसीयाली साट्दै एकआपसमा रमाइलो गरे।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सो पार्टीमा शिक्षक विष्ट पनि सहभागी थिए। विद्यालयको बिदा भइसकेपछि भएको पार्टीमा शिक्षकहरुले ‘खानपिन’ समेत भएको खुलेको छ।  

त्यसपछि शिक्षक बिष्टको अर्को दिन दिउँसो आफू बस्ने छात्रवास नजिकै घोप्टो परेको अवस्थामा शव भेटिएको थियो।

शिक्षक र विद्यार्थीलाई सोधपुछ
घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शिक्षक विष्टको मृत्यु वा हत्या के भएको अहिलेसम्म नखुलेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

मृतक शिक्षककी श्रीमतीले ज्यान सम्बन्धी कसुरमा प्रहरीमा जाहेरी दिएकी छन्। हत्याको आशंकामा विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्री बताउँछन्।

‘अहिलेसम्म त्यस्तो कुनै क्लु फेला परेको छैन, हामी अनुसन्धानमै छौं,’ उनले भने, ‘मृत्युको कारण एकिन हुनसकेको छैन।’

उनका अनुसार विद्यालयका शिक्षक, घटनाको अघिल्लो दिन पार्टीमा सहभागीहरु र विद्यार्थीलाई घटनाको बारेमा सोधपुछ गर्ने कार्य भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .