ad ad

सुदूरपश्चिम


विश्वासको मत लिन सोडारीको तेस्रो जमर्को : एमालेकै भर, उसकै डर

विश्वासको मत लिन सोडारीको तेस्रो जमर्को : एमालेकै भर, उसकै डर

गोकुल जोशी
बैशाख ३१, २०८१ सोमबार १५:९, कञ्चनपुर

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी जेठ ३ गते विश्वासको मत लिने तयारी गरेका छन्।

यसअघि दुई पटक विश्वासको मत लिने जमर्को गर्दा पनि सत्तारुढ नेकपा एमालेको अड्कोले सोडारीले विश्वासको मत लिन सकेका थिएनन्।

नवनिर्वाचित सांसद दमनबहादुर भण्डारीलाई शपथ नलिएर गठबन्धनमा छलफल नगरी हतार गरेर विश्वासको मत लिन खोजेको, बझाङ उपचुनावमा एमालेलाई हराउने गरी उम्मेदवार खडा गरेको तथा गठबन्धनभित्रको एमाले र एकीकृत समाजवादीको खटपटले एमाले सोडारीलाई विश्वासको मत दिन तयार भएको थिएन।

विश्वासको मत लिने समय घर्किँदै जाँदा मुख्यमन्त्री सोडारीले फेरि जेठ ३ गते बिहीबार विश्वासको मत लिने तयारी गरेका हुन। त्यसका लागि सुदूरपश्चिम प्रदेश सभा बैठक समेत आह्वान भइसकेको छ।

सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार जेठ ३ गते बिहान १०ः१५ मा प्रदेश सभा बैठक बोलाइएको छ।

वैशाख ६ मा मुख्यमन्त्री नियुक्त भएका सोडारीले एक महिनाभित्र प्रदेश सभामा बहुमत सिद्ध गर्न विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था छ।

यसअघि वैशाख २१ र २२ गते बोलाइएको बैठकमा सोडारीले विश्वास मत लिन सकेका थिएनन्। त्यसपछि स्थगित बैठक जेठ ३ गते बोलाइएको हो।

सत्तारुढ गठबन्धनको शीर्ष तहमा सहमितपश्चात् जेठ ३ गते विश्वासको मत लिने तयारी गरिएको नेकपा एकीकृत समाजवादीका एक नेताले बताए।

‘शीर्ष तहमा सहमति विश्वासको मतका लागि सहमति भएको छ,’ उनले भने, ‘कोसीमा एमालेका मुख्यमन्त्रीलाई हामीले विश्वासको मत दिएका छौँ। अब एमालेले यहाँ हामीलाई पनि विश्वासको मत दिन्छ।’

तर नेकपा एमालेको प्रदेश संसदीय दलले भने अझै विश्वासको मतका बारेमा मुख खोलेको छैन। केन्द्रबाट विश्वासको मतका लागि अहिलेसम्म कुनै आधिकारिक निर्देशन नआएको एमाले संसदीय दलका प्रमुख सचेतक सुरेन्द्र पालले बताए।

‘हामी केन्द्रीय नेतृत्वसँग निरन्तर सम्पर्कमै छौँ। अहिलेसम्म विश्वासको मतका लागि कुनै निर्देशन आएको छैन,’ उनले भने, ‘विश्वासको मत लिने दिन अझै बाँकी छ। हामी केन्द्रको निर्देशनअनुसार अगाडि बढ्छौँ।’

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ।

६ वैशाखमा ४ सांसद रहेको नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ७ र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

बझाङ उपचुनावमा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएपछि सत्ता गठबन्धनलाई बहुमतका लागि झनै सहजता छ। मुख्यमन्त्री दाबी गर्दा देखि नै सोडारीलाई नरुचाएको एमाले अन्तिममा आएर गठबन्धन जोगाउन समर्थन दिन तयार भएको थियो। तर एमाले अहिलेसम्म सरकारमा सामेल भएको छैन।

एमालेमा हुँदा ओलीले नै कारबाही गरेको तथा नैतिक पृष्ठभूमि धुमिल रहेको भन्दै एमालेले सोडारीलाई अड्को थाप्ने गरेको छ। विश्वासको मतको छेकेकोमा एमालेले चाल्ने कदममै सोडारीको सत्ता भविष्य जोडिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .