सुदूरपश्चिम


राजनीतिक उलटफेरले जुरायो माओवादी सुदूरपश्चिमका दुई कमाण्डरको भेट

सुदूरपश्चिम सरकार गठनको विषयमा छलफल
राजनीतिक उलटफेरले जुरायो माओवादी सुदूरपश्चिमका दुई कमाण्डरको भेट

गोकुल जोशी
पुस १३, २०७९ बुधबार २०:३८, कञ्चनपुर

नेकपा एमालेका सचिव लेखराज भट्ट र नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज खगराज भट्टबीच भेटघाट भएको छ। 

बुधबार काठमाडौं धापाखेलस्थित लेखराज भट्टको निवासमा उनीहरुबीच भेटघाट भएको हो। 

पछिल्लो राजनीतिक घटनाक्रम र सुदूरपश्चिम प्रदेश सरकार गठनका विषयमा भट्टद्वयबीच सामान्य कुराकानी भएको लेखराज भट्टका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए।

‘सामान्य राजनीतिक विषयमा कुराकानी भएको छ, सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि छलफल केन्द्रित थियो,’ उनले भने। 

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका प्रमुख दाबेदार रहेका खगराज भट्टले लेखराजलाई सहयोग गर्न भनेको चर्चा छ। ‘लेखराज कमरेडले छलफल गर्छौं भन्नुभएको छ,’ स्वकीय सचिव ओझाले भने। 

यस विषयमा खगराजको प्रतिकृया बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन।

टुट्यो संवादहिनता
कांग्रेससँगको गठबन्धन तोडेर नेकपा माओवादी केन्द्र फेरि नेकपा एमालेको पोल्टामा पुगेपछि तत्कालीन माओवादी सुदूरपश्चिमका दुई कमाण्डर पनि एउटै कित्तामा पुगेका छन्।

लेखराज माओवादीमा हुँदा सुदूरपश्चिमको इन्चार्ज थिए। खगराज सह–इन्चार्ज थिए। माओवादीमा हुँदा उनीहरुबीच कहिल्यै सुमधुर सम्बन्ध रहेन। माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँगको निकटको सम्बन्धका कारण लेखराज माओवादी सुुदूरपश्चिममा हाबी थिए। लेखराज माओवादीमा हुँदा प्रचण्डका विश्वासपात्र मानिन्थे।

माओवादीमा हुँदा खगराज सधैँ लेखराजको छायामा परेका थिए। नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच ०७४ जेठ ३ मा पार्टी एकता भएपछि बनेको नेकपा सुदूरपश्चिमको इन्चार्ज भीम रावल बनाइए।

माओवादी अध्यक्ष प्रचण्डले पनि रावल काखा च्याप्दै लेखराजलाई पाखा लगाए। त्यसपछि प्रचण्ड र लेखराजको सम्बन्धमा तिक्तता आएको थियो। तत्कालीन नेकपाको धुव्रीकरणपछि लेखराज केपी शर्मा ओलीको कित्तामा उभिए। 

०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विघटन गर्दै माओवादी र एमाले ब्यूँतिएपछि पनि लेखराज माओवादीमा गएनन्। उनी ओलीसँगै नेकपा एमालेमा समाहित भएका थिए।  

त्यसपछि रावलको सुदूरपश्चिम इन्चार्ज पद खोसेर ओलीले लेखराजलाई इन्चार्जको जिम्मेवारी दिए।

लेखराज माओवादीबाट बाहिरिएपछि खगराजलाई अवसर मिल्यो। सधैँ लेखराजको छायामा परेका उनले माओवादी सुदूरपश्चिमको इन्चार्ज पाए।

नेकपा विघटनपछि भट्टद्वयबीच त्यस्तो कुनै संवाद भएको थिए। फेरि माओवादी एमालेसँग गठबन्धन गर्न पुगेपछि उनीहरु एउटै कित्तामा पुगेका हुन्।

लामो समयको संवादहिनता तोडेर उनीहरुले बुधबार भेटघाट गरेका छन्। नेकपा एमाले नेतृत्वको गठबन्धनको सुदूरपश्चिम प्रदेश सभामा बहुमत छ।

माओवादीबाट खगराजलाई भावी मुख्यमन्त्रीका रुपमा हेरिएको छ। गठबन्धनभित्रको दोस्रो ठूलो दल नेकपा एमालेले पनि मुख्यमन्त्रीमा सशक्त दाबी गरिरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .