सुदूरपश्चिम


भागबन्डा नमिल्दा भएन सुदूरपश्चिम मन्त्रिपरिषद विस्तार, उन्मुक्ति बैठकबाट बाहिरियो

भागबन्डा नमिल्दा भएन सुदूरपश्चिम मन्त्रिपरिषद विस्तार, उन्मुक्ति बैठकबाट बाहिरियो

नेपालखबर
जेठ ५, २०८० शुक्रबार १८:५४, कञ्चनपुर

नागरिक उन्मुक्ति पार्टीको अडानले आज (शुक्रबार) सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद विस्तार हुन सकेन।

सरकारलाई पूर्णता दिनुअघि बसेको सत्तारुढ गठबन्धनको बैठकमा नागरिक उन्मुक्तिले दुई मन्त्रालयमा दाबी गरेपछि प्रदेश सरकार विस्तार हुन नसकेको हो।

‘नागरिक उन्मुक्तिका साथीहरुले आन्तरिक छलफल गर्छौं, एक दिन रोकिदिनु पर्यो भन्नुभयो,’ बैठकमा सहभागी एक नेताले भने, ‘त्यसैले भोलि बिहान १० बजेसम्मका रोक्छौँ।’

ती नेताका अनुसार भोलि मन्त्रिमण्डल विस्तार हुनेछ। सत्तारुढ गठबन्धनमा भएको भागबण्डाअनुसार माओवादी केन्द्र २, कांग्रेस १ र नागरिक उन्मुक्ति १ मन्त्रालय पाउने सहमति भएको थियो।

यस्तै, कांग्रेस, माओवादी र नागरिक उन्मुक्ति पार्टीले १/१ राज्यमन्त्री पनि पाउने गरी सहमति जुटेको थियो।

तर, यसमा नागरिक उन्मुक्ति असन्तुष्ट छ। उन्मुक्तिले २ पूर्ण मन्त्रालयमा दाबी गरेको छ। नागरिक उन्मुक्तिको भागमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मात्रै परेको छ। सामाजिक विकास मन्त्रालयमा नागरिक उन्मुक्तिको पनि दाबी छ।

माओवादीले सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय पाएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय कांग्रेसले पाएको छ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम २६ माघमा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भएका थिए। २१ फागुनमा उनले प्रदेश सभाबाट विश्वासको मत लिएका थिए।

मुख्यमन्त्री नियुक्त हुँदा कांग्रेसबाट प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीबाट नरेश शाहीलाई मन्त्री नियुक्त गरेपछि अहिलेसम्म भागबन्डा नमिल्दा सरकार विस्तार हुन सकेको छैन।

मुख्यमन्त्री शाहले बिहान पत्रकार सम्मेलन गर्दै आज सरकारले पूर्णता पाउने दाबी गरेका थिए।

नागरिक उन्मुक्तिसँग कुरा नमिल्दा आज पनि सरकार विस्तार हुन नसकेको हो। नागरिक उन्मुक्तिका सांसद भोलि बिहानसम्म आन्तरिक छलफल गर्ने भन्दै बैठकबाट निस्किएका थिए।

एक मन्त्रालयमै सरकारमा सहभागी हुने कि सरकारमा नजाने भन्ने विषयमा उनीहरुले निर्णय गर्ने जनाइएको छ।

माओवादी केन्द्रले सांसदद्वय रमेश धामी र झपट साउदको नाम मन्त्रीका लागि टुंगो लगाइसकेको छ। यस्तै, समानुपातिक सांसद गीतादेवी माललाई राज्यमन्त्रीमा अघि सार्ने जनाएको छ।

उन्मुक्तिले दुई मन्त्रालय पाए रामेश्वर चौधरी र लक्ष्मण किशोर चौधरीलाई मन्त्री बनाउने छ।

नेपाली कांग्रेसले पृथ्वीबहादुर सिंहलाई मन्त्रीमा अघि सार्ने सम्भावना बढी रहेको नेताहरु बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .