सुदूरपश्चिम


सवारी दुर्घटनामा दिवंगत मन्त्री सिंहसहित तीनै जनाको शव अस्पतालमै

सवारी दुर्घटनामा दिवंगत मन्त्री सिंहसहित तीनै जनाको शव अस्पतालमै

सिंहको निधनपछिको श्रद्धाञ्जली सभा।


गोकुल जोशी
असार ८, २०८० शुक्रबार १५:४९, कञ्चनपुर

सवारी दुर्घटनामा दिवंगत सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित तीन जनाको शव जिल्ला अस्पताल बझाङमा राखिएको छ।

शनिबार (भोलि) मन्त्री सिंहसहित तीनै जनाको सेती घाटमा हिन्दु परम्पराअनुसार अन्त्यष्टि गर्ने तयारी गरिएको छ।

मंगलबार बझाङको केदारस्युँ गाउँपालिका–१ देउरामा मन्त्री सिंह सवार सु प प्र ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटना भएको थियो। दुर्घटनामा मन्त्री सिंह, पत्नी अमृता र भाउजू जयादेवीको ज्यान गएको थियो। 

मन्त्री सिंहकी पत्नी र भाउजूको बझाङमै उपचारको क्रममा ज्यान गएको थियो। मन्त्रीसहित घाइते गाडी चालक धर्मराज जोशी र निजी सुरक्षा गार्ड (पीएसओ) दीपक भण्डारीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो।

बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मन्त्री सिंहको मंगलबारै निधन भएको थियो। चालक र पीएसओलाई थप उपचारका लागि हाल काठमाडौँ लगिएको छ। 

उनीहरूको स्वास्थ्य अवस्था सुधारिदो क्रममा छ। कोहलपुरमा उपचारको क्रममा दिवगत भएका मन्त्री सिंहको शव त्यहीँ राति कैलालीको धनगढी ल्याएर सेती प्रादेशिक अस्पताल ल्याइएको थियो। 

बुधबार धनगढीमा शवयात्रा निकालेर श्रद्धाञ्जली अर्पण गर्न पार्थिव शरीर रंगशालामा राखिएको थियो। त्यसपछि सेनाको हेलिकप्टरमार्फत बझाङ लगिएको शव दुई दिनदेखि जिल्ला अस्पतालको शवगृहमा छ।

वैदेशिक रोजगारीको शिलशिलामा बाहिर रहेका दिवगत मन्त्री सिंहका कान्छा छोरा पुगेपछि शनिबार सेती घाटमा अन्त्यष्टि गरिने नेपाली कांग्रेस बझाङका पूर्वसचिव भक्तराज जोशीले बताए।

‘उहाँ आज बेलुका पुग्नुहुन्छ, भोलि दिउँसो सेती घाटमा दिवगत तीनै जनाको अन्त्यष्टि गरिन्छ,’ उनले भने। उनका अनुसार शनिबार बिहान ९ बजे जिल्ला अस्पताल बझाङबाट शवयात्रा निकालिने छ। 

बजार परिक्रमा गर्दै श्रद्धाञ्जली अर्पणका लागि पार्थिव शरीरलाई कांग्रेस पार्टी कार्यालयमा राखिने छ। त्यसपछि परिवारले सेती घाटमा परम्पराअनुसार अन्त्यष्टि गरिनेछ। 

मन्त्री सिंह सवार गाडी दुर्घटनाको कारण खुलेको छैन। प्रदेश सरकारले दुर्घटनाको सम्बन्धमा अनुसन्धानका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव गंगाबहादुर खरेलको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .