सुदूरपश्चिम


सुदूरपश्चिम प्रदेशसभा बैठक फेरि स्थगित, नेतृत्वसँग कुरा गर्न नेताहरू काठमाडौँमा

सुदूरपश्चिम प्रदेशसभा बैठक फेरि स्थगित, नेतृत्वसँग कुरा गर्न नेताहरू काठमाडौँमा

नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रबहादुर रावल शीर्ष नेताहरू भेटेर कुरा गर्न काठमाडौं आइपुगेका छन्


नेपालखबर
बैशाख २२, २०८१ शनिबार १४:२१, काठमाडौँ

सुदूरपश्चिम प्रदेश सभा बैठक पुनः स्थगित भएको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयाुजनका लागि शुक्रबार अपरान्ह ५ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक शनिबार अपरान्ह ५ बजेसम्मका लागि स्थगित गरिएको थियो। 

मुख्यमन्त्री सोडारीले हिजै विश्वासको मत लिने तयारी गरेका थिए। तर, नेकपा एमालेले आफूहरूसँग सल्लाह नगरी बैठक राखिएको भन्दै आपत्ति जनाएको थियो। शनिबार पनि परामर्श बिना नै बैठक सारिएको भन्दै एमालेले असन्तुष्टि जनाएको छ। 

एमालेले आफूहरुको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने भनेपछि बैठक स्थगित भएको बताइएको छ।

विश्वासको मतका लागि दलहरूबीच सहमति जुट्न नसक्दा नेताहरू काठमाडौँमा शीर्ष नेता फकाउन आएका छन्। 

एमाले संसदीय दलका नेता राजेन्द्र बहादुर रावल, नेपाली कांग्रेसका संसदीय दलका नेता कमल बहादुर शाह लगायतका नेताहरू काठमाडौँमा छन्। 

रावल पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै भेटेर सुदूरपश्चिमको पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने तयारीमा छन्। ओली भने शनिबार रसुवा पुगेका छन्। 

रसुवाबाट फर्केपछि भेट गरेर बाँकी छलफल अघि बढ्ने बताउँदै समाजवादी किन यति धेरै डराएको भन्नेबारे आफूहरू चकित भएको उनले बताए। 

‘उहाँहरू सुरुकै दिनदेखि धेरै बहकिनुभएको छ, कम्तिमा हामीले हाम्रो नवनिर्वाचित सांसद बुवाको काजकिरियामा हुनुहुन्छ, उहाँ आएपछि गरौँ भन्दा पनि मान्नुहुन्न भने, यो केटाकेटीपन हो,’ रावलले भने। 

बझाङ– १ बाट निर्वाचित सांसद दमनबहादुर भण्डारीलाई पितृशोक परेपछि अहिले किरियामा छन्। भण्डारी काजकिरिया सकेर आएपछि विश्वासको मत लिने वातावरण बनाउन आग्रह गरिएको उनले बताए।

मुख्यमन्त्रीले विश्वासको मत लिन प्रदेशसभाको बैठक आह्वान भएपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने नागरिक उन्मुक्ति पार्टी (नाउपा) संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराले मुख्यमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न आजै निर्देशन (ह्वीप) जारी गरेका छन्।

सोडारी नेतृत्वको सरकारमा नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षधर दुई प्रदेशसभा सदस्य मन्त्री छन्। नाउपा अध्यक्ष रञ्जिता अहिलेकै सत्तागठबन्धनलाई सहयोग गर्नुपर्ने पक्षमा र संस्थापन संरक्षक रेशमलाल चौधरी नेपाली कांग्रेस सहितको गठबन्धनको पक्षमा छन्।

नाउपामा देखिएको आन्तरिक विवादकै कारण संस्थापक संरक्षक पक्षधर पाँच सदस्यको तर्फबाट प्रमुख सचेत डगौराले विपक्षमा मत दिन ह्वीप लगाएका हुन्। यो पार्टीको आन्तरिक विवाद थप चर्किने देखिएको छ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई सदस्य, स्वतन्त्र सदस्य डा. तारा जोशीको समर्थनमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी यही वैशाख ६ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
 
५३ सदस्यीय प्रदेशसभामा ठूलो दल नेपाली कांग्रेसका १८, नेकपा माओवादी केन्द्रको सभामुख बाहेक १०, नेकपा एमालेको११, नागरिक उन्मुक्ति पार्टीको सात, नेकपा एकीकृत समाजवादी पार्टीका चार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एक र एक स्वतन्त्र सदस्य छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .