ad ad

सुदूरपश्चिम


दशगजा मिचेर भारतले बनायो कालोपत्रे सडक, नेपाली भूमिमा उसकै अवरोध

दशगजा मिचेर भारतले बनायो कालोपत्रे सडक, नेपाली भूमिमा उसकै अवरोध

दशगजा मिचेर भारतले बनाएको कालोपत्रे सडक। तस्बिर : गोकुल जोशी


गोकुल जोशी
कात्तिक २१, २०८० मंगलबार १७:३४, कञ्चनपुर

पश्चिमी सीमानाका गड्डाचौकीमा नेपाल–भारत सीमाको ७ नम्बर पिल्लर छ। त्यहाँ अन्तर्राष्ट्रिय सिमास्तम्भसम्म भारततर्फ कालोपत्रे सडक देख्न सकिन्छ।

दशगजाको नेपालतर्फ उबडखाबड बाटो छ। त्यहाँ भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजा क्षेत्रमा कुनै संरचना बनाउन नपाउने भन्दै बाटोमा ग्राभेल राख्न दिएको छैन।

दशगजा क्षेत्रमा भारततर्फ बनेको कालोपत्रे सडक हालै भारतले मर्मत गरेको छ। सीमामा खटिएको सशस्त्र प्रहरी भने मूकदर्शक बनेको छ।

‘पहिलेदेखि नै कालोपत्रे सडक थियो, भारतीय पक्षले सो सडकलाई अहिले फराकिलो बनाएका छन्,’ भीमदत्त नगरपालिका– ११ का अध्यक्ष प्रकाश थापाले भने, ‘दशगजासम्मै भारतले कालोपत्रे सडक बनाएको छ, नेपालतर्फ ग्राभेल पनि हाल्न दिएका छैनन्।’

उनका अनुसार ३ मिटर चौडा रहेको कालोपत्रे सडक अहिले फराकिलो बनाएर ४ मिटर बनाइएको छ। दशगजा क्षेत्रमा संरचना बनाउँदा आफूहरुसँग केही समन्वय नगरेर भारतले एकलौटी रुपमा सडक मर्मत गरेको उनको भनाइ छ।

दशगजा क्षेत्रमा कुनै पनि संरचना बनाउन नपाउने सीमा सम्बन्धी अन्तर्राष्ट्रिय मान्यता छ। भारतले अन्तर्राष्ट्रिय प्रावधानको विपरित गड्डाचौकीमा सिमास्तम्भसम्मै निर्माण गरिएको कालोपत्रे सडक मर्मत गरेको हो।

सडक निर्माण गर्दा नेपाली प्रशासनलाई भारतीय पक्षले कुनै जानकारी गराएको छैन। नेपाली प्रशासनलाई जानकारी नै नदिएर मनोमानी ढंगले भारतले दशगजासम्मको सडक मर्मत सम्भार गरेको हो।

‘यस बारेमा हामीलाई कुनै जानकारी आएको छैन, त्यहाँ कुनै नयाँ संरचना बनेको होइन, मर्मत गरेको भन्ने बुझ्नमा आएको छ,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी भन्छन्, ‘सशस्त्रलाई यसबारेमा रिपोर्ट गर्न भनेको छु।’

सीमामा दादागिरी शैलिमा अन्तर्राष्ट्रिय मान्यतालाई उल्लघंन गर्दै गतिविधि अघि बढाइरहेको भारतले नेपालतर्फ विभिन्न ठाउँमा सडक निर्माणमा अवरोध पुर्याउँदै आएको छ।

विभिन्न बहाना झिकेर भारतीय पक्षले कञ्चनपुरको ब्रह्मदेव, जिमुवा, बेलौरीलगायत क्षेत्रमा विकासको मुख्य पूर्वाधार सडक निर्माणमा अवरोध पुर्याएको छ।

ब्रह्मदेवमा जैविक मार्गअन्तर्गत पर्ने डेढ सय मिटर सडक भारतीय पक्षले निर्माण गर्न दिएको छैन। केही वर्षअघि भीमदत्त नगरपालिकाले कालोपत्रे गर्न ६० लाख रुपैयाँमा ठेक्का खोलेको थियो।

तर त्यहाँ अहिलेसम्म भारतले सडक निर्माण गर्न दिएको छैन।

‘एसएसबीले ‘उप्परका आदेश’ (माथिको आदेश) भनेर ग्राभेल पनि राख्न दिएको छैन, ब्रह्मदेव बजार नजिकै पानी जम्ने ठाउँमा कलभर्ट राख्न खोज्दा पनि राख्न दिएको थिएन,’ भीमदत्त नगरपालिका–९ का अध्यक्ष गगनसिंह कार्कीले भने, ‘केहीदिन अघि बोरामा माटो भरेर राखेका थियौँ, त्यति बेलै हटाइदियो।’

भीमदत्त नगरपालिका–१० जिमुवा चौकी नजिक दशगजा क्षेत्रमा पर्ने सडकमा पनि भारतीय पक्षले ग्राभेलमा अवरोध गरेको छ। दक्षिणी क्षेत्र अन्तर्गत पर्ने बेलौरी नगरपालिका–८ पचुईमा पनि भारतीय पक्षले हुलाकी सडक निर्माणमा अवरोध गरेको छ।

‘एसएसबीले ‘उप्पर’(माथि)बाट आदेश नआउँदासम्म बाटो निर्माणको काम गर्न दिदैनौँ भनेको छ,’ बेलौरी नगरपालिका–८ का अध्यक्ष विषराम रानाले भने, ‘सडक निर्माण त परको कुरा खाल्डाखुल्डी पुर्न पनि दिइएको छैन।’

उनका अनुसार हुलाकी सडकअन्तर्गत पचुई–पौलाह जोड्ने १२ सय मिटर सडक निर्माणमा भारतले अवरोध गर्दै आएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .