ad ad

सुदूरपश्चिम


‘भुटीदिदी’लाई ७३ वर्षमा नागरिकता

‘भुटीदिदी’लाई ७३ वर्षमा नागरिकता

नेपालखबर
मंसिर १९, २०८० मंगलबार १७:५१, काँडा, साइपाल (बझाङ)

स्थानीय काँडा गाउँका दर्जनबढी ज्येष्ठ नागरिक हुन्। उनीहरूमध्ये एकजना अविवाहित महिला हुन् भुटी गुरुङ उर्फ भुटी दिदी। हुम्लामा जन्मिएर बुबाआमासँगै साइपाल पुगेकी भुटीदिदीका सात दशक काँडामा लेकबेँसी गर्दै बिते।

२००८ सालमा जन्मनुभएकी भुटीदिदीका बाल्यकालबाटै भेडा–च्याङ्ग्रा साथी बने। त्यसपछिका साथी आफ्नै भाइबहिनी, गाउँले भाइबहिनी र उहाँहरूका सन्तान भए।

यसैमा बित्यो उनको ७३ वर्ष।

घरको काम, भेडा–च्याङ्ग्रा, गाइवस्तुको गोठ नै उनका लागि संसार बन्यो। यतिसम्म कि उनले विहे गर्नेसमेत समय पाइनन्।

आजीवन एकल महिला रहेकी भुटीदिदीलाई गत साता जिल्ला प्रशासनले घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गर्‍यो। जीवनको उत्तराद्र्धमा प्रवेश गरेसँगै मानसिक रोगले थलिएकी भुटीदिदीको भतिज टेक गुरूङको घरमा बस्छन्।

गाउँमा तीन पुस्ताले नै उहाँलाई भुट दिदी भनेर सम्बोधन गर्छन्। उनलाई चिन्नेले पनि भुटीदिदीकै नामले चिन्छन्। धामी, बोहरा, गुरूङ, रोकायालगायत विभिन्न थरका बासिन्दाको बसोवास भएको हुँदा पनि उनी सबैकी भुटी दिदी भएकी हुन्।

भुटीदिदीले स्वस्थ हुँदा सबैलाई माया गर्ने, सक्दो आफन्तलाई काममा सघाउने र स–साना नानीहरूलाई ‘भदा÷भदै’ भन्दै खेलाउने हुँदा गाउँमा उनी सबैकी प्यारी बनेकी गाउँपालिका अध्यक्ष मानविर बोहरा बताउँछन्।

भुटीदिदीले काखमा बोकेका भाइ बहिनीहरू अहिले भने बाजेसम्म भइसकेका छन्। तर, भुटीदिदी भने आफन्तकै नाति नातिनालाई खेलाइरहेकी छिन्। अहिले उनको दैनिकी घरको आँगन र आफ्नो टोलमै बित्ने गरेको छ। उमेरमा घरायसी काममात्रै होइन, कसैको विवाह, व्रतबन्ध हुँदा कामका लागि अग्रस्थानमा रहने भुटीदिदी केही वर्षयता भने घरमै थन्किएकी छन्।

साइपाल गाउँपालिका–३ काँडाका ज्ञानबहादुर बोहरा भन्छन्, ‘भुटीदिदीलाई गाउँमा सबैले माया गर्छन्। घरायसी काम, भेडा–च्याङ्ग्राको हेरचाहमै जीवन बिताउनुभएकी दिदीलाई विहे गर्ने, घरबार जोड्ने कहिल्यै सोच आएन र यत्तिकै बस्नुभयो।’

बुढेसकालमा भने विहे नगरेको पछुतो पो भयो कि क्या हो मानसिक समस्या आइलागेको बोहराले बताए,

भतिज टेकको संरक्षणमा रहेकी भुटीदिदी जीवनभर घरायसी काममै बितेको हुँदा उनलाई विहे गर्न पनि आवश्यक नठानेर अविवाहित नै बसेको टेकले बताए। 

उनका अनुसार त्यो बेलामा गाउँमा नागरिकताकोे आवश्यकताबारे पनि कसैलाई थाहा थिएन। विसं ०६४ सालतिर गाउँमा नागरिकता दिने घुम्ती टोली आएपछि धेरैले नागरिकता पाएको र फुपू गोठालो गएको हुँदा छुटेको उनले सुनाए। ‘उहाँलाई मात्रै होइन, हामीलाई पनि नागरिकताको बारेमा जानकारी थिएन। पछि घुम्ती शिविरको बेलामा नागरिकता र सरकारी सेवा सुविधाबारे जानकारी भयो त्यसपछि गाउँमा भेटिएकाले नागरिकता बनाएका थिए,’ उनी भन्छन्।

भतिज टेकका अनुसार त्यस बेलामा पनि धेरै जनाको नागरिकता बनाउन छुटेको थियो। ‘अहिलेको जस्तो सञ्चार थिएन। त्यसैमा पनि साइपाल गाउँपालिकामा हुने कुरै भएन। नागरिकता दिने टोली गाउँमा आयो। गाउँमा जति भेटिए, उनीहरूले नागरिकता पाए। टेक अहिले फुपूको नागरिकता समयमै नबनाएकोमा पछुतो गर्छन्।

‘त्यसै बेला बनाएको भए राज्यले दिने सेवा केही पाइन्थ्यो कि! अहिले त वृद्धभत्ता पनि पाइन्छ। नागरिकता नहुँदा यतिका वर्ष त्यसबाट वञ्चित हुनुभयो।’ उनले भने।

साइपालवासीलाई नागरिकता बनाउन त्यति सजिलो छैन। पैदल हिँडेर नै चार÷पाँच दिनसम्म लाग्ने सदरमुकाम ओहोरदोहोर गर्दा प्रतिव्यक्ति रु ३० हजार खर्च हुन्छ।

खर्च र समयका कारण पनि केहीले नागरिकता लिन ढिलाइ गरेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुँइकेल बताउँछन्।

प्रमुख जिल्ला अधिकारी भन्छन्, ‘सात दशकसम्म पनि नागरिकता नपाएको भन्ने खबर सुनेपछि घरमै गएर पनि नागरिकता दिनुपर्छ भन्ने सोचेँ। त्यसका लागि हिँडेरै भए पनि साइपाल जाने तयारीमा थियौँ। सौभाग्यवश, साइपालमा जलविद्युत् उत्पादनको तयारी गरिरहेको कम्पनीको हेलिकोप्टर आयो। त्यसैमा गएर नागरिकता प्रदान गर्‍यौँ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .