ad ad

सुदूरपश्चिम


भक्कानिँदै बिताइन् विपिनकी आमाले एक वर्ष, बहिनीको याचना- तिहारअघि दादालाई फर्काइदिनुस्

‘सरकारको आशा गर्दा गर्दा पनि केही पत्ता लागेन’
भक्कानिँदै बिताइन् विपिनकी आमाले एक वर्ष, बहिनीको याचना- तिहारअघि दादालाई फर्काइदिनुस्

गोकुल जोशी
असोज २१, २०८१ सोमबार १९:१२, कञ्चनपुर

‘पोहोर सालको दसैँ पनि छोरा बिना बित्यो, यो सालको पनि त्यस्तै!,’ भक्कानिँदै उनी भन्छिन्, ‘सरकारको आशा गर्दा गर्दा पनि केही पत्ता लागेको छैन।’ 

जतिबेला मोबाइलको घण्टी बज्छ, उनी उत्साहित हुन्छिन्। अपरिचित नम्बरबाट फोन आए हत्तपत्त उठाइहाल्छिन्, छोराकै हो ठानेर।

छोराको आवाज नसुनेपछि उनको आसुँ थामिदैनन्। 

इजरायलबाट प्यालिस्टिनी बिद्रोही समूह हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीकी आमा पद्मा एक वर्षदेखि यस्तै अवस्थामा छिन्। 

विपिनलाई हमासको बन्धकमा परेको एक वर्ष पूरा भएको छ। तर उनको अवस्था अझैसम्म पत्ता लाग्न सकेको छैन। 

‘सिक्दै कामाउँदै’ कार्यक्रममा इजरायल गएका विपिन वि.सं. २०८० असोज २० गते शनिबारदेखि परिवारको सम्पर्कमा छैनन्।

हमासको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थी मारिए। कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका विपिनलाई हमासले लगेको थियो। 

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थी ०८० भदौ अन्तिम साता इजरायल गएका थिए। 

विपिनले ०८० असोज १९ गते शुक्रबार आमासँग कुराकानी गरेका थिए। मिसाइल आक्रमण भइरहने सुनेकाले आमा चिन्तित थिइन्। अर्को दिन शनिबार दाइ किशोरसँग पनि विपिनले भिडिओ कलमा कुरा गरेका थिए। त्यसपछि विपिन सम्पर्कमा छैनन्। 

त्यसै दिनदेखि इजरायलमा आतंककारी हमालामा १० नेपाली विद्यार्थीले मृत्युवरण गर्नुपर्‍यो। 

आतकंकारीले गोली बर्साउँदा विपिन साथीभाइसँगै थिए। पहिलोपटक प्रहार गरिएको बम विपिनले समातेर बंकरभन्दा बाहिर फालेका थिए। दोस्रोपटकको बम भने बंकरमै विस्फोट भएको थियो।

हमास लडाकुले फ्याँकेको ग्रिनेड फालेर अन्य साथी जोगाउने विपिनलाई बन्धक बनाएर लगेका थिए।

एक वर्षको अवधिमा हमासको बन्धकबाट मुक्त गराएर छोराको घर फिर्तीका लागि परिवारले कयौँ पटक राजदूत, मन्त्री, प्रधानमन्त्री देखि राष्ट्रपतिसम्मलाई भेटेर याचना गरिसके। तर अहिलेसम्म उनीहरूले रिहाइको आश्वासन मात्रै पाएका छन्। 

‘अहिलेसम्म छोराको कुनै समाचार पाइएको छैन। साह्रै दुःख लागेको छ, हाम्रो पीडामा सरकारले पनि ध्यान दिएन, के उ नेपालको नागरिक होइन र?,’ विपिनकी आमा पद्मा भन्छिन्, ‘पहल गर्छौँ भन्ने आश्वासन मात्रै पायौँ। पहल भयो कि भएन? अब त हामी विश्वास पनि गर्न सक्दैनौँ।’

केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि विपिनको परिवारले काठमाडौँ भएर प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजू राणालाई भेटेका थिए।

त्यसअघि विपिनको परिवारले राष्ट्रपति रामचन्द्र पौडेल, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, एनपी साउद लगायतलाई भेटेका थिए।

त्यसबेलाका प्रधानमन्त्री पुष्पकमल दाहाललाई त उनीहरुले कयौँ पटक भेटिसकेका थिए। मन्त्रीदेखि प्रधानमन्त्री र राष्ट्रपतिसम्म उच्चपदस्थ व्यक्ति सबैसँगको भेटमा  विपिनका अभिभावकको एउटै याचना हुन्छ, ‘हमासको बन्धकमा रहेका छोरा विपिनलाई रिहा गरेर स्वदेश फिर्ता ल्याउन सहयोग गरिदिनुहोला।’

४ महिनाअघि इजरायली राजदूत हनान गोडेरले भीमदत्त नगरपालिका–३ भाँसीमा पुगेर विपिनको परिवारसँग भेट गरेका थिए। उनले पनि रिहाइको आश्वासन मात्रै दिए। 

विपिनकी बहिनी पुष्पाले अघिल्लो तिहारमा भाइटीका लगाउन पाइनन्। यसपटकको तिहारअघि नै दाइ विपिनलाई रिहा गरेर सकुशल घर ल्याउन उनले याचना गरिन्।

‘निर्दोष नेपाली विद्यार्थी अझै बन्धकमा कति बस्नु पर्ने हो? गुहार माग्दा पनि अझै दादा मुक्त भएन,’ उनले भनिन्, ‘दादालाई यो तिहार भन्दा अघि नेपाल फर्काइदिनुस्, त्यहीँ आशा छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .