काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार दुर्घटनामा सर्लाही घर भएका २८ वर्षीय राज भट्टराईको मृत्यु भएको हो।
‘सर्लाहीको शान्ति टोल भन्ने खुलेको छ’, उनले भने, ‘अहिलेसम्म स्थानीय तह खुलेको छैन।’
आज बिहान साढे ७ बजे बा ३ ख ४१४८ नम्बरको बसले पेप्सीकोला छाप्रो भन्ने स्थानमा बा ६ च ५३४२ नम्बरको पिकअप, बा. प्र–०२–०३७ प ४३११ नम्बरको स्कुटर र बा. प्र–०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकललाई एकसाथ ठक्कर दिएको हो।
भट्टराई बा. प्र ०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकलमा सवार थिए।
दुर्घटनामा अन्य ५ जना घाइते भएका छन्। जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको उनले बताए।
उनका अनुसार दुर्घटनामा काभ्रे कोशीपारि घर भई हाल मूलपानी बस्ने वर्ष २५ की स्वस्थानी खड्का र दोलखा घर भई हाल हरहरमहादेव बस्ने वर्ष २५ की उषा थापा गम्भीर घाइते भएका हुन्। उनीहरूले बोल्न सक्ने अवस्थामा छैनन्।
यस्तै दुर्घटनामा दोलखा भीमेश्वर नगरपालिका घर भई हाल इमाडोल बस्ने वर्ष ५२ का कुमारबहादुर खाती, उदयपुर गाईघाट घर भई हाल काँडाघारी बस्ने वर्ष २३ की कल्पना विक र मकवानपुर घर भई हाल पेप्सीकोला बस्ने वर्ष १९ की रमिता प्रजा सामान्य घाइते भएका छन्।
घाइतेहरूको उपचार वीर र सिभिल अस्पतालमा भइरहेको उनले जानकारी दिए।
Shares
प्रतिक्रिया