ad ad

बागमती


बागमतीमा सरकार र प्रतिपक्षी दलहरूबीच जुट्यो सहमति

बागमतीमा सरकार र प्रतिपक्षी दलहरूबीच जुट्यो सहमति

नेपालखबर
असोज ६, २०८१ आइतबार १३:५, मकवानपुर (हेटौंडा)

बागमती प्रदेशमा सरकार र प्रतिपक्षी दलहरूबीच सहमति जुटेको छ। आइतबार (आज) प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको सरकारी निवासमा बसेको सर्वदलीय बैठकमा सहमति जुटेको हो।

आइतबार बिहान ९ बजेदेखि सुरु भएको बैठकमा करिब ३ घण्टा लामो छलफलका क्रममा सरकार र प्रतिपक्षी दलहरूबीचमा सहमति जुटेको हो। 

सरकारको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आज बस्ने प्रदेश सभा बैठक अवरोध गर्ने बताउँदै आएको थियो। सदनको संकट टार्न मुख्यमन्त्री लामाले आज बिहान सर्वदलीय बैठक आव्हान गरेका थिए। 

बैठकमा विपक्षी दलहरूको माग पूरा गर्ने सहमति भएको माओवादी बागमती प्रदेशका सचेतक रत्न ढकालले बताए। 

उनका अनुसार बजेट बनाउँदा सत्ता पक्ष र विपक्षीहरूबीच भएको लिखित सहमति कार्यान्वयन हुने भएको हो। बजेटको असन्तुलनलाई कसरी सन्तुलित बनाउने? सरकारले विपक्षी दलहरुको मागलाई कसरी सम्बोधन गर्ने? लगायतका विषयमा छलफल र सहमति भएको सचेतक ढकालले बताए।

‘उतिबेलाको सरकार पक्ष हाल प्रमुख प्रतिपक्षी दल भैरहँदा र प्रतिपक्षी दल सरकारमा आउँदै गर्दा जस्तो सहमती भयो त्यसलाई कार्यान्वयन गर्नुपर्छ भन्ने हाम्रो माग थियो,’ उनले भने, ‘उक्त माग सम्बोधन गरेर जाने भन्ने लिखित सहमति भयो। सरकारले आफ्नो विधि, विधान र मापदण्ड भन्दा बाहिर गएर चल्न भएन भन्ने हाम्रो कुरा हो। उहाँहरुले यसलाई सकारात्मक रुपले लिनुभएको छ।’

सचेतक ढकालका अनुसार आज बस्ने प्रदेश सभा बैठक सौहार्दपूर्ण वातावारणमा सञ्चालन गर्ने भन्ने समेत सहमति भएको बताइएको छ।

आज बस्ने प्रदेश सभा बैठकमा विभिन्न तीन वटा विधेयकमाथि पूर्ण छलफल गराई पारित गर्ने तयारी रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रदेश सभा अन्तरगत रहेको विभिन्न समितिमा उक्त तीनवटा विधेयकमाथि पूर्ण छलफल गरी संशोधनसहित प्रतिवेदन प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ।

बागमती प्रदेश सभाको बैठक यसअघि गत साउन १५ गते बसेको थियो। सो बैठकबाट दुई वटा विधेयक पारित गरी अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो। बैठक आज दिउँसो १ बजे बस्दैछ।

बैठकमा प्रदेश सभामा रहेका ७ दलहरुमध्ये नेपाल मजदुर किसान पार्टी बाहेक ६ वटै दलका नेताहरूको उपस्थिती रहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .