ad ad

बागमती


प्रतिकिलो हजार पाउने लोभले गाँजा बोकेर भारत जाँदै गर्दा...

प्रतिकिलो हजार पाउने लोभले गाँजा बोकेर भारत जाँदै गर्दा...

बरामद गाँजासहित समातिएका युवक।


सुनिता विष्ट
बैशाख ५, २०८१ बुधबार १४:२२, हेटौँडा

बुधबार बिहानै पिठ्यूँमा बोरा बोकेर हिँडिरहेका ७ युवकलाई पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा नेपाली सेनासहितको टोलीले घेरा हाल्यो।

मकवानपुरको मनहरी गाउँपालिकामा पर्ने उक्त निकुञ्जको बाटोमा शंकास्पद अवस्थामा भेटिएका उनीहरू भाग्न खाजे तर सफल भएनन्।

निकुञ्जको टोलीले खानतलासी गर्दा बोराभित्र लागुऔषध गाँजा रहेछ।

जिल्लाकै राक्सिराङ गाउँपालिकाबाट मंगलबार राति नै गाँजा बोकेर हिडेँका उनीहरू बुधबार बिहान नेवारपानीको बाटो पार गर्दै गर्दा मध्यवर्ती क्षेत्रमा पर्ने माथिल्लो मसिने भन्ने स्थानमा समातिए। भारततर्फ हिँडेका उनीहरू बीच बाटोमै सुरक्षाकर्मीको फन्दामा परे।

उनीहरूले प्रहरीसमक्ष आफूहरू भरिया मात्र भएको बयान दिएका छन्। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार उनीहरूले गाँजा लिएर भित्री बाटो हुँदै आफूहरू भारत जान लागेको बताएका छन्।

प्रारम्भिक अनुसन्धानले ती युवकले प्रतिकिलो हजार रुपैयाँका दरले ज्याला लिने सर्तमा गाँजा भारत पुर्‍याउने जिम्मा लिएको देखाएको छ। 

राक्सिराङको सरिखेतबाट तस्करले गाँजा खरिद गरेर नेपाल-भारत सीमामा पर्ने स्वर्णपुर गाउँमा पुर्‍याउन उनीहरूलाई भरिया बनाएको पाइएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।

उनीहरूको साथबाट १ सय ५० किलोग्राम गाँजा बरामद भएको छ। 

बरामद गाँजा

गाँजासहित पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-३ का सुरेश चेपाङ, राक्सिराङ-७ का १९ वर्षीय टीकाराम चेपाङ, कैलाश गाउँपालिका-४ का २८ वर्षीय बमबहादुर चेपाङ, २७ वर्षीय हरिकुमार चेपाङ, कैलाश गाउँपालिकाकै २७ वर्षीय वीरमान चेपाङ, मनहरी गाउँपालिका-४ का ४४ वर्षीय रामहरी लुइँटेल र मनहरी गाउँपालिका-५ का ३६ वर्षीय दीपक थापा मगर छन्।

उनीहरूबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .