बागमती


चितवनमै छन् कतारलाई दिने भनिएका २ हात्ती, भाइरल भिडिओ ‘फेक’

चितवनमै छन् कतारलाई दिने भनिएका २ हात्ती, भाइरल भिडिओ ‘फेक’

भाइरल भिडिओमा देखाइएका ट्रकमा रहेका हात्ती र चितवनमा रहेका हाम्रा दुई हात्ती।


सुनिता विष्ट
बैशाख १३, २०८१ बिहिबार १२:७, हेटौँडा

नेपाल भ्रमण सकेर कतारका अमिर (राजा) शेख तामिम बिल हमाद अल थानी स्वदेश फर्किएलगत्तै सामाजिक सञ्जालमा दुईवटा हात्तीलाई ट्रकमा चढाउँदै गरिएको भिडिओ भाइरल भइरहेको छ।

भाइरल भिडिओमा दुवै हात्ती एउटा टुलमा टेक्दै ट्रकको ट्रलीमा उक्लिएको देखिन्छ।

जसलाई नेपालले कतारलाई उपहार दिएका रुद्रकली र खगेन्द्रप्रसाद नामका दुई हात्ती भनिएको छ। 

उक्त दृश्य देखेर धेरै नेपाली भावुक भइरहेका छन्।

तर वास्तवमा ती हात्ती नेपालले कतारलाई उपहार घोषणा गरेका हात्ती होइनन्। 

चितवन राष्ट्रिय निकुञ्जमा रहेका ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ अहिले आफ्नै ठाउँमा रहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए। 

‘हात्ती लाने प्रक्रिया सुरु भएकै छैन’, सूचना अधिकारी तिवारीले बिहीबार बिहान नेपालखबरसँग भने, ‘त्यो हात्ती हेर्दा नेपालको हात्ती नै होइन। सबैले सामाजिक सञ्जालमा सेयर गरिरहनुभएको मैले पनि देखेँ। कतार पठाउने भनिएका रुद्रकली र खगेन्द्र चितवनमै छन्।’

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रीनाथ ढुंगानाले पनि उपहारका हात्ती कतार पठाउने कानुनी तथा प्राविधिक प्रक्रिया पूरा भइनसकेको बताए। 

‘सोल्टी होटलमा भएको द्विपक्षीय वार्तामा हात्ती उपहारको सम्झौता एजेन्डासमेत बनेन’, प्रवक्ता ढुंगानाले नेपालखबरसँग भने।

मन्त्रालयका अनुसार हात्ती दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) को अनुसूचीमा सूचीकृत छ।

सो महासन्धिमा नेपालले पनि हस्ताक्षर गरेको छ।

कतारलाई हात्ती पठाउन साइटिसले पनि सिफारिस गर्नुपर्छ। वन मन्त्रालयका अनुसार त्यहाँबाट पनि कुनै सिफारिस आइपुगेकै छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .