ad ad

बागमती


उद्धारको पर्खाइमा गुरुकूलका ३३ जना

उद्धारको पर्खाइमा गुरुकूलका ३३ जना

कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकूल


नेपालखबर
असोज १२, २०८१ शनिबार १७:७, काठमाडौँ

सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकूलका ३३ जना नदीको बीचमा फेसका छन्। गुरुकूलका २६ बटुक (विद्यार्थी), तीन शिक्षक, दुई कर्मचारी र दुई जना मन्दिरका पुजारी शुक्रबार रातिदेखि बाढीमा फसेका हुन्। 

सुनकोशी नदीमा जलसतह बढेर मन्दिरसम्म पुगेर रोशीखोलाले मन्दिरको दुवैतर्फबाट च्यापेकाले कतै भाग्ने अवस्था नरहेको गुरुकूलका शिक्षक नारायण घिमिरेले बताए। बिहीबारदेखि परेको अविरल वर्षासँगै सुनकोशी र रोशी नदीमा आएको बाढीले मन्दिरको चारैतिर च्यापेपछि सुरक्षित स्थानमा जान नसकिएको उनले उल्लेख गरे। ‘अहिले हामी गुरुकूलको माथिल्लो तलामा छौँ। कतैबाट उद्धारको पहल भएको छैन,’ उनले भने। 

विपद् व्यवस्थापनका सबै संयन्त्रमा खबर गरी उद्धारको प्रयास भए पनि अहिलेसम्म उद्धार गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले बताए। ‘हामी उहाँहरुको उद्धारका लागि प्रयास गरिरहेका छौँ। गएराति पर्ख र हेर भन्ने बाहेक कुनै विकल्पले काम गरेन’, उनले भने।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द काफ्लेले मन्दिर परिसरमा बाडीमा फसेका ३३ जनालाई उद्धार गर्न स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी शुक्रबारदेखि पहल गरिरहेको जानकारी दिए। 

‘यहाँबाट उद्धारमा खटिएको टोलीले उहाँहरुको अहिलेसम्म उद्धार गर्न नसरहेको छैन। काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर झिकाउने पहल भइरहेको छ’, उनले भने, ‘अहिले मौसम प्रतिकूल भएकाले हेलिकप्टर पनि आउन सकेको छैन। मौसम अनुकूल हुने वित्तिकै हेलिकप्टर उडानमार्फत उद्धार हुन्छ।’

रोशी र सुनकोशी नदीमा आएको बाढीले सुनकोशी गाउँपालिका–५ मुल्कोट, रगोलञ्जोर गाउँपालिका–७ खुर्कोट बजार डुबानमा परेका छन्। साथै दुम्जाका पाँच घर बगाएको छ। दुम्जा र नेपालथोक बीचमा एक सय मिटर बिपी राजमार्ग बाढीले बगाएपछि शुक्रबारदेखि आवतजावत बन्द भएको प्रमुख प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए।

सुनकोशी, कमला र बागमती नदीले खतराको तह पार गरेका छन्। अविरल वर्षा भइरहेकाले बाढीपहिरोको जोखिम बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित र सर्तक रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .