बागमती


चार दिनपछि मेलम्चीको पानी काठमाडौँमा

चार दिनपछि मेलम्चीको पानी काठमाडौँमा

रासस
पुस २७, २०८० शुक्रबार १४:१२, काठमाडौँ

बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ। अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनः काठमाडौँमा पथान्तरण गरिएको छ। 

यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएअनुसार बुधबार साँझदेखि काठमाडौँका लागि पानी पथान्तरण गरिएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए। 

उनले भने, ‘निर्माण व्यवसायीको माग सम्बोधन गरेर मेलम्चीको पानी काठमाडौँ पथान्तरण गरिएको छ, २७ किलोमिटर लामो सुरुङमा आधाजति पानी रहेकाले अबको चार दिनमा मेलम्ची खोलाको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पुग्नेछ।’

करिब २८ दिनको कार्ययोजनासहित पानी पथान्तरणको काम सुरु गरिएको भए पनि २१ दिनमा हेलम्बुदेखि सुन्दरीजल पानी पथान्तरण गरिएको उनले बताए। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले आगामी माघ १ गतेदेखि काठमाडौँ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको जनाइएको छ। 

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिए। आयोजनाले अम्बाथानको २१ नम्बर गेट, पानी पथान्तरण गर्ने ९ नम्बर गेट र १ नम्बर गेटको मर्मत गरेर बुधबार साँझदेखि काठमाडौँका लागि पानी पठाइएको सिनियर डिभिजनल इन्जिनियर कुँवरले बताए। 

उनका अनुसार बाढीले क्षति बनाएको संरचना निर्माण गर्न निर्माण व्यवसायीले दैनिक ४५ जनाभन्दा बढी कामदार र आवश्यक मेसिन परिचालन गरेको थियो। खानेपानीमन्त्री महिन्द्रराय यादवले पुस अन्तिमसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने घोषणासमेत गरेको थियो। मेलम्चीको पानी तत्काल काठमाडौँ ल्याउन मन्त्री यादवले तीनपटक स्थलगत अनुगमनसमेत गरेका थिए। 

बाढीका कारण रोकिएको पानी काठमाडौँ ल्याउन मन्त्री यादवसहित खानेपानी सचिव सुरेश आचार्य र मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक अन्सारी सक्रियरुपमा लागेको मन्त्री यादवका स्वकीय सचिव टङ्क धमलाको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .