ad ad

ब्लग


जब चन्द्रागिरि उकालोमा हामी चढेको गाडी चिप्लिँदै भीरमा पुग्यो...

जब चन्द्रागिरि उकालोमा हामी चढेको गाडी चिप्लिँदै भीरमा पुग्यो...

जनार्दन पोखरेल
साउन २५, २०८० बिहिबार १६:२२, सर्लाही

‘भोलि बिहानै सर्लाही जानुपर्ने भयो भाइ’, मंगलबार राति सुत्नुअघि भाइ सरोज पौडेललाई काठमाडौंबाट घर फर्किने योजना सुनाएँ। 

उनले ‘यस्तो बर्खाको बेला छ, पानी पर्न रोकिएको छैन। मोटरसाइकलमा जान गाह्रो होला, अलि उघ्रिएपछि जाँदा हुँदैन दाजु?’ भने। 

‘यताको काम पनि केही दिन ढिला हुने भयो। दुई/तीन दिनमा फेरि काठमाडौं फर्किनुपर्ने छ। भोलि जसरी पनि जानुपर्ने भयो’, मैले आफ्नो निष्कर्ष भाइसँग ‘सेयर’ गरेँ। 

केही वर्षयता काठमाडौं-सर्लाही गनुपर्दा मैले प्रायः मोटरसाइकल प्रयोग गरिरहेको छु। केही दिनअघि मात्रै म मोटरसाइकल लिएर पानीमा रुझ्दै काठमाडौं गएको थिएँ।

मनसुन पूर्ण रूपमा सक्रिय भएका बेला मोटरसाइकलको यात्रा झन् गाह्रो होला कि भन्ने लागिरहेको थियो। 

अस्ति भर्खर काठमाडौं आउँदा पनि कतिपय ठाउँमा झरी र हिलोको सामना गर्नुपरेको पीडा ताजै थियो। बर्खाका बेला मोटरसाइकलमा काठमाडौं-सर्लाही आवतजावत गर्दा यसअघि पनि सास्ती बेहोर्नुपरेका थुप्रै अनुभव छन्। 

त्यही सोचेर यसपटक टाटासुमोमा जानुपर्ला भन्ने लाग्यो। उता गएपछि तुरुन्तै फर्किहाल्नुपर्ने छ, किन मोटरसाइकलमा सास्ती बेहोर्नु भन्ने सोचेँ। 

‘लगातार झरी परिरहेको छ। यसपटक मोटरसाइकलमा जान्नँ, बरु गाडीमा जान्छु’, मैले सरोज भाइलाई भनेँ।

उनी मोबाइल निकालेर सिमराको उडान तालिका हेर्न थाले। 

‘भोलि (२४ साउन) का लागि त काठमाडौं-सिमराका झण्डै एक दर्जन हवाई उडान रै’छन् दाजु, यतातिर पो सोच्ने हो कि’, उनले सोधे। 

अनलाइनमा हेर्दा काठमाडौंबाट घर जान सबैभन्दा सस्तो टिकट सिमरा (विमानस्थल) नै पर्ने रहेछ- ३ हजार ५ सय रुपैयाँ। 

भाइले सिमरापछि काठमाडौं-जनकपुरको हवाई उडान तालिका पनि हेरे। त्यता पनि बुधबार दिनभर उडान हुनेरहेछ। तर, जनकपुरको टिकटदर सिमराको भन्दा महँगो रहेछ। 

मोटरसाइकलमा सस्तोमा यात्रा गर्न बानी परेको मलाई हवाईजहाजले आकर्षित गर्ने कुरै भएन।

त्यसो त हवाईजहाज चढेर सीधै सर्लाही पुगिने पनि होइन,  सिमरा वा जनकपुर विमानस्थल झरेर फेरि कम्तीमा २ घण्टा गाडी यात्रा गर्नैपर्छ।त्यसैले सर्लाही-काठमाडौं यात्रा गर्दा हवाईजहाज हाम्रो रोजाइभित्र पर्दैन।

अहिले तराई/मधेशलाई काठमाडौ‌ंसँग जोड्ने धेरैवटा सडकमार्ग बनिसकेका छन्। बर्दिबास-सिन्धुली-बनेपाबाहेक राजधानी छिर्ने प्रायः वैकल्पिक सडक गए/गुज्रेका भए पनि छोटा भने छन्। जोखिम मोल्न परे पनि चाँडै गन्तव्यमा पुगिन्छ।

यी सडकमा टाटासुमो चल्न थालेयता काठमाडौ‌ं-सर्लाही यात्राका लागि पहिला-पहिलाजस्तो रात्रि बस चढेर मुग्लिन-नारागणगढ-हेटौँडा-पथलैया हुँदै ३२० किमि दूरी नै पार गर्नुपर्ने बाध्यता अहिले छैन। 

तराई/मधेशका हामीजस्ता धेरै नागरिकले काठमाडौं आवतजावत गर्नुपर्दा वैकल्पिक सडक प्रयोग गर्न थालेपछि राजधानी प्रवेश गर्ने मुख्य मार्ग नारायणगढ-मुग्लिन सडकमा सवारीसाधनको चाप निकै घटेको छ। यसले पश्चिम नेपालबाट राजधानी ओहोदोहोर गर्ने यात्रुलाई थोरै भए पनि राहत भएको छ। 

नारायणगढ-मुग्लिन सडकको विकल्पमा बनाइएका सडकले तराई/मधेशका नागरिकको राजधानी यात्रालाई सहज र मितव्ययी पनि बनाएका छन्।

काठमाडौंबाट बनेपा-खुर्कोट-सिन्धुली-बर्दिबास हुँदै हरिवन (सर्लाही) पुग्दा २२० किमि, फर्पिङ-कुलेखानी-हेटौँडा बाटोबाट जाँदा १८५ किमि, काठमाडौंबाट ललितपुरको टीकाभैरव, नयाँगाउँ, झाँक्रीडाँडा, काल्चेभीर, ठिंगन, मकवानपुर गढी, हेटौँडा (कान्ति लोकपथ) भएर घर (हरिवन) पुग्दा १७५ किमि दूरी पार गर्नुपर्छ। मोटरसाइकलमार्फत काठमाडौं-सर्लाही गर्न थालेपछि मलाई यो हिसाब कण्ठै भएको हो। 

वैकल्पिक सडकमार्ग हुँदै अचेल दैनिक हजारौँ साना-ठूला सवारीसाधन आवतजावत गर्छन्। ती सडकका कारण गाउँगाउँका कृषि उत्पादन काठमाडौं पुर्‍याउन पनि सहज भइरहेको छ।

पूर्वी नेपाल र मधेश प्रदेशका धेरै नागरिक अहिले काठमाडौं आवतजावत गर्दा हत्तपत्त नारायणगढ-मुग्लिन सडक प्रयोग गर्दैनन्। काठमाडौं-तराई/मधेशका लागि धेरैवटा वैकल्पिक सडक भएकाले रोजीछाडी छ। 

तर, निरन्तर वर्षाले यतिबेला वैकल्पिक सडक सही सलामत अवस्थामा छैनन्। त्यसो त नारायणगढ-मुग्लिन सडक पनि मंगलबार दिनभरजसो पहिरोका कारण बन्द भएको थियो। यस्ताे सास्ती वर्षाैंदेखि भोग्न बाध्य छन्- यात्रुहरू। 

मंगलबार दिउँसो आफैँले ‘बाढीपहिरोले काठमाडौँ प्रवेश गर्ने सबै नाका अवरुद्ध’ शीर्षकमा नेपालखबरमा खबर पोस्ट गरेको थिएँ। बाटो बन्द भएका कारण बिचल्लीमा परेका यात्रुका तस्बिरले मिडिया र सामाजिक सञ्जाल भरिएको पनि देखेको थिएँ। 

तर, बुधबार बिहान उठ्दा काठमाडौँ उपत्यकामा झरी थिएन। मौसम धुम्म भए पनि पानी परेको थिएन। राति पनि ठूलो पानी परेनछ। मनमा एकखाले खुसी सञ्चार भयो- सजिलै सर्लाही जान पाइने भयो।

काठमाडाैं काँडाघारीस्थित मामाघरबाट मोटरसाइकल स्टार्ट गरेर थापाथलीतर्फ अघि बढेँ। अफिसको पार्किङमा मोटरसाइकल थन्क्याएर माइक्रो बस चढेर बल्खुतिर लागेँ। 

बल्खु ओर्लनासाथ टाटासुमोका चालक र टिकट काउन्टरका मान्छे ‘कता जाने सर’ भन्दै बाटो छेक्न आइपुगे। ‘झोला दिनूस्, छतमा राख्दिन्छु’ भन्दै माया गरेझैँ झोला तान्न थाले।

मैले ‘ब्याग छतमा होइन, साथमै राख्छु’ भनेँ। ब्यागमा ल्यापटप थियो। त्यसको सुरक्षा प्राथमिकतामा पर्ने नै भयो।

हेटौँडा-कुलेखानी-बल्खु सडक मंगलबार दिनभरजसो बन्दै थियो। 

बर्खाका बेला अन्य राजमार्गभन्दा तुलनात्मक रूपमा सुरक्षित मानिने बनेपा-सिन्धुली-बर्दिबास सडकसमेत बन्द भएको त्यस दिन फर्पिङ-फाखेल-कुलेखानी-भैँसे सडक खुला रहने त कुरै भएन।

अनेक जोखिम मोलेर भए पनि अचेल मैले धेरैजसो यात्रा गर्ने सडक यही बनेको छ।

‘ठाउँठाउँमा खसेका पहिरा हिजो साँझसम्म पन्छाइसके। अर्को पहिरो झरेन भने अब गाडी रोकिँदैन’, सुपर स्वरोजगार यातायात प्रालि लेखिएको बोर्डमुनि टिकटको ठेली हातमा लिएर एकजना टाटासुमो सञ्चालक यात्रुलाई भन्दै थिए। 

हिजो पहिरोले ठाउँठाउँमा अवरुद्ध सडकमा आजदेखि पुरानै गतिमा गाडी चल्न थालिसकेछन्। सहज ढंगले तराई झर्न पाइने भयो भन्ने लाग्यो। मनमनै खुसी भएँ। 

‘वेलकम सुमो सेवा प्रालि’को काउन्टरमा गएर सर्लाही जानुपर्ने छ, भाडा कति हो भनेर सोधेँ। टिकट काट्दै गरेका एकजना भाइ बोले, ‘हाम्रो गाडी हेटौँडासम्म मात्रै जान्छ। हेटौँडासम्मको ६ सय दिनूस् न।’ 

सुरुमै ६ सय भनेपछि ‘बार्गेनिङ’ गर्न उचित लागेन। केही दिनअघि मात्रै हरिवनबाट छोरोलाई काठमाडौं पठाउँदा लालीगुराँस टाटासुमोलाई १२ सय रुपैयाँ भाडा तिरेको थिएँ।

हेटौँडा पुगेपछि दुई/अढाई सय तिरेपछि हरिवन जाने हजार उपाय हुन्छन् भन्ने लाग्यो। ६ सय तिरेर सुपर स्वरोजगार यातायात प्रालिको टिकट लिएँ।

सिटका विषयमा एकछिन गलफत्ती चल्यो। सबैलाई झ्याल छेउकै सिट चाहिने, सकेसम्म पछाडि बस्न नखोज्ने। मैले पनि टिकट काट्ने भाइसँग पछाडि नबस्ने अडान लिएँ। उनले मलाई ड्राइभर पडाडिको ढोका छेउको सिट दिए। 

सबै सिट प्याक भएपछि ना. १ ज ७०७७ नम्बरको टाटासुमोले बुधबार बिहान साढे ७ बजे बल्खु छाड्यो। जसमा चालकसहित हामी १० जना थियौँ। 

फर्पिङ-फाखेल हुँदै हेटौँडा निस्कनुभन्दा चन्द्रागिरितर्फबाट मातातीर्थ हुँदै कुलेखानी निस्कन छिटो हुने भन्दै चालकले गाडी बल्खुबाट कलंकीतर्फ अघि बढाए। 

गुर्जुधाराबाट हाइवे छाडेर हामी सवार टाटासुमो मातातीर्थको उकालोतर्फ अघि बढ्यो। चित्लाङ वारि हुँदै  कुलेखानी निस्कने यो सडकबाट म पहिलोपटक यात्रा गर्दै थिएँ। नयाँ ठाउँ देख्न पाइने भयो भनेर मनमनै खुसी पनि थिएँ। 

हामी चढेको टाटासुमो मातातीर्थस्थित सशस्त्र क्याप हुँदै चन्द्रागिरिवारिको उकालोतर्फ लम्किँदै थियो। सशस्त्र प्रहरीको क्याम्पसम्म सडक ठिकै थियो। कतै ढलान, कतै ग्राभेल, सडक चौडा थियो। 

तर सशस्त्र क्याम्पभन्दा माथि सडकको अवस्था सन्तोषजनक रहेनछ। भर्खर खोलिएको ट्र्याकमा गाडी गुडाउन सुरु गरेजस्तो अवस्थाको सडकमा हाम्रो टाटासुमो हिलो छिचोल्दै चन्द्रागिरि डाँडो उक्लिँदै थियो। 

सडकमा सवारीसाधनको चाप खासै थिएन। हामी काठमाडौं खाल्डोको कंक्रिटको जंगलबाट प्राकृतिक जंगलतर्फ अघि बढ्दै थियौँ। 

अचानक धान रोप्न ठिक्क पारेको खेतजस्तो लेदोसहितको हिलाम्मे उकालोमा गाडी रोकिएजस्तो भयो। म चालकभन्दा ठीक पछिको सिटमा थिएँ। गाडी रोकिएजस्तो भएपछि चालकले गियर चेन्ज गरेजस्तो गरे। तर हामी सवार गाडी अगाडि होइन, पछाडि सर्न थाल्यो। 

साँघुरो एकतर्फी बाटो, दाहिनेतिर भीर अनि देब्रेतिर डरलाग्दो पहरो! किन गाडी ब्याक गरेको होला भन्ने लाग्यो।

अनि चालकलाई साेधेँ, ‘यो ओरालोमा गाडी किन ब्याक गरेको गुरुजी?’ 

‘गाडी ब्याक गरेको होइन, आफैँ चिप्लिएको हो’, चालकले भने। 

त्यसपछि मैले झ्यालबाट गाडीको चक्कामा चिहाएँ- घुमिरहेका थिएनन्, बरु गाडी सुस्तरी पछि सरिरहेको थियो। 

मभन्दा पछिल्लो सिटमा बस्ने एक यात्रु (पछि थाहा भयो- उनी सैनिक जवान दिनेश गिरी रहेछन्) ले आत्तिँदै भने, ‘गुरुजी! गाडी भीरनेर पुग्न लागिसक्यो!’

साँघुरो सडकमा झण्डै ७/८ फिटजति पछि सरेपछि गाडीले लिक छाडिसकेको थियो। त्यो भयानक दृश्य म म झ्यालबाट टुलुटुलु हेरिरहेको थिएँ।

तर धेरैजसो यात्रु गाडीको यो हालतबाट बेखबरजस्तै थिए, उनीहरू आआफ्नै धुनमा मस्त देखिन्थे। 

तर मैलेजस्तै ती सैनिक भाइले चाहिँ झ्यालबाट गाडीको पछिल्लो चक्का हेरिरहेका रहेछन्, उनी आत्तिएको देखेँ। 

अब पनि चुप लागेर गाडीमा बसिरहने हो भने मरिन्छ भन्ने लाग्यो। हातगोडा गले। ‘क्विक डिसिजन’ को खाँचो देखेँ।

अनि मैले चालकलाई ‘म झरेर ओट लगाउँछु है’ भनेँ। तर उनको अनुमति नकुरी म हत्तपत्त ढोका खोलेर गाडीबाट ओर्लें। गाडी पछाडि सरिरहेकै थियो। नजिकै झन्डै १५ किलोजतिको चेप्टो ढुंगो देखेँ। त्यसलाई तत्काल उठाएँ र गाडीको पछिल्लो चक्कामा ओट लगाइदिएँ। 

चिप्लिँदै पछि सरिरहेको गाडीको चक्का त्यसमा पर्‍यो र गाडी रोकियो। गाडीबाट झर्ने र ढुंगाको ओट लगाउने काम एक ढंगले बिजुली गतिमा गरिएको थियो। 

गाडी तलतिर चिप्लिन छाडेपछि चालकले आत्तिँदै सबै यात्रुलाई गाडीबाट ओर्लन भने। गाडीको दाहिनेतर्फको पछिल्ला चक्का भीरको डिलमा पुगिसकेका थिए। जुन चक्का मैले लगाएको ओटका कारण मात्र अडिएका थिए। 

त्यहाँबाट एक बित्ता मात्र पछि सर्नेबित्तिकै गाडी अक्करे भीरबाट गर्ल्यामगुर्लुम खस्ने निश्चित थियो। चालक नै आत्तिएको देखेपछि गाडीभित्रका यात्रु ओर्लन तँछाडमछाड गर्न थाले। 

गाडीबाट निस्केपछि मात्र अन्य यात्रुले गाडी, त्यही मैले राखेको ढुंगाका कारण भीरबाट खस्न जोगिएको पत्तो पाए। गाडीमा तीन महिला पनि थिए।  बाहिर निस्किएपछि उनीहरूले लामो सास तान्दै जिब्रो टोके। 

‘मैले ओट लगाएकाले गाडी तल खस्नबाट जोगियो’ भनेपछि एकजना दिदीले खुइय्य गर्दै मेरो हात समाउनुभयो। त्यसपछि पुरुष यात्रु मैले पहिल्यै लगाएको ओटलाई थप मजबुत गर्नतिर लागे। अब गाडीका चारवटै चक्काले ओट पाए। सबैले मृत्युको मुखमा पुगेर फर्किएको महसुस गर्‍यौँ। 

अनि सबैले आफ्ना झोला/सरसामान गाडीबाट धमाधम निकाल्न थाले। गाडी त्यहाँबाट खस्ने अनुमान गरेरै होला- कसैले पनि आफ्ना पोकापन्तुरा गाडीभित्र रहन दिएनन्।

अब चालक गाडीलाई त्यहाँबाट अघि बढाउने कोसिसमा लागे। तर, अहँ! हजार कोसिस गर्दा पनि उनले गाडी अघि बढाउन सकेनन्। 

यतिबेलासम्म सडकका दुवैतर्फ सवारीसाधनको लाइन लागिसकेकाे थियो। त्यहाँ जम्मा भएका धेरैजसो यात्रु ‘टाटासुमो झण्डै भीरबाट खसेछ’ भन्दै गफिन थाले। 

‍‍000

भाइ गोकर्ण चन्द्रागिरिमै पसल गर्छन्। सबैभन्दा पहिला उनैलाई फोन गरेर ठूलो दुर्घटनाबाट जोगिएको कुरा सुनाएँ। 

उनले ‘म मोटरसाइकल लिएर तपाई‌ंलाई लिन आउँछु है दाइ’ भन्यो। मैले ‘अहिले आउनु पर्दैन। आउनुपर्ने भयो भने पछि भन्छु है भाइ’ भनेर फोन काटेँ। 

सडक छाडेर भीरतिर लागेको गाडी निकाल्न हामीलाई झण्डै डेढ घण्टा लाग्यो। घ्यार्रघुर्र गर्दागर्दै गाडीको स्टार्ट नै बन्द भयो।

अब अक्करे भीरको डिलमा पुगेर रोकिएको गाडी स्टार्ट नै नहुने अवस्थामा पुग्यो। त्यसपछि त त्यहाँबाट गाडी निकाल्न झन् महाभारत भयो। 

घटनास्थलमा यात्रुहरूको भीड लाग्न थाल्यो। धेरै जनाको विभिन्न ‘आइडिया’ लगाएपछि बल्ल गाडी लिकमा ल्याउन सफल भयौँ। त्यो प्रयासमा लाग्ने सबै हिलाम्मे भए। 

त्यहाँबाट गाडी खसेको भए कम्तीमा पनि एक किमि तल नपुगी अडिने अवस्था थिएन। हामीले पछि घटनास्थलको अनुगमन गरेर यो अनुमान लगायौँ। 

ठूलो दुर्घटना हुनबाट जोगिएको गाडीलाई चालकले हिलोबाट निकालेर अलि सजिलो ठाउँमा ल्याए। अनि हामी पहिलाजस्तै पुनः आआफ्ना सिटमा बस्यौँ। गाडी त्यहाँबाट अघि बढ्यो। 

अघिसम्म एकअर्कासँग नबोली आआफ्नै धुनमा बसेका यात्रु अब भने एउटै परिवारका सदस्यजसरी हार्दिकतापूर्वक कुरा गर्न थाल्यौँ। धेरै यात्रुले मलाई स्याबासी दिए। सबैभन्दा पहिले गाडीबाट झरेर ओट राखेको भन्दै प्रशंसा गरे।

दाङ घर भई फास्टट्र्याक निजगढमा ड्युटी गर्ने सैनिक जवान दिनेश गिरी, हेटौँडाकी सविना श्रेष्ठ, धादिङका भीमसेन अधिकारीसहित हामीले मोबाइल नम्बर र घटनस्थलका तस्बिर/भिडिओ आदानप्रदान गर्‍यौँ। 

मैले चालकको नाम सोधेँ। उनी हेटौँडा पदमपोखरी घर भएका करण लामा रहेछन्। 

उनी ‘आज हामी ठूलो कालबाट जोगियौँ है’ भनिरहेका थिए। 

अघिसम्म चुपचाप गाडी चलाइरहेका चालक पनि अब हामीसँग खुलेर बोल्न थाले।

‘उकालो बाटोमा गाडी पछाडि चिप्लिन थालेपछि स्टेयरिङ घुमाएर गाडीलाई बरु भित्तातिर ठोक्काएको भए हुन्थ्यो नि गुरुजी! किन भीरतिर मोडेको’, मैले उनलाई सोधेँ। 

उनले गाडी ओरालोमा आफैँ चिप्लिएर पछि सर्न थालेपछि स्टेयरिङ, फुट ब्रेक, ह्यान्ड ब्रेक तथा एक्सिलेटर केहीले पनि काम नगरेको उनले सुनाए। 

बल्खुबाट प्रस्थान गरेको झण्डै ६ घण्टापछि हामी सकुशल हेटौँडा आइपुग्यौँ। अक्करे भीरमा धोका दिने त्यो टाटासुमोलाई हेटौँडामा छाडेर सैनिक जवान भाइ र म राजविराज जाने बस चढेर अघि बढ्यौँ। 

निजगढमा झर्दै गर्दा मैले ती सैनिक भाइलाई सोधेँ, ‘भाइ! काठमाडौं जाने यो फास्टट्र्याकको निर्माण कहिले पूरा होला?’

फास्टट्र्याक निर्माणको गतिलाई नजिकैबाट नियालिरहेका उनले भने, ‘सबै परिस्थिति मिल्दै गयो भने २०९० सालसम्ममा बन्ला कि!’

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .