एकेडेमिक करियर छनोट गर्नु अत्यन्तै महत्त्वपूर्ण र जटिल विषयसमेत हो। खासगरी एसईई सकिँदाको यो कलिलो उमेरमै मेरो भोलिको जीवन कस्तो हुनेछ भनेर परिपक्व निर्णय लिन सक्नु झन् कठिन हुन सक्छ। यो समय प्रायः विद्यार्थी अन्योल र दुविधाबाट गुज्रिएका पाइन्छन्।
यो समयमा केकस्ता जटिलता, अन्योल तथा दुविधा देखिन्छन् र यसले भविष्यमा केकस्ता समस्या देखापर्न सक्छन् त?
फेरि यो समय लिने निर्णय यति महत्त्वपूर्ण छ कि सही निर्णय लिन सकिएन भने भोलि पछाउनुपर्ने हुन्छ। खास जटिलता तब थपिन्छ, जब बच्चा सानै छ भनेर अभिभावकले उनीहरूको इच्छाविपरीत निर्णय लिइदिन्छन्। जसले विद्यार्थीहरूलाई उदेकलाग्दो कार्यक्रममा भाग लिँदाको जस्तो यातना महसुस गर्न बाध्य बनाउँछ।
यतिबेला सही निर्णय लिन सकिएन भने यसै कारणले धेरैले पढाइमा राम्रो गर्न सक्दैनन् भने कतिले बीचैमा छाड्ने गर्छन्। विषय परिवर्तन गर्न सक्नेले महत्त्वपूर्ण समय गुमाउँछन् भने त्यो पनि गर्न नसक्नेको एकेडेमिक करिअर नै बिथोलिन्छ।
यस्ता धेरै विद्यार्थीहरू मनोविमर्शमा आउँछन्, जसले म पढ्नका लागि मात्र पढिरहेको छु भन्नेजस्ता भावसमेत व्यक्त गर्छन्। आफू अगाडि बढिरहेको विषयमा उनीहरूलाई खासै रुचिसमेत हुँदैन।
अर्को ठूलो समस्या भनेको विद्यार्थीले लहलहैमा लागेर तथा रहरले विषय छनोट गर्नुलाई लिन सकिन्छ। यस्तो अवस्थामा लिएको निर्णयले पढाइप्रति इच्छाशक्ति नबढ्न सक्छ। साथीहरूले कुनै विषय पढे भनेर आफूले पनि त्यही विषयमा मन बसाल्छु भन्नु जोखिमपूर्ण हुन सक्छ वा व्यावहारिक नहुन सक्छ।
अर्कोतर्फ डाक्टर बन्छु, इन्जिनियर बन्छु भन्दैमा तिनका अन्तर्निहित विषयवस्तुमा आफूलाई रुचि छैन भने उपाधिले मात्र उत्साह दिन सक्दैन। आफूले सुरु गरिसकेको विषयमा निकै महत्त्वपूर्ण समय खर्चिसकेपछि आफूलाई उक्त विषयमा रुचि नभएको महसुस हुन्छ भने त्यसले ठूलो धर्मसंकट पैदा गर्छ।
यसै पनि आइडेन्टिटी क्राइसिसको भोगाइ अत्यधिक रहेको किशोरावस्थामा यसले जटिलतालाई अझ बढाइदिन्छ। म को हुँ, के गर्दै छु, कहाँ जाँदैछु जस्ता आधारभूत प्रश्नको प्रस्ट उत्तर छैन भने मानिसको व्यक्तिगत र सामाजिक जगमा निकै ठूलो धक्का पर्छ।
समाधान के त?
सबैभन्दा पहिलो महत्त्वपूर्ण कुरो भनेको विद्यार्थीको रुचि बुझ्नु हो। यस्ता अनेक रुचिहरू हुन्छन्, जसले विद्यार्थीको गुणलाई निर्धारण गर्दछ। उनीहरूको क्रियाकलाप, व्यवहार, आकर्षण, झुकाव आदि विषयलाई राम्रोसित विश्लेषण गर्ने हो भने कुनै एक निश्चित विद्यार्थीलाई कुन विषय उपयुक्त हुन्छ, सहजै पहिचान गर्न सकिन्छ।
यसमा फलानोलाई यो मनपर्छ भनेर निर्णय गरिदिने भन्दा पनि उनीहरूसँगै गहिराइमा गएर छलफल गर्दा उत्तम निष्कर्ष निस्कन्छ।
विश्वस्तरमा प्रमाणित संयन्त्रहरू (टुल्स) प्रयोग गरी मनोविदहरूको संलग्नतामा करिअर एसेसमेन्ट (परीक्षण) गर्दा निष्कर्ष अझ वैज्ञानिक निस्कन्छ। यसरी विद्यार्थीको वातावरणको विभिन्न आयामलाई केलाएर निर्णय लिइएको खण्डमा आन्तरिक प्रोत्साहनलाई बल मिल्छ, जुन बाह्य प्रोत्साहनभन्दा निकै सरल, प्रभावकारी र दीर्घकालीन हुन्छ।
निर्णय लिनुअघि आत्म अनुमोदन (सेल्फ इन्डोर्समेन्ट) लाई समेत बिर्सनुहुन्न। धेरै सामाजिक शोधकर्ताहरूले आत्मअनुमोदनको विषयमा अध्ययन गरेका छन्। कुनै व्यक्तिको लागि हामीले जति नै राम्रो निर्णय लिइदियौं भने पनि त्यसमा उनको भूमिका छैन भने त्यो निर्णय न उनलाई स्वीकार्य हुन्छ, न त्यसको सकारात्मक फाइदा देख्न सकिन्छ।
अर्कोतर्फ निर्णय त्यति राम्रो नभएर सामान्य मात्र हो भने पनि व्यक्तिले आफ्नै विवेकले लिएको हो भने त्यसमा निकै इमान्दारितासाथ लाग्छ भने बढी प्रभावकारी र उपलब्धिमूलक हुन्छ। सम्बन्धित व्यक्तिको स्वनिर्णय अर्काले लिइदिएको राम्रो निर्णयभन्दा कयौँ गुणा बढी प्रभावकारी र दीर्घकालीन हुन्छ। मनोवैज्ञानिकले समेत विद्यार्थीको आत्मअनुमोदन वा मन्जुरीबिना वैज्ञानिक प्रतिफल थोपर्ने हो भने त्यसले समेत काम नगर्ने सम्भावना प्रबल हुन्छ भनेका छन्।
मनोविदले समेत विद्यार्थीको मनोवृत्ति, झुकाव आदिलाई नियालेर काम गर्नुपर्ने हुन्छ। हरेक मानिसले आफूलाई ब्रह्माण्डको केन्द्रमा राख्छ। त्यो तिनको मूर्खता होइन, आत्मविश्वास हो। आत्मविश्वास डगमगाउने गरी दबाब वा प्रभावमा पार्ने हो भने त्यसले राम्रो भविष्य सुरक्षित गर्दैन।
तसर्थ, यस्ता निर्णय लिँदा वा निर्णय लिन सहयोग गर्दा विद्यार्थीलाई आत्मनिर्भर बनाउन तथा महत्त्वपूर्ण भूमिका दिन हामी चुक्नुहुँदैन।
उत्तीर्ण नहुँदा के गर्ने?
को सफल व्यक्ति हो र को असफल भन्ने सम्पूर्ण कुराको मापदण्ड एसईई नतिजाको अंक वा श्रेणी मात्र होइन। यस खालका धारणाले विद्यार्थीको कलिलो मस्तिष्कलाई दुर्घटनातिर डोर्याउन सक्छ।
यस्ता दुर्घटनाको पछाडि विद्यार्थीको मनोवैज्ञानिक अवस्था त रहन्छ नै, समाजले कस्तो वातावरण उनीहरूलाई बनाइदिएको छ, त्यसले पनि निकै ठूलो भूमिका निर्वाह गरेको हुन्छ।
एकातिर परिपक्व निर्णय लिने क्षमता विकास नभइसकेका कलिला बालबालिकालाई असफलताको पगरी भिराइदिने राज्यको असंवेदनशील नीति र अर्कोतिर बालबालिकाको मनोविज्ञानको विषयमा सामाजिक चेतनामा कमीजस्ता विषयले बालबालिकाको संवेदनशील मनमस्तिष्कमा नराम्रो असर पार्दछ।
अर्कोतिर कुनै बच्चा पढाइमा असफल हुनुको पछाडि अनेक कारणहरू हुन्छन्, जसलाई वैज्ञानिक माध्यमबाटै परीक्षण र पहिचान गरी वैज्ञानिक विधिबाटै समाधान गर्नुको विकल्प हुँदैन। फटाहा, ठग, अल्छी आदि शीर्षक भिराएर विद्यार्थीले सफलता हासिल गर्न सक्दैन। त्यसको लागि उचित संयन्त्र चाहिन्छ।
विकासशील मुलुकको तुलनामा विकसित मुलुकमा निकै थोरै मात्रामा विद्यार्थी असफल हुनुको कारण उनीहरूसँग भएको सम्पत्ति र सुविधा मात्र होइन, व्यवस्थापन पनि हो। धेरै पढ्नमा अल्छी भनिएका विद्यार्थीहरूमा स्फेसिफिक लर्निङ डिसअर्डर जस्ता विकासात्मक समस्यासमेत हुन्छन्, जुन अन्य जटिल विकासात्मक समस्याको तुलनामा सहजै नछुट्टिने तर विद्यार्थीलाई निकै अप्ठ्यारो पार्ने अवस्था हो।
यसमा गणित, हिज्जे, व्याकरण, हस्तलेखनजस्ता अनेक विषयमा जटिलता देखिन्छ। प्रायः विकसित मुलुकमा यस्ता समस्यामा सुधार ल्याउन अतिरिक्त सहयोग तथा समावेशी व्यवस्था गरिएको हुन्छ, जसले विद्यार्थीलाई जीवनमा अगाडि बढ्न सहयोग गर्छ। यस्ता कुराको यहाँ सर्वथा अभाव देखिन्छ। यस्ता विकासात्मक अवस्थाबाहेक स्कुल एन्जाइटी, टेस्ट एन्जाइटी, चाइल्डहुड सोसल एन्जाइटीजस्ता अनेक अवस्थाहरू हुन सक्छन्, जुन पहिचान नै गरिएको हुँदैन। असफलताको पगरीले मात्र यस्ता समस्या समाधान हुँदैनन्।
(मनोपरामर्शदाता शाह नेपाल एकेडेमी अफ साइकोलोजीसँग आबद्ध छन्।)
Shares
प्रतिक्रिया