ब्लग


म चाहन्छु– सूर्यजीसँगै नेपाली राजनीतिले जितोस्

म चाहन्छु– सूर्यजीसँगै नेपाली राजनीतिले जितोस्

सन्जय घिमिरे
फागुन २९, २०७७ शनिबार १३:३,

केही समयको अन्तरालपछि ‘टाढाबाट’ लेख्दै छु।

यो लेख्दै गर्दा भावुक त छु नै, अन्धो कति छु/छुइनँ, थाहा छैन।

मेरो अन्धोपन मेरा प्रिय लेखक खगेन्द्र संग्रौलाले बढी खुट्याउनुहोला, जो- मजस्ता बाहिरिएका नेपालीको ‘नेपाली सोच’लाई ‘भावयुक्त अन्धो राष्ट्रवाद’ देख्नुहुन्छ।

टाढाबाट लेख्न बसिरहँदा शिलापत्रमा संग्रौला सरले लेख्नुभएको ‘ज्यान विदेशमा, मन नेपालमा’ शीर्षकको लेख पनि सँगसँगै पढिरहेको छु। जसमा आदरणीय संग्रौला सरले लेख्नुभएको छ– ‘विदेशमा पुगेर फर्किने बाटो हराएको यो दुःखी नेपाली अझै आफ्नो दुःखमाथि दुःख थप्छ। यो अतिशय भावुकतायुक्त अन्ध राष्ट्रवादबाट पैदा हुने दुःख हो। ...म अब विदेशमै जीवन बिताउँछु भनी अठोट गरेर गइसकेपछि भुवामय भावुकतामा बहकिँदै किन यसरी रुनु?’

सही हो, म वा मजस्तै अरू नेपाली नेपालबारे बढी नै चिन्ता गरेर दुःखमाथि दुःख थपिरहेका छौं।

खगेन्द्र संग्रौला सरसँग म के तर्क गरूँ?

उहाँ सर्वज्ञ हुनुहुन्छ।

सर्वज्ञानी हुनु र भावुक हुनु, फरक कुरा हुन्।

मलाइ थाहा छ- म सर्वज्ञानी होइन, खासमा भावुक अज्ञानी हुँ। मैले नजानेका कुरा कति छन् कति, यो ब्रह्माण्डमा।

मैले जानेको कुरा सिर्फ यत्ति हो– म भावुक छु। मेरो मन कमजोर छ। मलाई मेरो मनले गलाउँछ। म मेरो मनसँग हार्छु। मलाई मेरो मनले हराउँछ। मलाई मेरो भावुकताले हराउँछ।

म सिर्फ मेरो भावुकता जान्दछु। अरू कसैको भावुकताको हिसाबकिताब गर्ने दैवीय शक्ति म बबुरोसँग कहाँ छ र?

म कमसेकम आफूबाहेक अरू कसैको मन र भावुकताको ठेक्का लिन सक्दिनँ।

म आफूबाहेक अरू कसैलाई यो बेला रोऊ र यो बेला हाँस भन्न सक्दिनँ।

रुने पनि एक्लै, आफैंभित्रबाट हो। र, हाँस्ने पनि सिर्फ आफैंभित्रबाट हो, म यत्ति जान्दछु।

कुन बेला ममा हाँसो आउँछ, कुन बेला आँशु आउँछ, ठेगान छैन। मेरो भावुकताको मै हिसाब राख्न सक्दिनँ।

केले मलाई रुवाउँछ, के ले हँसाउँछ? यसको पनि मसँग बहीखाता छैन।

कहाँ बसेर रुने वा हाँस्ने? यो पनि थाहा छैन।

रुवाइ र हाँसो त समय र संयोगले ल्याउने हो, थोडा ठाउँले हो र?

रुवाइ र हाँसो त विषय र परिस्थितिले ल्याउने हो, थोडा ठाउँले हो र?

खगेन्द्र सर, कृपया ! मेरो भावुकताको मलाई नै जिम्मा दिनुहोस्। मेरो भावुकतामा कमसेकम मलाई त भुवा भएर उड्न दिनुहोस्।

कहाँ बसेर रुने, के मा रुने, कति रुने वा हाँस्ने? कृपया यत्ति त मलाई नै छाड्दिनुहोस्।

खासमा म, केही दिनयता नेपालमा देखिएको राजनीतिक चित्र टाढाबाट कस्तो देखिइरहेको छ भन्ने लेख्न बसिरहेको थिएँ। कहाँबाट संग्रौला सरको लेख पढ्न पुगें। र, बिच्किएँ।

अब अलकति सम्हालिएर भनौं– नेपालको राजनीति दिनप्रतिदिन कुरूप बन्दै गइरहेको छ। टाढाबाट मैलै, नेपालको राम्रो चित्र देखिरहेको छैन।

कसले चित्रमा बेढङ्गका रङ पोतिरहेको छ? थाहा छैन। चित्र बिगार्ने रंगककर्मी को हुन्? यो पनि कसरी भनूँ?

यस्तो लाग्छ– आज कोही अदृश्य रूपमा नेपाली राजनीतिको विरूप चित्र बनाउन तल्लीन छ। र, नेपालका राजनीतिक नेताहरूले ‘ब्रस’ समाएका मात्र छन्, रङ अरू कसैको प्रयोग भइरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू माधवकुमार नेपाल वा प्रचण्ड, को बढी दोषी हुन्? योबीचमा क-कसले के के गल्ती गरे? टाढाबाट त्यत्ति जान्दिनँ। यो केलाउने क्षमता पनि मसँग छैन।

टाढाबाट म यत्ति जान्दछु– आज नेपालको राजनीति विरूप छ। विरूप- चित्रकारको भाषामा। चिकित्सकको भाषामा– मूर्छित।

नेपाली राजनीति आज यसै यो हदसम्म विरूप र मूर्छित भएको हो भन्ने मलाई लाग्दैन। यसमा केही न केही खेल, कतै न कतैबाट भइरहेको छ। खेलाडीलाई नै थाहा नहुन सक्छ, सिठ्ठी कसले बजाइरहेको छ?

तर मेरो विवेक भन्छ– सिठ्ठी अरू कसैले फुकिरहेको छ। र, नेपाली राजनीतिका खेलाडी, सिर्फ हार्ने खेल खेलिरहेका छन्।

मैले त टाढाबाट नेपाली राजनीति हेरि मात्र रहेको देखिरहेको छु।

मेरा एकताकाका मित्र सूर्य थापा प्रधानमन्त्रीका प्रेस सल्लाहकार हुनुहुन्छ। मलाई थाहा छैन, उहाँहरूले नेपाली राजनीति हारिरहेको बोध गरिरहनुभएको छ कि छैन?

म त चाहन्छु– मेरा मित्र सूर्यजीसँगै नेपाली राजनीतिले पनि जितोस्। मलाई गलेको, कोरोना लागेको नेपाली राजनीति हेर्न/सुन्न पटक्कै मन छैन।

मेरा लागि नेपाली राजनीतिमा पात्रभन्दा पनि समग्र कथा र त्यसको निष्कर्षको बढी अर्थ छ।

मित्र सूर्यजीहरूसँग मेरो यत्ति गुनासो हो– कथा र त्यसको निष्कर्ष किन यत्ति सारो कमजोर बनाउँदै हुनुहुन्छ?

किन यस्तो खेल खैल्दै हुनुहुन्छ– जहाँ नेपालको राजनीति हारी मात्र रहन्छ?

मलाई त हिजोआज तपाईंहरूमाथि कसैले खेलिरहेको छ कि भन्ने शंका छ, सूर्यजी!

नेपाली राजनीतिलाई यो हदसम्म हरुवाहरूको खेल बनाउने ताकत सानो छैन। नेपालको राजनीतिलाई यो हदसम्म मूर्छित बनाउने ठूलै ताकत हुनुपर्छ, जसले नेताका दिमागमा कोरोनाजस्तै कुनै भाइरस छिराइदिएको छ। यस्तो भाइरस, जसले अहंकार र हठ ह्वात्तै बढाइदिन्छ। र, दिमागलाई दिग्भ्रमित बनाइदिन्छ।

भगवानको कृपाले अधिकतर नेपाली, कोरोनाबाट जोगिएका छन्। तर दुर्भाग्य ! नेपाली राजनीतिमा कोरोना छिरेको छ। नेपाली राजनीतिलाई कोरोनाले गलाएको छ।

हेर्नुस् त, २ वर्षअघि जब नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी बन्यो र झन्डै दुईतिहाइ बहुमतको सरकार बन्यो। त्यतिबेला भनिन्थ्यो– बीपी कोइरालापछिको शक्तिशाली सरकार।

यति छिट्टै यसरी त्यो दुईतिहाइ शक्ति छिन्नभिन्न होला भन्ने कल्पना कसले गरेको थियो र !

जे जसका कारण भयो, हामी सामान्यजनले देख्ने परिणाम हो। परिणाम राम्रो निस्किएन।

यसमा न ओलीगण वा अरू कुनै गणले हर्षबढाइँ गरेको, कमसेकम टाढाबाट कत्ति पनि राम्रो देखिएको छैन।

परिणाम खराब आएपछि त्यसको दोष मूल नेतृत्वले लिनुपर्छ।

प्रधानमन्त्री ओलीले दुईचोटि त देखादेखी हार्नुभयो। एकता गर्नुभयो, यो फेल खायो। प्रतिनिधि सभा विघटन गर्नुभयो, अदालतले उल्टाइदियो।

अहिले न एकता छ न दुईतिहाइको सरकार !

तैपनि मेरा मित्र सूर्यजीहरू किन संकोच मानिरहनुभएको छैन, मलाई थाहा छैन।

फेरि पनि भन्छु– म जान्दिनँ योबीचमा ककसले के के गल्ती गरे?

म टाढाबाट सिर्फ नेपाली राजनीतिको विरूप चित्र मात्र देखिरहेको छु।

मनुजबाबु मिश्रको चित्रमा हुने घोडाहरू होइन, म त गधाहरूको चित्र देखिरहेको छु। 

माफ गर्नुहोला, यो मेरो दृष्टि दोष हो भने।

अनि संग्रौला सर ! मैले टाढाबाट यत्ति चिन्ता गरें। मलाइ मेरो भुवामय भावुकतामा यत्ति त उड्न दिनुहोस्। इजाजत पाऊँ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .