ad ad

अपराध


१५ वर्षीया किशोरीको पछि लाग्दा ‘हनी-ट्रयाप’मा

१५ वर्षीया किशोरीको पछि लाग्दा ‘हनी-ट्रयाप’मा

उजिर कार्की
असार २४, २०७९ शुक्रबार ७:३६, काठमाडौँ

काठमाडौँका दीपक पाण्डे फेसबुकमा सामान्य चिनजान भएकी मनिषा परियारलाई भेट्न गत जेठ २४ गते कोटेश्वर पुगे। त्यसदिन सामान्य भेटघाट भयो। सँगै खाजा खाएर छुट्टिए। मनिषाले भनिन्, ‘भोलि म घर जान्छु, केही दिन अब हाम्रो भेट हुँदैन।’

तर, पर्सिपल्ट दीपकलाई फोन गरिन् र भनिन्, ‘म घर गइनँ, तपाईंलाई भेट्न चाबहिल आउँछु। ट्याक्सी भाडा तपाईंले तिरिदिनुपर्छ, अनि एउटा इयरफोन पनि किनिदिनुपर्छ।’

दीपक राजी भए। दिउँसो साढे ४ बजेतिर ओम हस्पिटल नजिकै उनीहरुको भेट भयो। दीपकले ट्याक्सी भाडा तिरे। नजिकै रहेको क्याफेमा खाजा खाए। 

त्यसपछि मनिषाले टाउको दुख्यो, आराम गर्छु, कोठा खोज्नु न भनिन्। त्यसपछि दीपकले ओम अस्पताल नजिकै पूर्वेली गेस्टहाउसमा एउटा कोठा बुक गरे। दुई वटा बेड भएको कोठामा उनीहरु बसे। 

केहीबेर छुट्टा छुट्टै बेडमा बसेर मोबाइल चलाए। पछि मनिषाको बेडमा पुगेर दीपकले टाउको मसाज गर्न थाले। करिब १५ मिनेट बसेर मनिषा गेस्ट हाउसबाट फर्किन्। उनीहरुको बीचमा शारीरिक सम्पर्क भने भएको थिएन। 

त्यहाँबाट फर्किएर मनिषाले फोन गरिन् र अब बलात्कारको मुद्दा लगाउने चेतावनी दिइन्। आफ्ना साथीहरुलाई दीपकसँग गेस्टहाउसमा बसेको सुनाइन्। उनीहरुबीच अब दीपकबाट रकम असुल्ने योजना बन्छ। त्यसपछि सुरु हुन्छन् दीपकका तनावका दिन। 

मनिषाको दाइ हुँ भन्दै फोन गर्नेले भन्यो, ‘म पोखरामा छु, बहिनीलाई के गरेको, तँलाई ठिक पार्छु।’ एकछिनमा दीपकको मोबाइलमा सन्देश आउँछ, ‘बलात्कारी पख् भरखर १५ वर्षको बच्चालाई होटलमा लगेर बलात्कार गर्ने? अब १४÷१५ वर्ष जेल जाँदा थाहा हुन्छ।’

भोलिपल्ट पत्रकार हुँ भन्दै एक जना महिलाले फोन गर्छिन्। उनैले दीपकको घर आफूलाई थाहा भएको बताउँछिन्। मुद्दा मिलाउने भए बौद्धको नयाँ बस्तीमा आउन भन्छिन्। पत्रकार बताउने महिलाले बोलाएको ठाउँमा दीपक पुग्छन्। 

नयाँ बस्तीको सडक छेउमा उनीहरुको भेट हुन्छ। त्यहाँ दीपकले गेस्टहाउसमा भेटेकी युवती, पत्रकार भन्दै फोन गर्ने अर्की युवती र गेस्टहाउसमा भेटेकी युवतीको मामा हुँ भन्ने अर्का पुरुष गरी तीन जनालाई दीपकले भेटे। 

त्यसपछि उनीहरु नजिकै रहेको क्याफेमा गएर गफ सुरु गर्छन्। युवतीसँगै आएका पुरुषले धम्क्याउन थाल्छन्, ‘तैँले बलात्कार गरिछस्। कि तँ मर्नुपर्छ, कि देश छाडेर भाग्नुपर्छ। केस मिलाउने भए २० लाख दिनुपर्छ, नत्र पल शाह कसरी फसेको छ, त्यही हालत हुन्छ।’

दीपकले २० लाख रुपैयाँ दिन नसक्ने बताउँछन्। ७ लाख रुपैयाँ घटीमा नमिल्ने भन्दै उनीहरुको कुरा टुंगिन्छ। उनीहरुले निमा लामाको खाता पठाउँछन् र त्यसमा रकम जम्मा गरिदिन भन्छन्। 

दीपकले त्यो खातामा पछि ५० हजार रुपैयाँ जम्मा गरिदिए। तर त्यो समूहले उनलाई धम्क्याउन छाडेन। 

टौदह घुम्न जाँदा फसे माइक्रो चालक
आनन्द खड्का उपत्यकाकै माइक्रो चालक हुन्। गत जेठ २० गते मनिषाले उनलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएकी थिइन्। त्यसपछि उनीहरुको कुरा हुन थाल्यो। म्यासेन्जर र मोबाइलमा उनीहरु कुरा गर्न थाले। 

आनन्दले उनको बसाइ र आफन्तको बारेमा सोधे। एक्लै बस्ने बताएकी मनिषाले थप कुराकानी गर्न कोटेश्वर बोलाइन्। त्यही दिन उनी कोटेश्वर पुगे। कोटेश्वरको पुलमुनि उनीहरुको भेट भयो। 

भेटघाटको क्रममा मनिषाले टौदह घुम्ने इच्छा सुनाइन्। आनन्दले पनि मोटरसाइकलको पछाडि राखेर बाटो लगाइहाले। धोबीघाट पुगेपछि मनिषाले बर्गर किनिमागिन्। आनन्दले चोभार पुगेर पानीपुरी खुवाए। टौदह नपुग्दै फेरि खाजा खान एउटा होटलमा पसे। मनिषाले आनन्दलाई त्यहाँ चुम्बन गरिन्। त्यतैबेलै उनको मोबाइलमा घण्टि बज्यो। फोनमा कुरा गर्दै मनिषा बाहिर निस्किन्। 

एकछिनमा ‘अब तँलाई फसाइदिन्छु’ भन्दै उनी त्यहाँबाट हिँडिन्। ‘तपाईंको नियत ठिक रहेनछ। मेरा आफन्तलाई भनेर ठिक पार्छु’ एकछिनमा फोन गरेर धम्क्याइन्।

केही समयपछि भिनाजु हुँ भन्दै अर्को नम्बरबाट फोन आयो। उनले पनि ‘मेरो सालीलाई के गरेको? तँलाई बलात्कार केसमा हालिदिन्छु’ भनेर फोन काटे।

त्यही दिन बेलुका फेरि मनिषाको दिदी हुँ भन्दै अर्की महिलाले फोन गरिन्। उनले कोटेश्वरमा भेट गर्न बोलाइन्। त्यसपछि कहिले दिदी र कहिले भिनाजु बताउने व्यक्तिले बलात्कारको मुद्दा लगाएर फसाइदिन्छु भन्दै आनन्दलाई धम्क्याउन थाले। 

जेठ २५ गते बेलुका ६ बजेतिर एक जना वकिल र एक जना पत्रकार बताउने व्यक्ति उनको घर नजिकै रेस्टुरेन्टमा पुगे। उनीहरुले केस मिलाउनुपर्छ भने। हामीसँग अरु मान्छे पनि छन् भन्थे। जेठ २९ गते समाजसेवी बताउने व्यक्तिले फोन गरे। ‘तपाईंले बलात्कार गर्नुभएछ। म सबै मिलाइदिन्छु, तपाईंले पीडितलाई पैसा दिनुपर्छ,’ ती व्यक्तिले भने। 

ललितपुरको नखिपोटस्थित एनएस खाजा घरमा यो समूहले बोलाएपछि आनन्द त्यहाँ पुगे। त्यहाँ टौदह गएकी युवती, पत्रकार बताउने युवती, वकिल र समाजसेवी बताउने दुई पुरुष पनि पुगेका थिए। त्यहाँ उनीहरुको बीचमा युवतीलाई पैसा दिनु पर्ने कुरा भयो। त्यसका लागि असार २ गते मीनभवनमा बोलाए। के कति रकम हुन्छ लिएर आउनु, मिलाउँला नभए फसाइदिन्छौँ भनेका थिए। 

पैसा लिन जाँदा लाग्यो हतकडी
असार २ गते डिकबहादुरले टेलिफोन गरेर आनन्दलाई मीनभवमा बोलाए। नआए फसाइदिने धम्की दिएपछि आनन्दले पनि हुन्छ आउँछु भनेका थिए। 

नभन्दै उनीहरुको सल्लाह अनुसार त्यहाँ जम्मा भए। तर आनन्द र उनीहरुको बीचमा कुरा हुन नपाउँदै प्रहरीले उनीहरुलाई पक्रियो। मीनभवनमा मनिषा, सञ्जीव दर्जी, निमा लामा, डिकबहादुर शर्मा पक्राउ परे। पासाङ लामा र निकिता केसीलाई तीनकुनेबाट पक्राउ गरियो। 

दीपक र आनन्दले उपत्यका अपराध महाशाखामा उजुरी गरिसकेका थिए। यो कुरा त्यो समूहलाई थाहा थिएन। यी दुई जनालाई फसाउनका लागि निमा लामा भिनाजु बनेका थिए। पत्रकार हुँ भन्ने निकिता केसी हुन्। सामाजिक काम गर्ने र वकिल हुँ भन्ने रमेश भनिने डिकबहादुर शर्मा रहेको खुलेको छ। यस्तै उनीहरुसँगै यस घटनामा संलग्न अरुमाथि पनि प्रहरीले आपराधिक लाभ सम्बन्धी कसुरमा मुद्दा चलाएको छ। 

उनीहरुविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएर थुनछेक बहस भइरहेको जिल्ला सरकारी वकिल कार्यालय प्रमुख गंगाप्रसाद पौडेलले जानकारी दिए। 

मुलुकी अपराध संहिताअनुसार आपराधिक लाभ सम्बन्धि कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .