ad ad

अपराध


न्युरोडका व्यापारीलाई ‘हनि ट्रयाप’ मा पार्ने युवती आफैँ फन्दामा

श्रीमानसँग मिलेर ५० लाखको बार्गेनिङ, साढे ३ लाख लिन जाँदा तीनजना समातिए
न्युरोडका व्यापारीलाई ‘हनि ट्रयाप’ मा पार्ने युवती आफैँ फन्दामा

उजिर कार्की
साउन ४, २०७९ बुधबार २०:५०, काठमाडौँ

सिन्धुपाल्चोकका २८ वर्षीय एक युवक पसलको उधारो रकम उठाउन असार १७ गते चाबहिल पुगेका थिए। न्युरोडका होलसेल व्यापारी उनी साँझतिर चाबहिलको जुत्ता चप्पल पसलमा पुग्दा एकजना ग्राहक भेटिइन्। उनी केहीबेरमै न्युरोडे युवा व्यापारीसँग नजिकिइन्। 

त्यहाँ उनीहरुको छोटो कुराकानी भयो। महिलाले आफ्नो नाम कल्पना बस्नेत र घर सिन्धुली बताइन्। मोवाइल नम्बर मागिन्। फेसबुकमा तत्कालै साथी पनि बनिहालिन्। 

त्यसदिन यति भइसकेपछि उनीहरु पसलबाट छुट्टिएर आ–आफ्नो घर फर्किए। 

असार १८ गते आफ्नो पसल बन्द गरेर ती व्यापारी डेरातर्फ जाँदै थिए। चाबहिलमा पुगेपछि कल्पनाको फोन आयो। 

‘अघिल्लो दिन किनेको चप्पल ठीक भएन, साट्न हिजोकै पसलमा आएकी छु’, उनले भनिन्।
व्यापारीले त्यही पसलमा भेटौं भने। 

कल्पनाले जुत्ता पसलनजिकै रहेको क्याफेमा बोलाइन्, ‘म एटीएमबाट पैसा निकाल्दैछु, क्याफेमा आउनु न।’
व्यापारीको मोटरसाइकल कल्पनाले बोलाएको क्याफेतर्फ मोडियो। 

क्याफेमा उनीहरु खाजा खाँदै गफिन थाले। 

सुरुमा व्यक्तिगत परिचय भयो। कल्पनाले आफू पेशाले वकिल भएको र म्यानपावर कम्पनीमा पनि लगानी रहेको बताइन्। युवकले आफ्नो व्यापारको अवस्थाबारे सुनाए। 

आफू वकिल भएको र म्यानपावरमा लगानीसमेत रहेको बताउने कल्पनाले केहीबेरमै दुःख पोख्न थालिन्, ‘मलाई तनाव छ। तपाईले मेरो कुरा सुनिदिनुभयो, मेरो कुरा सुन्ने कोही छैनन्। म बस्ने ठाउँ पनि गतिलो छैन।’

गफिदै खाजा खाइसकेपछि अब उठ्ने कुरा हुन थाल्यो।

‘कहाँ बस्नुहुन्छ ? त्यहाँसम्म म लगिदिन्छु नि’, व्यापारी सहयोगी भावमा प्रस्तुत भए। 

‘आज म घर जाँदिनँ। कतै गेष्ट हाउसमा पुर्याइदिनू’, कल्पनाले भनिन्।

‘कुन गेष्ट हाउसमा जानुहुन्छ र?’

‘मैले गेष्टहाउस चिनेकै छैन। तपाईले नै लगिदिनू’, अर्को प्रश्नको जवाफ आयो। 

व्यापारीले विमानस्थल नजिकै रहेको गोल्डेन आइज होटलमा कल्पनाका लागि कोठा बुक गरिदिए। 

त्यसपछि उनीहरु मोटरसाइकल होटलमै राखेर ट्याक्सीमा ठमेलतिर लागे। ठमेलको क्याफेमा खाजा खाएर आ–आफ्नो गन्तव्यतिर फर्किए। 

फेरि असार २० गते दिउँसो ४ बजेतिर कल्पनाले व्यापारीलाई फोन गरिन् र भनिन्, ‘म काठमाडौं मलमा आएकी छु। मलाई भेट्न आउनू।’

‘मलाई आउन टाइम लाग्छ’, व्यापारीले भने। 

केही समयपछि फेरि फोन आयो, ‘म न्युरोड गेट नजिकै छु। मलाई चुच्चेपाटी पुर्याइदिनू न प्लिज।’

व्यापारी न्युरोड गेटमा पुगे। कल्पना कालो कोट लगाएर वकिलजस्तै बनेर आएकी थिइन्। 

व्यापारीले मोटरसाइलमा राखेर गहनापोखरी हुँदै चाबहिलतर्फ लैजाँदै थिए, कल्पनाले भनिन्, ‘आज सर्वोच्च अदालतमा बहस थियो, कस्तो टाउको दुःखेको छ। फ्रेस हुन पर्यो, क्याफेमा गएर जुस खाउँ न।’

महिलाको लतमा फसिसकेका ती व्यापारीले पनि प्रस्ताव नकारेनन्। गहनापोखरी नजिकैको क्याफेमा पसे र दुई गिलास जुस मगाए। एकपटक सुरूप्प पिएपछि कल्पनाले खाइनन्। 

व्यापारीले सोधे–किन नखानुभएको र? 
‘मलाई ठीक भइसक्यो, अब जाउँ’, उनले जवाफ दिइन्। 

उनीहरु चाबहिल चोकमा पुगे। त्यहाँबाट छुट्नु पर्ने थियो तर कल्पना मोटरसाइकलबाट झर्नै मानिनन्। 

उनले भनिन्, ‘मेरो जाने ठाउँ छैन। आज पनि बाहिर नै बस्नुपर्छ। मलाई साह्रै टेन्सन छ।’

व्यापारीले चुच्चेपाटीसम्म लगिदिन्छु भन्दा पनि मान्दै मानिनन्। अस्तिकै होटलमा छाडिदिनू भन्न थालिन्। 

उनका लागि गोल्डेन आइज होटलको कोठा नं १०४ बुक भयो। व्यापारीले मोटरसाइकलमै त्यहाँसम्म पुर्याए। दुवैजना कोठामा पसे।

कल्पनाले होटलको बिल तिर्ने पैसा छैन भनेपछि व्यापारी काउण्टरमा गए। तर, उनी कोठाको बिल तिरेर फर्किँदा कल्पना कोठामा थिइनन्। फोन पनि उठाइनन्। त्यसपछि व्यापारी आफ्नो घर फर्किए।

असार २१ गते बिहानै युवकको मोबाइलमा दुईवटा नम्बरबाट म्यासेज आएका थिए। म्यासेजमा लेखिएको थियो, ‘तैँले कल्पना बस्नेतलाई कहाँ लगेर बलात्कार गरेको हो? उसलाई अचेत अवस्थामा भेटेर अहिले हेल्पिङ हेण्ड अस्पतालको आईसीयूमा राखिएको छ, भेट्न आइज।’

त्यसपछि व्यापारीले अत्तालिँदै म्यासेज आएको नम्बरमा फोन गर्न थाले । फोन उठेन। कल्पनाको मोवाइल नम्बरमा पनि सम्पर्क हुन सकेन। 

त्यही दिन अर्को नम्बरबाट म्यासेज आयो, ‘कल्पनाको भाइ हुँ। तँलाई कानुनको दायरामा ल्याई फसाइदिन्छु।’

पछि कल्पनाले नै दुईवटा नम्बरबाट तारन्तार फोन गर्न थालिन्।

‘मेरा श्रीमान, आमा, मामा र भाइले पनि थाहा पाए। तपाईविरुद्ध प्रहरीमा केस लगाइसकेका छन्। मेरा आफन्तलाई भेटेर केस मिलाइहाल्नू। नत्र जेल जानुहुन्छ’, उनले भनिन्।

असार २३ गते फेरि कल्पनाले ती व्यापारीलाई फोन गरेर गहनापोखरीमा भेट्न  बोलाइन्।

त्यहाँ क्याफेमा बसेर उनीहरुले कुरा गरे। कल्पनाले यो केस मिलाउनुपर्छ, त्यसका लागि मेरा श्रीमान दीपक खड्कासँग भेटेर कुरा गर्नू भनिन्। उनले केही रकम दिए श्रीमानले मान्ने बताइन्। 

तर, ती व्यापारीले आफूसँग पैसा नभएको बताए। बरु जहाँ जहाँ गएर उजुरी दिए पनि फरक नपर्ने बताए। त्यसपछि कल्पनाले आफूले लगाइरहेको औंठी खोलेर दिइन्। पैसा छैन भनेपछि एक हजार रुपैयाँ पनि दिइन्। 

दुई दिनपछि उनले कल्पनाको औँठी फिर्ता गरे।

उनलाई बारम्बार फरक–फरक नम्बरबाट फोन आइरहन्थ्यो। यही क्रममा अपराध महाशाखा कोटेश्वरको प्रहरी इन्सपेक्टर हुँ भन्दै एकजनाले फोन गरे।

‘मैले सबैतिरको सीसीटीभी फुटेज ल्याइसकेको छु। तपाईलाई अप्ठेरो पर्छ, केस मिलाई हाल्नुस्’, ती व्यक्तिले उनलाई भने। 

असार २६ गते बेलुका पनि कल्पनासँग व्यापारीको कुरा भयो। चाबहिल चोक नजिकैको क्याफेमा बसेर कुरा गर्नुपर्छ भन्दै बोलाइन्। ती व्यापारी भाइ नाता पर्ने व्यक्तिलाई पनि लिएर त्यहाँ पुगेका थिए। त्यहाँ पनि उही ‘केस मिलाउने’ कुरा भयो। 

कल्पनाले आफू वकिल भएकाले यस्तो केस मिलाउन सक्ने बताइन्। तर, त्यसका लागि आफूलाई ४५ लाख र पुलिसलाई ५ लाख रुपैयाँ दिनुपर्ने शर्त राखिन्। 

५० हजार रुपैयाँ तत्काल व्यवहार मिलाउनु छ भन्दै मागिन्। उनले त्यो रकम आफ्नो खातामा नहाल्न भनेकी थिइन्। सापटी तिरेको कागज गरेर मात्रै दिन भनेकी थिइन्। 

पछि अर्कैका नामबाट खातामा जम्मा गरिदिने शर्तमा कुरा मिल्यो। 

तर, ती व्यापारीले आफ्नै नामबाट ५० हजार रुपैयाँ कल्पनाको खातामा पठाइदिए। 

बैंक खातामा रकम पठाएकै राति कल्पनाले फोन गरिन् र अर्को व्यक्तिका नामबाट रकम पठाउनू भनेको किन आफ्नै नामबाट पठाएको भन्दै थर्काइन्।

‘तेरो शाखा सन्तान निध्याइदिन्छु भन्दै धम्क्याइन् ।’ 

असार ३१ गते फेरि उनले फोन गरिन् र केसको फाइल फिर्ता लिइसकेको बताइन्। तर, इन्स्पेक्टर सरुवा भएर अन्तै जान लागेकाले छिटो सल्टाउन ताकेता गरिन्।

उनले मिलापत्रको कागजसमेत तयार भइसकेको भन्दै बौद्ध प्रहरीमा मिलापत्र गरिसकेको ब्यहोराको एउटा कागजसमेत भाइबरमा पठाइन्। 

त्यसपछि उनीहरुबीच फेरि चाबहिलको क्याफेमा भेट्ने र रकम लेनदेन गर्ने सल्लाह भयो। त्यहाँ १० लाख रुपैयाँ दिए सबै कुरा मिलाइदिने र कागज गरिदिने कल्पनाले बताएकी थिइन्।

तर, ती ब्यापारीई उपत्यका अपराध महाशाखाको सम्पर्कमा पुगिसकेका थिए। प्रहरीले उनलाई हनि ट्रयापमा पार्ने कल्पनासहितका व्यक्तिलाई पक्राउ गर्ने तयारी गरिरहेको थियो।

बौद्ध वृत्तमा बुझ्दा कुनै मुद्दा नपरेको र कागजात पनि नगरेको प्रष्ट भयो। तर, कल्पना भने त्यसदिन १० लाख रुपैयाँ आउने आशमा थिइन्।

साउन १ गते उनलाई व्यापारीले साढे ३ लाख रुपैयाँ लिन चाबहिलको क्याफेमा बोलाए, जहाँ उनीहरुको पटक–पटक भेटघाट भएको थियो। 

व्यापारीलाई हनि ट्रयापमा पारेर पैसा असुल्ने दाउले मख्ख पर्दै आएकी कल्पना आफैं प्रहरीको ट्रयापमा परिन्।

कल्पनालाई त्यहीँबाट र अरु दुईजनालाई बालाजु क्षेत्रबाट अपराध महाशाखाले पक्राउ गर्यो।

पक्राउ परेसँगै प्रहरी इन्स्पेक्टर बनेर फोन गर्ने व्यक्ति पनि सिन्धुलीकै कमलामाई नगरपालिका–४ का सञ्जय कार्की रहेको खुल्यो। 

उनीहरु तीनजनाविरुद्ध अनुसन्धान अगाडि बढाएको महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले नेपालखबरलाई बताए।

आपराधिक लाभसम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .