ad ad

अपराध


दाजुभाइको घर झगडा यसरी पुग्यो ‘किलर’सम्म

विजयले मोवाइलमा जे लुकाउन खोजे त्यही बन्यो प्रहरीलाई प्रमाण
दाजुभाइको घर झगडा यसरी पुग्यो ‘किलर’सम्म

उजिर कार्की
साउन ११, २०७९ बुधबार २१:३९, काठमाडौँ

बाँकेको कोहलपुर १४ पार्वतीपुरका युवा दम्पतीको हत्याको आरोपमा मृतकका दाजु–भाउजुसहित ४ जना पक्राउ परेका छन्। दाजुभाउजुले नै योजना बनाएर दुईजना किलर खटाएको खुलेको छ। 

पार्वतीपुरका २२ वर्षीय कृष्ण गडरिया र २१ वर्षीया अञ्जली गडरियाको मंगलबार बिहान घरमै शव फेला परेको थियो। उनीहरुको हत्यामा संलग्न अरु दुई जनालाई पनि पक्राउ गरिसकेको बाँके प्रहरीले जानकारी दिएको छ।

यी बाहेक अन्यको संलग्नता नदेखिएको प्रहरीको दाबी छ। 

हत्या आरोपमा मृतकका दाजु विजय गडरिया, भाउजु रेखा गडरिया र नेपालगञ्ज उपमहानगरपालिका १८ का साकिर अलि शेख र नेपालगञ्ज १९ का राजन सनाखर पक्राउ परेका छन्। 

सुतेकै ठाउँमा डोरीले घाँटी कसेर दम्पतीको हत्या भएको थियो। दाजु विजयले ५ लाख रुपैयाँ दिएर हत्या गर्न लगाएको खुलेको छ।

त्यसमध्ये २ लाख ५० हजार रुपैयाँ दिइसकेको र २ लाख ५० हजार हत्या गरिसकेपछि दिने भनेको हत्यामा संलग्न साकिरले बताएका छन्। 

करिव डेढ महिना पहिले नै भाइबुहारीको हत्याको योजना बनाएको पाइएको छ। सुरुमा हत्या गर्न भन्दै नलकटुवा समेत किनेका थिए।

तर हत्यामा भने प्रयोग गरिएको थिएन। एक राउण्ड घरभित्रै फायर गरेको भने खुलेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए।

प्रहरीले फायर भइसकेको गोली र पेस्तोल पनि बरामद गरेको छ। 

दाजुभाइको घर झगडा यसरी पुग्यो किलरसम्म
भाइको विवाह गरेसँगै यो घरमा कलह सुरु भयो। बाबुआमाले पनि आफू र श्रीमतीलाई भन्दा भाइबुहारीलाई माया र बढि सहयोग गरेको विजयका दम्पतीले ठान्न थाले। 

यसले उनीहरुलाई चिढ्याउँदै लग्यो। आफूले व्यावसाय गर्छु भन्दा पनि लगानी नगरिदिएका बुबाले भाइलाई भने जे भन्यो त्यही सहयोग गरेको विजयलाई निको लागेन। 

आमाको भने पनि सहयोग गरेको विजयले प्रहरीलाई बताएका छन्। आमाले विजयलाई एक कट्ठा जग्गा दिएकी थिइन्। कहिलेकाहीँ घरमा झगडा हुँदा बाबु र भाइ मिलेर आफूलाई पिट्ने गरेको पनि विजयले बताएका छन्। 

बुहारीसँग पनि उनीहरु खुसी थिएनन्। आफ्नो र श्रीमतीको कुरा बाबुआमालाई लगाइदिने र आफूहरूप्रति नकरात्मक बनाइ दिएको आरोप उनीहरुको छ। 

यही कारण भाइबुहारीको हत्या गर्ने योजना बनाएको बताएका छन्। 

४/५ वर्ष पहिलेसम्म यही घरमा डेरा गरी बसेका नेपालगन्ज उपमहानगरपालिका १८ का २६ वर्षीय साकिर अलि शेखलाई उनले भाइको हत्या गर्ने योजना सुनाए। 

साकिरले पनि ५ लाख रुपैयाँ दिने भए आफू मान्छे खोजिदिने र अरु मान्छे नपाए आफैं भएपनि हत्या गरिदिने बचन दिए। 

त्यसपछि विजयले २ लाख रुपैयाँ साकिरलाई दिएका थिए। विजय र साकिरले हत्या गर्नका लागि डेढ महिना पहिले नै नलकटुवा पेस्तोल खरिद गरेका थिए।

साकिरले अरु मान्छे नखोजि आफैं हत्या गर्ने योजना बनाए। सोही योजना अनुसार उनले नेपालगञ्ज १९ का राजन सनाखरलाई बोलाए। साकिर र राजन हत्या गर्न उपयुक्त समय पर्खिरहेका थिए। 

बाबुआमा केही दिन पहिले तीर्थका लागि भारत गए। विजयले यहि बेलामा हत्या गर्नु पर्ने भन्दै साकिरलाई खबर गरे। त्यसपछि सोमबार उनी साकिरलाई भेट्न पुगेका थिए। उनले साकिरलाई भेटेर आज जसरी पनि हत्या गर्नुपर्छ भने। ५० हजार रुपैयाँ पनि दिए। 

राति १० बजे एउटै मोटरसाइकलमा चढेर साकिर, विजय र राजन घरमा आइपुगेका थिए। तर त्यतिबेला भाइ बुहारी सुतेका थिएनन्। घर अगाडि ट्रकहरु रोकिराखेको थियो। मान्छेहरुको पनि चहलपहल थियो। 

त्यसपछि २ जना राति मात्रै आउने भनेर फर्किए। विजयलाई घरमा छाडिदिए। १२ बजेतिर विजयले साकिरलाई फोन गरे भाइ बुहारी सुत्न लागेको जानकारी दिए। अब आउँदा हुन्छ भनेका थिए।

भाइबुहारी सुत्ने ठाउँ उनले भिडियो बनाएर साकिरलाई पठाइसकेका थिए। 

राति १ बजेतिर साकिर र राजन उक्त घरमा पुगे। फोन गरेर ढोका खोल्न लगाए। विजय र उनकी श्रीमती रेखा घरको छतमा सुत्थे। गर्मीको समयमा विजय र रेखा  छतमा र भाइबुहारी घरसँगै जोडेर बनाइएको पालिमा सुत्ने गरेका थिए। 

साकिर र राजन विजयका दम्पती सुत्ने घरको छतमा पुगे। त्यहीँबाट उनीहरुले भाइबुहारी सुते नसुतेको निश्चित गरे। अब निदाए भन्ने ठानेपछि दुई जना तल झरे। 

उनीहरु सुतिरहेको ठाउँमा पुगेर एकसाथ दुवै जनाको घाँटी डोरीले कसे। अञ्जलीको राजनले र कृष्णलाई साकिरले घाँटी कसेका थिए।

अञ्जलीको सहजै हत्या गरेपनि कृष्णले भने प्रतिकार गरे। प्रतिकार गर्न थालेपछि साकिरले एक राउण्ड फायर गरे।

तर त्यो गोली उनीहरुलाई लागेन। हत्या गरिसकेपछि कृष्णको हात काटेर उनीहरु त्यहाँबाट फरार भए। उनीहरु हिँडेपछि विजयले घरमा लुगा छरपस्ट पारे। चोरी भएको जस्तो बनाउन दराजका लुगा पनि यत्रतत्र छरे। 

भाइबुहारीको हत्या भइसकेपछि पनि विजयका दम्पती छतमै सुते। भोलिपल्ट बिहान रेखाले टोल छिमेकमा हल्ला गर्न थालिन्। आफ्नो देवर र देउरानीको हत्या भएको भन्दै टोलमा सुनाइन्। त्यसपछि प्रहरीलाई खबर गरियो। 

विजयको हाउभाउ र मोबाइलले खोल्यो पोल
सुरुमा इलाका प्रहरी कार्यालय कोहलपुरको टोली पुगेर घटनास्थल सुरक्षित गर्यो। पछि जिल्ला प्रहरी कार्यालयबाट एसपी श्यामकृष्ण अधिकारीसहितको टोली पनि घटना स्थलमा पुग्यो। 

अनुसन्धानका लागि तालिमप्राप्त ट्रयाकर डग पनि लगियो। स्थानीयसँग पनि प्रहरीले सोधि खोजि गर्न थाल्यो। घटना हुँदा पनि दाजुभाउजु घरमै हुनु तर केही थाहा नपाउनु प्रहरीका लागि शंकास्पद नै थियो। घरभित्रैको उनीहरुको सम्बन्धका बारेमा पनि प्रहरीले स्थानीयबाट जानकारी लियो। 

कुकुरले ट्रयाक गर्न थालेपछि विजय भने एकदमै आत्तिएको देखिन्थे। विजय आफैँले हत्या नगरे पनि उनको संलग्नता केही न केही छ भन्नेमा प्रहरीलाई बल पुग्दै गयो।

‘मृतकका दाइको हर्कत सुरुबाटै असामान्य थियो। आत्तिएको देखिन्थे’ इन्सपेक्टर मल्लले नेपालखबरसँग भने, ‘पोष्टमार्टमका लागि जाहेरी दिनुपर्छ भनेर उहाँहरुलाई जाहेरी दिन लगायौँ। तर उहाँ असाध्य आत्तिन थाल्नुभयो।’

प्रहरीले जाहेरी लिएपछि विजय र रेखासँग सोधपुछ पनि सुरु गर्यो। प्रहरीले सोधपुछ गर्न थालेपछि उनीहरुले झुट लुकाउन सकेनन्।

उनीहरुको मोबाइल पनि प्रहरीले अनुसन्धान गर्न थाल्यो। रेखाको मोबाइलमा विजयले ११ मिसकल गरेको देखिन्थ्यो। 

तर उनले आफ्नो मोबाइलमा भने अघिल्लो दिन ३ बजे दिउँसोपछिका सबै कल डिलिट गरेका थिए। यो थप प्रमाण बन्यो।

केहीबेरको सोधपुछपछि विजय र रेखाले हत्या आफूहरुकै योजनामा भएको लुकाउन सकेनन्। उनीहरुले अरु नै मान्छे प्रयोग गरेर हत्या गरेको भने।

त्यसपछि सुरुमा भारतीय किलर प्रयोग गरेको बताए। को हो भन्दा साकिर अलि रहेको खुलाए। राजनलाई भने साकिरले ल्याएकाले विजयले पनि नचिनेको बताएका छन्। 

प्रहरीले साकिर बारे अनुसन्धान गर्न थाल्यो। उनी नेपालमै रहेको खुल्यो। राति नै साकिरलाई पनि प्रहरीले पक्राउ गर्यो।

साकिर पक्राउ परिसकेपछि उनले राजन पनि संलग्न रहेको खुलाए। उनकै सहयोगमा प्रहरीले राजनलाई पनि राति नै पक्राउ गर्न सफल भयो। 

राजनकै घरमा नलकटुवा पेस्तोल पनि फेला पर्यो। प्रहरीले हत्या भएको २४ घण्टाभित्रै हत्यारा पक्राउ गरेर कानुनको दायरामा ल्याउन सफल भएको छ।

अहिले उनीहरुमाथि म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए। 

बाँकेमा दम्पती मृत फेला, हत्याको आशंका

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .