ad ad

अपराध


नासुको बयान : विमानस्थल भन्सारमा तस्करीको सुनसँग यसरी साटियो इलेक्ट्रिक सिगरेट

नासुको बयान : विमानस्थल भन्सारमा तस्करीको सुनसँग यसरी साटियो इलेक्ट्रिक सिगरेट

उजिर कार्की
साउन २, २०८० मंगलबार १५:२३, काठमाडौँ

चिनियाँ नागरिकले दुबईबाट ल्याएको तस्करीको सुन लुकाएर उक्त लगेजमा इलेक्ट्रिक सिगरेट राखिदिने भन्सारका ३ जना कर्मचारीसहित ५ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालको इजलासले भन्सारका नायब सुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत, सुरक्षागार्ड निर्मलकुमार विक र व्यापारीहरु वेदप्रकाश अग्रवाल र साहेब राय पाण्डुरङलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो। 

अन्य केही प्रतिवादी भने फरार छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु आगमन शाखाले २०७९ पुस २९ गते २ वटा सुटकेसभित्र ७३ वटा बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेटभित्र शंकास्पद वस्तु रहेको आशंकामा बरामद गरेको थियो। चिनियाँ नागरिकले सिगरेटको बट्टामा लुकाएर दुबईबाट सुन ल्याएका थिए। 

सुरुमा चेकजाँचका क्रममा शंकास्पद देखिएका ती सामान पछि इलेक्ट्रिक सिगरेट नै भएको पाइएपछि विमानस्थलले छानबिन गरेको थियो। 

आन्तरिक छानबिन गर्दा मुद्दा शाखामा गोदामको कार्य जिम्मेवारी तोकिएका नासु रेवन्त खड्कासहितका व्यक्ति संलग्न देखिएपछि कारबाहीको प्रक्रिया अगाडि बढेको थियो। आन्तरिक छानबिनमा त्रुटि पाइएपछि थप अनुसन्धान गरी कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा २०८० वैशाख २६ गते जाहेरी दिएको थियो। 

दुई वटा सुटकेसमा सिगरेटभित्र लुकाएर सुन ल्याएको खुलेको छ। तर, भन्सारका कर्मचारीसहितको मिलेमतोमा पछि सिगरेट राखेर सुन लगेको खुलेको हो। 

उनीहरुले लगेको सुन ६ करोडमा बिक्री गरेर रकम बाँडेर लगेको खुलेको छ। नासु अधिकारीले बयानका क्रममा सुन र सिगरेट कसरी साटियो भन्नेबारे खुलाएका छन्।

नासु रेवन्त खड्काको बयान 
मसँगै पक्राउ भई आएका प्रतिवादी दिनेश बस्नेतले जफत भएको ७३ बट्टा उक्त ७३ बट्टा इलेक्ट्रिक सिगरेट (भेप) लाई सुटकेसबाट झिकी साटफेर गरी राखेको हो। उक्त सुटकेस मेरो जिम्मामा आउनुअघि नै ताल्चा नलागेको अवस्थामा थियो। बरबुझारथको क्रममा ताल्चा खोलिएको हुन सक्छ, यकिन भन्न सक्दिनँ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न एयरलाइन्सबाट आएका यात्रुहरुको लगेजलाई ग्राउन्ड ह्यान्डलिङका कर्मचारीहरुले स्क्रिनिङ बेल्टमा राखेपछि स्क्रिनरले एक्स रेबाट लगेज पास हुँदा कानुनले निषेध गरेका अवैध सामान वा भन्सार लाग्ने सामान देखिएमा लगेजको ट्यागमा आरसी लेखी बेल्टमा लगेज पठाउँछन्।

यसरी आरसी लेख्नुको अर्थ उक्त लगेज रेड च्यानलमा पुनः परीक्षण गर्नु पर्ने भन्ने हो। तत्पश्चात यात्रुले बेल्टबाट आफ्नो लगेज लिई बहिर प्रस्थान गर्छन्। यात्रु  बाहिर जानुअघि भन्सार कार्यालयको ग्रिन च्यानल/रेड च्यानल छुट्याउने ठाउँमा ड्युटीमा रहेका भन्सारका कर्मचारीहरुले लगेजको ट्यागमा आरसी उल्लेख भए, नभएको यकिन गरी ट्यागमा आरसी उल्लेख भएको भए त्यस्ता लगेजलाई पुनः स्क्रिनिङको लागि एक्स रे मेसिनमा राख्दछन्।

तत्पश्चात् आरसीमा रहेका स्क्रिनरले स्क्रिनिङ गरी सम्बन्धित आरसीमा रहेका अफिसर, ड्युटी अफिसर र प्रमुख भन्सार अधिकृतसँग समन्वय गरी निजहरुको निर्देशन बमोजिम उक्त मालवस्तुको भन्सार दाखिला गराई जाँचपास गर्ने वा जफत गर्ने निर्णय गरिन्छ। जफत गर्ने गरी गरेको निर्णय जफतको निस्सा वा जफत पुस्तिकामा अभिलेखीकरण गरिन्छ र जफत भएको निस्सा १ प्रति सम्बन्धित यात्रुलाई दिने गरिन्छ। 

जफत गरिएको मालवस्तु आवश्यक कारबाहीको लागि त्रिवि भन्सार कार्यालय गौचर काठमाडौंको मुद्दा तथा लिलामी शाखामा पत्र सहित पठाइन्छ। यसरी जफत भएका सामग्रीहरु मुद्दा तथा लिलामी शाखामा लैजाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएका सुरक्षाकर्मीले पुनः एक पटक स्क्रिनिङ गरेपश्चात् सम्बन्धित भन्सार कर्मचारीले मुद्दा तथा लिलामी शाखामा लगी सामान बुझाउँछन्।

उल्लिखित सुटकेसहरु समेत प्रक्रिया पूरा गरी स्टोर दाखिला गरिएको हो। उल्लिखित प्रक्रियामा यात्रु जाँचपास तथा सहजीकरण शाखामा खटिएका प्रमुख भन्सार अधिकृत, ड्युटी अफिसर, स्क्रिनर समेतका कर्मचारीहरु संलग्न हुन्छन्।

उक्त लगेज जफत गर्ने समेतको प्रक्रियामा को को संलग्न थिए, यकिन भन्न सक्दिनँ। जफत भएको दिनको ड्युटी रजिस्टरबाट उक्त प्रक्रियामा संलग्न कर्मचारीहरुको बारेमा प्रष्ट हुन्छ। लगेज स्क्रिनिङ गर्दा र एक्सरेमा राख्दा उक्त लगेजमा रहेको भए एक्स रेमा सुनको आकारको कालो रंगको धब्बा देखिन्छ।

यसरी लगेजको एक्सरे गर्दा कालो धब्बा देखिएको अवस्थामा ब्यागेज स्क्रिनिङ बेल्टमा रहेको लगेज एक्सरे गर्ने स्क्रिनरले जोखिम विश्लेषण गरी ब्यागेजमा रहेको ट्यागमा आरसी लेख्ने वा भन्सारको कुनै कर्मचारीलाई बोलाई ब्यागेज हस्तान्तरण गर्नु पर्दछ।

यदि सुरु स्क्रिनरले ब्यागेजमा रहेको ट्यागमा आरसी लेखिपठाएको अवस्थामा रेड च्यानलमा रहेको एक्सरे गर्ने स्क्रिनरले पुनः स्क्रिनिङ गरी ब्याग खोली ब्यागभित्र रहेको मालवस्तुको भौतिक परीक्षण गरी देखिएको व्यहोरा सम्बन्धित ड्युटी अफिसरलाई जानकारी गराई आवश्यक कारबाही गर्नु पर्दछ। विदेशी नागरिकको ब्यागेजमा सुन भेटिएको अवस्थामा तत्काल नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाउनु पर्छ। 

२०७९ फागुन महिनाको दोश्रो हप्तातिर निज बब्लुकुमार गुप्ताले मलाई भेटी चिनियाँ नागरिकबाट जफत भई मुद्दा शाखामा दाखिला भई मुद्दा शाखाको गोदाममा रहेको २ वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेटभित्र सुन छ भन्ने सुनेको मलाई जानकारी गराए। 

मलाई विश्वास नलागी निज बब्लुकुमार गुप्तालाई मुद्दा शाखाको गोदाममा लगी सुटकेसबाट १ थान इलेक्ट्रिक सिगरेट झिकी निज बब्लुकुमार गुप्ताले मुखमा राखी सास ताने। त्यसरी तान्दा धुँवा नआएपछि उक्त इलेक्ट्रिक सिगरेट सक्कली नभई सो इलेक्ट्रिक सिगरेटभित्र अन्य केहीइ बहुमूल्य वस्तु छ भन्ने कुरामा म समेत विश्वस्त भएँ।

उक्त गोदाममा सीसीटीभीबाट निगरानी हुने भएकोले उक्त कोठामा थप चेकजाँच गरिएन। सो को १/२ दिनपछि हाल म सँगै पक्राउमा परी आएका दिनेश बस्नेतले मलाई भेटी उक्त इलेक्ट्रिक सिगरेट भित्र सुन रहेको र उक्त सुन बिक्रीको लागि आफूले भारतीय नागरिकसँग डिल गरिसकेको बताए।

मलाई समेत सो सुन बिक्रीबाट प्राप्त रकममध्ये राम्रो रकम दिने भनी उक्त इलेक्ट्रिक सिगरेट उपलब्ध गराउन आग्रह गरेका थिए।

तत्पश्चात सोको करिब ७/१० दिनपछि मुद्दा शाखामा रहेका लिलामी गर्नु पर्ने र नष्ट गर्नुपर्ने सामानहरुलाई छुट्याई उल्लिखत प्रयोजनका लागि स्थानान्तरण गर्ने क्रममा उक्त इलेक्ट्रिक सिगरेट सहितको सुटकेस नष्ट गर्ने प्रयोजनका लागि मैले कोठा नं १११ मा सारेँ।

कोठा नं १११ मा रहेका सामानहरुमध्ये लिलामी गर्नु पर्ने र नष्ट गर्नु पर्ने सामानहरुलाई छुट्याउनका लागि मजदुरहरुलाई उक्त कोठामा लाने क्रममा निज दिनेश बस्नेत समेत सँगै जाने गरेका थिए।

मेरो सहमतिमा निजले पटकपटक गरी जफत भएको इलेक्ट्रिक सिगरेट कोठा नं १११ बाट झिकी सोको ठाउँमा हाल बरामद भई आएको इलेक्ट्रिक सिगरेट राखी दिएका हुन्।

निज दिनेश बस्नेतले उक्त जफत भई आएको इलेक्ट्रिक सिगरेटबाट सुन झिकी छ करोडमा वेदप्रकाश अग्रवाल समेतलाई बिक्री गरेका रहेछन्।

मैले उक्त जफत भई आएको इलेक्ट्रिक सिगरेट साटफेर गरी बाहिर लैजान सहजीकरण गरेवापत निज दिनेश बस्नेतले मेरो निर्देशनमा मेरी साथी प्रेरणा थापाको बैंक अफ काठमाण्डु र कृषि बिकास बैंक लिमिटेडको खातामा ३० लाख, मैले भाउजु भन्ने गरेको ललिता राजभण्डारीको विभिन्न बैंक खातामा ३५ लाख गरी जम्मा ६५ लाख जम्मा गरी दिएका थिए।

सोबाहेक अन्य केही रकम खानपानमा खर्च गरेको हुन सक्छ। उल्लिखित इलेक्ट्रिक सिगरेटबाट सुन झिक्ने कार्य दिनेश बस्नेतले गरेको हुँदा के कति परिमाणमा सुन झिकियो र सोमध्ये के कति परिमाणमा बिक्री गरियो, निजलाई नै थाहा होला।

निज प्रेरणा थापा कारोबारमा विश्वासिलो व्यक्ति भएको र म आफू सरकारी कर्मचारी भएको र आफ्नो खातामा ठूलो रकम राख्दा पछि कुनै अप्ठ्यारो पर्न सक्छ भन्ने सोची प्राप्त रकम सुरक्षित राख्नको लागि मैले निज प्रेरणा थापालाई अनुरोध गरी निजको नाममा बैंकमा रकम जम्मा गराएको हुँ। 

यस्तैगरी मेरो पूर्व चिनजान भएकी ललिता राजभण्डारीले तत्काल उपलब्ध गराएको बैंक खातामा दिनेश बस्नेतलाई भनी ३५ लाख जम्मा गर्न लगाएको हुँ। निज प्रेरणा थापा र ललिता राजभण्डारी समेतलाई मैले निजहरुको खाता समेतमा जम्मा गर्न लगाएको रकम उक्त सुन बिक्री गरेको कसुरबाट आर्जन गरेको रकम हो।

मैले दिनेश बस्नेतलाई प्रेरणा थापाको नाममा रहेको बैंक खाता र ललिता राजभण्डारीले उपलब्ध गराएको बैंक खाताहरुमा रकम जम्मा गरिदिनु भनेको थिएँ।

निजले मैले भने बमोजिम प्रेरणा थापा र ललिता राजभण्डारीको बैंक खातामा ६५ लाख जम्मा गराइदिएका थिए। निजले को मार्फत रकम जम्मा गराए यकिन भन्न सक्दिनँ।

निज विश्वराम खड्कालाई म चिन्दिनँ। आफ्नो जिम्मामा रहेको उल्लिखित इलेक्ट्रिक सिगरेट साटफेर गरी उक्त इलेक्ट्रिक सिगरेटमा रहेको सुन समेत निकाली बिक्री वितरण गरी रकम बाँडचुड गरी लिँदा आकर्षक रकम प्राप्त हुने भएकोले आर्थिक लाभको लोभमा परी मबाट यस्तो काम भएको हो।

विमानस्थल भन्सार कार्यालयको यात्रु आगमन शाखाबाट जफत गरी मिति २०७९–१०–२९ गते मुद्दा शाखामा दाखिला भएको २ वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेट मेरो संलग्नतामा दिनेश बस्नेतले बाहिर लगी सो को सट्टामा हाल बरामद भई आएको इलेक्ट्रिक सिगरेट राखी साटफेर गरी राखेका हुन्।

तत्पश्चात निज दिनेश बस्नेतले लगेको उक्त इलेक्ट्रिक सिगरेटबाट सुन झिकी निजले नै वेदप्रकाश अग्रवाललाई बेचेको र वेदप्रकाश अग्रवालले उक्त सुन अर्का प्रतिवादी भारतीय नागरिक साहेब रावलाई बेचेका रहेछन्।

सो निकाल्ने र बिक्री वितरण गर्ने कार्यमा अरु ककसको संलग्नता छ, निज दिनेश बस्नेत समेतलाई थाहा होला। उल्लिखित इलेक्ट्रिक सिगरेट सम्बन्धित यात्रु चिनियाँ नागरिकलाई नै लिलाम सकार गर्ने व्यवस्था मिलाउनु पर्छ भनी मलाई प्रमुख भन्सार प्रशासक अरुण पोखरेलबाट मौखिक निर्देशन भएको थियो।

यसरी उक्त इलेक्ट्रिक सिगरेट लिलाम गर्ने निर्णय भएपश्चात म कार्यालयमा नरहेको अवस्थामा कुन कर्मचारीले कोठा नं १११ मा गई उक्त इलेक्ट्रिक सिगरेटको अवस्थाको बारेमा चेकजाँच गरेछन्, मलाई थाहा भएन। चेकजाँच गर्ने कर्मचारीले प्रमुख भन्सार प्रशासकलाई जफत भएको इलेक्ट्रिक सिगरेट गोदामबाट साटफेर गरी अर्को इलेक्ट्रिक सिगरेट राखिएको अवस्था छ भनी जानकारी गराएका रहेछन्।

तत्पश्चात यसमा के कसो भएको हो भनी प्रमुख भन्सार प्रशासक र प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनाल समेतले मलाई सोध्दा मैले उक्त इलेक्ट्रिक सिगरेट दिनेश बस्नेत मार्फत साटफेर गरे वापत एक करोड आएको भनी जानकारी गराएको थिएँ।

मैले निजहरुलाई यसरी जानकारी गराएपछि प्रमुख भन्सार प्रशासकले मलाई उक्त सामानहरु दुरुस्त हालतमा फिर्ता ल्याएर गोदाममा जम्मा गरिदिनुहोस भन्नु भएको थियो।

मैले उक्त कुरा दिनेश बस्नेतलाई जानकारी गराई सामान फिर्ता ल्याइदिनु भन्दा निज दिनेश बस्नेतले उक्त इलेक्ट्रिक सिगरेटभित्र सुन रहेको थियो, उक्त सुन निकाली छ करोडमा बिक्री गरिसकेँ भनी जानकारी गराए।

मैले सोही व्यहोरा प्रमुख भन्सार प्रशासक समेतलाई जानकारी गराएको थिएँ। यसरी मैले निजहरुलाई घटना सम्बन्धमा सत्यतथ्य जानकारी गराएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट आवश्यक कारबाहीको लागि केन्द्रीय अनुसन्धान ब्युरोमा पत्राचार गर्नु भएको रहेछ। सोही पत्र समेतको आधारमा भएको अनुसन्धानको क्रममा म पक्राउमा परी आएको हुँ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .