प्रवास


बेलायतमा ‘रोल मोडल’ मेयर बन्न खोज्दैछिन् ब्रिटिस गोर्खा परिवारकी नीना गुरुङ

बेलायतमा ‘रोल मोडल’ मेयर बन्न खोज्दैछिन् ब्रिटिस गोर्खा परिवारकी नीना गुरुङ

बेलायतको मेडवे काउन्सिल मेयर नीना गुरुङले आफ्नो कार्यकालको सय दिन पूरा गरेकी छन्


प्रजय शुक्ल
भदौ २०, २०८० बुधबार ६:४०, लन्डन

बेलायतको पहिलो नेपाली महिला मेयर नीना गुरुङले आफ्नो कार्यकालको सय दिन पूरा गरेकी छन्। उनी गत मे २४ मा सम्पन्न स्थानीय चुनावमा लन्डननजिकै केन्टको मेडवे काउन्सिलको मेयरमा निर्वाचित भएकी थिइन्। उनी बेलायतकै पहिलो बुद्धिस्ट मेयरको रुपमा पनि चिनिन्छन्।

समाजसेवामार्फत राजनीतिमा प्रवेश गरेकी उनी लेबर पार्टी प्रवेश गरेको करिब एक वर्षमै मेयर पदमा चुनिएकी हुन्।

उनी मेयर रहेको मेडवे काउन्सिलमा जिलिङगम, रोचेस्टर, राइनहम, स्ट्रोड र चाथाम गरी पाँच वटा टाउन छन्। यी क्षेत्रभित्र करिब ३ लाख बासिन्दा छन्।

नेपालको पोखराकी नीना गुरुङ सन् १९९९ मा यूके आएकी थिइन्, जो सन् २००५ देखि निरन्तर रुममा मेडवेमा बसोबास गर्दै आएकी छिन्। 

उनले एसएलसीसम्मको पढाइ नेपालमै गरेकी थिइन्। आफ्ना श्रीमान बेलायती सेनामा भएकोले नीना कलेजको पढाइ छोडेर बेलायत आइन्। नयाँ ठाउँ, नयाँ परिवेशमा साना दुई छोरीहरु हुर्काउँदै उनले आफ्नो पढाइलाई निरन्तरता दिइन्। 

अन्ततः नीनाले केन्ट युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्ध र सामाजिक नीतिमा स्नातकोत्तर पूरा गरिन्। उनी एक अनुसन्धानकर्ता पनि हुन्। बेलायतमा गोर्खा बसोबास र एकीकरण प्रक्रियाबारे नीनाको अनुसन्धानले सामुदायिक एकता प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको थियो।

मेडवे काउन्सिलको मेयरका रुपमा आफ्नो सय दिनको कार्यकाल चल्दै गर्दा नीनाले नेपाली मिडियालाई भेट्न इच्छा व्यक्त गरिन्। उनकोे निम्तोलाई सहर्स स्वीकार्दै हामी केही पत्रकारहरु उनलाई भेट्न उनकै कार्यकक्षमा पुग्यौं।

मेयर पार्लर कक्षमा नीनाले हामीलाई स्वागत गरिन्। मेयरको पार्लर खासगरी बैठक, स्वागत र विशेष अवसरहरूको लागि प्रयोग गरिन्छ।

हामी पार्लरमा सजाइएका चिजहरुको अवलोकन गर्दै कफी लिएर उनीसँग वार्तालाप गर्न थाल्यौँ। हामीसँगै थिए, काउन्सिल लिडर भिन्स म्यापल। वार्तालाप नेपाली र अंग्रेजी दुवै भाषामा चल्दै थियो।

मेयर गुरुङले हामीसामु आफनो भूमिकाबारे वर्णन गर्न थालिन्। 

‘बेलायतमा मेयरलाई राजाको प्रतिनिधिको रुपमा हेरिन्छ। र, मेयरलाई आफ्नो क्षेत्रको पहिलो नागरिक भनेर चिनिन्छ। मेडवेको युनिभर्सिटीका दीक्षान्त समारोहमा मेयरको उपस्थिति महत्वपूर्ण मानिन्छ,’ उनी भन्दै थिइन्, ‘मेयर नै मेडवेका खोला र नदीहरुका संरक्षक पनि हुन्।’

मेडवेमा गोर्खा समुदायको बसोबास छ। ब्रिटिस गोर्खा पृष्ठभूमिबाट आएकी गुरुङ बुद्धिस्ट कम्युनिटी सेन्टर यूकेका साथै मेडवेमा आधारित धेरै परोपकारी संस्थाका सक्रिय सदस्य पनि हुन्। 

‘म जातीय अल्पसंख्यक पृष्ठभूमिबाट आएको हुँ,’ नीनाले भनिन्, ‘म एक महिला र बुद्धिस्ट पनि हुँ। मैले सबैको समस्यालाई नजिकबाट देखेकी छु। त्यसैले जातीय अल्पसंख्यक समूहबीच रहेको असमानताको साथै सबैखाले विभेदलाई हटाउन म सधैं लागिपर्नेछु।’

मेयरमा निर्वाचित हुँदा कस्तो अनुभव गर्नुभयो भन्ने प्रश्नमा उनले आफू सम्मानित र गौरवान्वित भएको बताइन्। आफू सधैं निस्वार्थ रूपमा समुदायको सेवा गर्न प्रेरित रहनेमा जोड दिँदै उनले भनिन्, ‘मेरो कामले मेडवेका बासिन्दाले सकारात्मक प्रतिफल प्राप्त गर्ने आशा गरेकी छु।’

उनले बेलायतमा गोर्खाहरुले भोग्ने गरेका विभिन्न समस्याहरुको सामाधान खोज्ने कुराबाट प्रेरित भएर आफू राजनीतिमा लागेको बताइन्। आफू युनिभर्सिटीमा स्नातकोत्तर गर्दैगर्दा गोर्खाहरुले बेलायतको साधनस्रोतको उपयोग मात्रै गरेको भन्ने नकारात्मक धारणा जनमानसमा भएको उल्लेख गरिन्।

आफ्नो अनुसन्धान मार्फत गोर्खाहरुले अर्थतन्त्रको विकासमा टेवा दिनुका साथै समुदायको विकासमा पनि योगदान दिइरहेको तथ्य नीनाले अगाडि सारिन्। 

उनका अध्ययन अनुसन्धानका सिफारिसहरूलाई समुदाय र स्थानीय सरकार विभागले गोर्खाहरूको एकीकरण प्रक्रियालाई सहयोग पु¥याउन नोट समेत गरे। अध्ययन पूरा गरेपछि सामाजिक कार्यमा लागेकी उनी छोटो समयमै व्यवस्थापकीय जिम्मेवारीमा पुगिन्। र मेडवे नेपाली कम्युनिटीको अध्यक्ष पनि भइन्। 

नीनाले भनिन्, ‘ममा केही क्षमता देखेरै मलाई नेतृत्वको जिम्मेवारी दिइएको होला। युनिभर्सिटीमा पनि साथीहरुले मलाई दुई पटक विद्यार्थी प्रतिनिधि बनाए।’

जीवनमा आफूले देखेका दुःखका पलहरु सम्झेर भावुक हुँदै उनले भनिन्, ‘मैले असमानता, गरिबी र कष्टकर जीवन देखेकी छु। र, यी समस्याहरु समाधान गर्न नीति निमार्णको स्तरमा पुगेपछि मात्रै सम्भव हुन्छ भन्ने लाग्यो र लेबर पार्टीमा समाहित भएँ।’

आफनो कार्यक्षेत्र मेडवे आफूले सोचेको भन्दा निकै समावेशी र प्रगतिशील रहेको उनले बताइन्। 

‘मेडवेसँग अत्यन्त गौरवपूर्ण सम्पदा र अपार सम्भावना छ। हामी शिक्षा, स्वास्थ्य र समुदायका लागि आवश्यक सबै क्षेत्रहरूमा लगानीको लागि उत्सुक छौँ,’ उनले भनिन्, ‘हामी सबैको साझा, प्रगतिशील र अधिक समृद्ध मेडवे चाहन्छौँ, जसले सबैका लागि जीवनको अवसरलाई बढावा दिन्छ। हामी दृष्टि र लक्ष्यमा एकजुट भएर समुदाय र काउन्सिल नेतृत्वहरू मिलेर काम गर्दैछौं। जसको प्रतिफल अवश्य पनि सकारात्मक हुनेछ।’ 

आफू रोल मोडल भएर काम गर्न प्रयास गर्ने बताउँदै नीनाले भनिन्, ‘मप्रति सबैको धेरै आशा र विश्वास छ। म सबैको भलो चिताउँछु र सबै पक्षलाई सम्मान गर्छु। अनि यो सुनिश्चित गर्नेछु कि जो यहाँ बसोबास गर्छन्, तिनले आफूलाई महत्वपूर्ण महसुस गर्नेछन्। र सबैलाई समान अवसर एवं जीवनको समानता सुनिश्चित गर्ने प्रयास गर्नेछु।’

नीनासँगको वार्तालाप सकिँदा हाम्रो कपको कफी पनि रित्तिसकेको थियो। उनले अन्तमा हामीलाई धन्यवाद दिने क्रममा आफ्नो हस्ताक्षरित प्रमाणपत्र दिँदै उनकै सहर घुमाउन लगिन्। हामी उनीसँगै रोचेस्टर घुम्न गयौं। उनी सहरमा सबैलाई हातले इसारा गर्दै हाइहेल्लो भन्दै हिँडिरहेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .