निर्वाचन आयोगले बिहीबार भएको प्रान्तीय र नेशनल एसेम्बली चुनावको परिणाम आइरहेको छ।
तर शुक्रबार दिउँसोसम्म सबै परिणाम आउने आँकलनविपरीत अहिलेसम्म आधा निर्वाचन सिटको मात्रै नतिजा सार्वजनिक भएको छ।
जेल जीवन बिताइरहेका पाकिस्तान तेहरिक इन्साफ (पीटीआई) ले अग्रता बनाउँदै लगेपछि परिणाम घोषणामा ढिलाइ भएको छ।
परिणाम घोषणामा ढिलाइ गरेसँगै पीटीआईका कार्यकर्ताले देशभर प्रदर्शन थालेका छन्। पीटीआई कार्यकर्ता देशका मुख्य १९ सहरमा प्रदर्शनमा उत्रिएका छन्।
जनादेश चोरी गरिएको आरोप लगाउँदै पीटीआई कार्यकर्ता सडकमा उत्रिएपछि राजधानी इस्लामावादमा धारा १४४ लागु गरिएको छ।
प्रदर्शनमा उत्रिएका पीटीआई कार्यकर्ताले खैबर पखतुनख्वाको शांगलामा एउटा सरकारी गाडी जलाइदिएका छन्।
शांगला जिल्लामा पाकिस्तान मुस्लिम लिगका आमेर मुकामको जितपछि इमरान समर्थकहरू सडकमा उत्रिएका हुन्। यस क्रममा पीटीआई कार्यकर्ताहरूले एक सरकारी गाडीमा आगो लगाएका हुन्।
पीटीआईले त्यहाँको नतिजा स्वीकार्न इन्कार गरेको छ। पीटीआईले पुलिसले सर्वसाधारणमाथि गोली चलाउँदा ३ जना घाइते भएको जनाएको छ।
उता पूर्व गृहमन्त्री राणा सनाउल्लाह नेशनल एसेम्बलीतर्फ एनए-१०० सिटमा चुनाव हारेका छन्।
पाकिस्तान मुस्लिम लिगका नेता एवम् पूर्व गृहमन्त्री राणा सनाउल्लाह फैसलाबिद सिट (एनए-१००) मा हारेका हुन्।
उनलाई पीटीआई समर्थक उम्मेदवार निसार जटले १९ हजारभन्दा धेरै मतले पराजित गरे।
Shares
प्रतिक्रिया