ad ad

कारोबार


रानीमहल नियाल्दै ‘र्‍याफ्टिङ सरर’

रानीमहल नियाल्दै ‘र्‍याफ्टिङ सरर’

नेपालखबर
कात्तिक ५, २०७९ शनिबार ७:५८, तानसेन (पाल्पा)

बाँके नेपालगन्जका सुदीप पौडेललाई रानीमहल भ्रमण गरेपछि साहसिक जलयात्रा (र्‍याफ्टिङ) नखेली मनले मानेन। पहिलोपटक रानीमहल आएका पौडेलले बर्सातको भेलसँगै कालीगण्डकी नदीमा र्‍याफ्टिङ को आनन्द लिए।

“पहिला त निकै डर लागेको थियो, पछि आनन्द महसुस भयो”, पौडेल भन्छन्, “प्रकृतिसँग रमाउँदै पानीमा डुबुल्की मार्न रानीमहल क्षेत्र राम्रो गन्तव्य रहेछ।”

तानसेन नगरपालिकाबाट १३ किलोमिटर उत्तरतर्फ रहेको रानीमहल ढुङ्गेचट्टानमा अवस्थित छ। यसको आडमा बगेको कालीगण्डकी नदीमा साहसिक जलयात्रा सुरु गरिएपछि पर्यटकहरु आकर्षित भएका हुन्। रानीमहलमा दैनिक दुई सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरु भ्रमण गर्ने गर्छन्। जसमा दैनिक १५ देखि २० जनाले साहसिक जलयात्रा गर्छन्।

स्याङ्जा विर्घाकी १६ वर्षीय नितिसा पाण्डेले चार पटक रानीमहल भ्रमण गरे पनि साहसिक जलयात्रा भने गरेकी थिइनन्। भन्छिन्, “मेरो घर नजिकै भएर पनि यहाँ (र्‍याफ्टिङ) सुविधा छ, भन्ने थाहा थिएन।”

चौथोपटक रानीमहल आउँदा अरू साथीहरुले जलयात्रा गरेको देखेर आफूले पनि यसको मज्जा लिएको उनी बताउँछिन्।

तेजकुमारी एडभेन्चर प्रालिले रानीमहलदेखि रीडी (रुरु धाम) सम्म साहसिक जलयात्रा चलाएको छ। रानीमहल सेरोफेरो एक किलोमिटरमा रु पाँच सय र रुरुधामसम्म रु दुई हजार शुल्क तिरेर साहसिक जलयात्रा गराइएको सञ्चालक कृष्ण क्षेत्री बताउँछन्। जलयात्राका लागि दुईवटा बोट सञ्चालनमा छन्। सुरक्षालाई कायक, हेलमेट, लाइफ ज्याकेट र बीमाको व्यवस्था गरिएको छ।

“र्‍याफ्टिङ भनेपछि पर्यटक डराउने गर्नुहुन्छ”, क्षेत्री भन्छन्, “सबैखाले सुरक्षा प्रबन्ध, पानीको बहाव अध्ययन गरेर मात्र खेलाइन्छ।”

प्रेमको प्रतीक र नेपालको ताजमहल भनेर चिनिने रानीमहलमा उदाउँदो र अस्ताउँदो सूर्यसँगैको रानीमहल हेर्न पर्यटक आउँछन्।

कालीगङ्गाको तटमा बसेर रानीमहललाई नियाल्दै, सांसारिक दुःख, कष्ट र सुर्तालाई भुल्न प्रेम गर्ने जोडीहरु यहाँ आउछन्। यहाँ सञ्चालित साहसिक जलयात्रालाई व्यवस्थित गर्न सीमाना जोडिएका तानसेन नगरपालिका, बगनासकाली र कालीगण्डकी गाउँपालिकाले दीर्घकालीन योजना बनाएका छन्। बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीका अनुसार रुरुधामदेखि रानीमहल र रानीमहलदेखि राम्दीसम्म साहसिक जलयात्रा सञ्चालन गर्ने योजना छ। 

अग्ला पहाडको खाेँचबाट कालीगण्डकी नदी रानीमहलको आड भएर बहन्छ। उत्तरतर्फ बग्ने भएकाले यसलाई उत्तरवाहिनी नदीका नामले समेत चिनिन्छ।

जिल्ला सदरमुकाम तानसेनबाट नजिक भएर पनि मोटरबाटोको असुविधाले आन्तरिक पर्यटकको रोजाइमा रानीमहल कम पर्ने गर्थ्यो।पछिल्लो समय मोटरबाटोको स्तरोन्नतिले यातायात सहज भएपछि आन्तरिक पर्यटकको रोजाइमा यो क्षेत्र पर्ने गरेको छ। पाल्पाको तानसेनमा प्याराग्याइडिङ र रिब्दीकोट–४ भैरवस्थानमा जिपलाइन जस्ता अन्य साहसिक खेल सञ्चालन भइरहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .