टर्कीका भूकम्पपीडितलाई नेपालले सोमबार स्वास्थ्य सामग्री र न्यानो कपडा पठाउने भएको छ।
टर्की सरकारको मागअनुसार ती सामग्री पठाउन लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए।
टर्किस एयरलाइन्सबाट सोमबार बिहान सामग्री पठाउन लागिएको हो। ती सामग्री विमानस्थलमा पु¥याएर तयारी अवस्थामा राखिएको छ।
शुक्रबार नै पठाउने भनिए पनि टर्कीले क्लियरेन्स दिन समय लगाएपछि केही दिन ढिला भए पनि पठाउन लागिएको पोखरेलले नेपालखबरलाई बताए।
नेपालले टर्कीलाई औषधिहरु, स्वास्थ्य उपकरणहरु र न्यानो कपडा पठाउने तयारी गरेको छ। त्यहाँ अहिले चिसो मौसम छ भने वर्षा र हिउँ पनि परिरहेको छ।
त्यहाँको मौसम माइनस १० डिग्रीसम्म झरेको छ।
भूकम्पपीडितको उपचारमा आवश्यक औषधि, स्वास्थ्य उपकरण र न्यानो कपडाहरुमा ब्ल्यांकेट, ज्याकेट र ट्रयाकसुट पठाउन लागिएको हो।
टर्की सरकारले ती सामग्री तत्काल आवश्यक रहेको भन्दै परराष्ट्र मन्त्रालयमार्फत लेखिपठाएको थियो।
ती सामग्रीहरु सरकारको गोदाममा भएका र नेपाल रेडक्रसलगायत निजी क्षेत्रबाट संकलन गरेर पठाउन लागिएको हो।
Shares
प्रतिक्रिया