ad ad

कारोबार


क्रिप्टोमा जोखिमपूर्ण बाजी र डिपोजिट रित्तिँदा डुब्यो अर्को अमेरिकी बैंक

क्रिप्टोमा जोखिमपूर्ण बाजी र डिपोजिट रित्तिँदा डुब्यो अर्को अमेरिकी बैंक

मार्च १२ मा बैंक आइपुगेका एक कर्मचारी (रोयटर्स)


म्याथ्यु गोल्डस्टेन र इमिली फ्लिटर
फागुन २९, २०७९ सोमबार १४:४४,

घरजग्गा क्षेत्रमा ठूलो लगानी व्यवसाय गर्दै आएको न्युयोर्कको वित्तीय संस्था सिग्नेचर बैंकले भर्खरै मात्र क्रिप्टोकरेन्सी डिपोजिट्स (निक्षेप) थालेको थियो। तर नियामकीय अधिकारीले बैंक खुल्ला राख्दा यसले पूरै वित्तीय प्रणालीलाई अस्थिर बनाउने जोखिम रहेको भनेपछि आइतबार आफ्नो ढोका बन्द गर्न बाध्य भयो। 

यसलाई सिलिकन भ्याली बैंकले फैलाएको अधैर्य अवस्थाको परिणामको रुपमा पनि हेरिएको छ, जसलाई नियामकले शुक्रबार मात्रै आफ्नो नियन्त्रणमा लिएका थिए। 

सिग्नेचरको डुबाइले साना र मध्यमखाले बैंकहरुको चुनौतीलाई जोड दिएको छ। किनभने यसको ध्यान साना व्यवसायमा हुने गथ्र्यो भने ग्राहक पनि जेपी मोर्गान चेस र बैंक अफ अमेरिकाकाभन्दा निकै थोरै थिए। विशेषगरी पुरानै ढर्रामा चल्दा उनीहरुलाई थप असुरक्षित बनाएको छ। 

स्टार्टअपहरुलाई कर्जा लगानी दिने सिलिकन भ्याली बैंकले अन्तिम समयमा वित्तीय निर्णय लिँदा शुक्रबार डुब्न पुगेको थियो। योसँगै बैंकलाई ग्राहकको पैसा झिक्ने आग्रह स्वीकार्न पनि हम्मेहम्मे परेको थियो भने सुस्त उद्यम पुँजी कोषका कारण कम्पनीहरुलाई आफ्नो खाता खिच्न उक्सायो। 

त्यस्तै सिग्नेचर बैंक गत वर्ष क्रिप्टो उद्योग भताभुंगा हुनुअघि क्रिप्टोकरेन्सी डिपोजिट स्वीकार्ने थोरैमध्ये एक थियो। गत हप्ता जसरी सिलिकन भ्याली बैंकका दुःखहरु फैलिनथाले, सिग्नेचरका व्यवसायी ग्राहकले आफ्नो डिपोजिट सुरक्षित भए नभएको सोध्नथाले। 

धेरैलाई सिलिकन भ्यालीका व्यवसायी ग्राहकलाई जस्तै आफ्नो डिपोजिट असुरक्षित हुनसक्ने चिन्ता थियो। धेरैजसो उनीहरुले आफ्नो खातामा साढे २ लाख डलर बढी जम्मा गरेका थिए। संघीय निक्षेप बीमा निगम (एफडीआईसी)ले सिलिकन भ्याली बैंकका डिपोजिटकर्तालाई साढे २ लाख डलरसम्मको बीमा गरेको छ। 

आइतबार सिग्नेचर बन्द भएको घोषणा गर्दै नियामकले दुवै बैंकका ग्राहकलाई खातामा रहेको पैसाबारे जानकारी माग्ने बताएको छ। 

‘यी बैंकका धेरै बचतकर्ता नवप्रवर्तनात्मक अर्थतन्त्र हाँकिरहेका साना व्यवसायी छन् र उनीहरुको सफलता नै न्युयोर्कको तन्दरुस्त अर्थतन्त्र हो’, न्युयोर्ककी गभर्नर क्याथी होकुलले एक वक्तव्यमा भनेकी छिन्। 

तर शुक्रबार नै यसका ग्राहकहरु आफ्नो पैसाप्रति निकै चिन्तित देखिएका थिए। सिग्नेचरबाट हतारिएर डिपोजिट निकालिरहेका थिए। यसको सेयर पनि ओरालो लागिरहेको थियो। 

यसबारे जानकार एक व्यक्तिका अनुसार ती सबै हुनुका बाबजद बैंकका अधिकारीहरुले यो समाधान हुने आशा गरेका थिए किनकि आइतबार बिहानसम्म पैसा झिक्ने क्रम निकै सुस्त भइसकेको थियो। तर नियामकीय अधिकारीले अमेरिकामा ४० शाखा भएको बैंकलाई नियन्त्रणमा लिनलागेको आकस्मिक रुपमा बताएपछि यसका कार्यकारीहरु अचम्ममा परेका थिए। 

बैंक बन्द गरेसँगै एफडीआईसीसँग सहकार्य गरिरहेका न्युयोर्क बैंक नियामकहरुले यसका कार्यकारी टिमलाई बर्खास्त गरेको छ। 

सिग्नेचरको सम्पत्ति १ खर्ब डलरभन्दा कम छ। बैंक डुब्दा यसमै निर्भर व्यावसायिक सेवा दिने धेरै कम्पनीलाई पनि अप्ठ्यारोमा पारेको छ। यो बैंकले लामो समयसम्म कानुनी फर्महरुलाई ग्राहकको पैसा र अन्य सेवाका लागि जमानी खाताजस्ता बैंकिङ सेवा दिँदै आएको थियो।   

सिग्नेचर सन् १९९९ मा स्कट श, जोसेफ डिपाओलो र जोन ट्याम्बरलेनले स्थापना गरेका थिए। यसलाई इजरायलको ठूलो बैंक ब्यान्क हापोआलिमले समर्थन गरेको थियो। बैंक सन् २००४ मा पब्लिक भएको थियो। सिग्नेचरले ट्याक्सी मेडालियन (न्युयोर्कमा ट्याक्सी सञ्चालन गर्न आवश्यक धातुकार्ड) हरुको खरिदमा लगानी गर्ने गथ्र्यो। यसबाहेक उक्त बैंकले ल फर्म, घरजग्गा कम्पनी र धनाढ्य परिवारलाई क्याटरिङका लागि बैंकिङ सेवा दिन्थ्यो। 

यसका कतिपय ग्राहकमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ट्रम्प अर्गनाइजेसन र उनका कम्पनी समेत थिए। बैंकले ट्रम्पका ज्वाइँ जारेद कुशनर, उनका बुबा चार्ल्सलाई पनि कर्जा दिएको छ। यसले ट्रम्पको फ्लोरिडामा रहेको गल्फ कोर्समा पनि लगानी सहयोग गरेको छ। 

बितेको दशकमा सिग्नेचरले देशव्यापी रुपमा लैजाने क्रममा विशेषगरी वेस्ट कोस्टमा आफ्नो व्यवसाय विस्तार थालेको थियो। तर यो बैंकलाई पनि कतिपय उही समस्याले डुबाएको छ जसका कारण सिलिकन भ्याली डुब्नपुगेको थियो। त्यो समस्या भनेको उसले आफ्ना धेरै ग्राहकलाई साढे २ लाख डलर बढी राख्न दिनु हो। 

नियामकीयलाई बुझाइएको कागजातअनुसार बैंकको करिब ८८ अर्ब डलर डिपोजिटमध्ये ७९ अर्ब डलर गत वर्षको अन्त्यसम्म बीमा नै नगरिएको पाइएको छ। 

गत हप्तासम्म सिग्नेचरले भनेअनुसार ८० प्रतिशत बढी डिपोजिट ल फर्म, एकाउन्टिङ फर्म, हेल्थकेयर कम्पनी, उत्पादक र घरजग्गा व्यवस्थापन कम्पनीहरुको छ। 

बैंकका अनुसार आफ्नो डिजिटल सम्पत्तिसम्बन्धीका ग्राहकको १६.५२ अर्ब डलरको डिपोजिट छ। सन् २०१८ मा बैंकले क्रिप्टो सम्पत्तिको डिपोजिट लिन सुरु गरेको थियो। जुन काम गर्ने थोरै वित्तीय संस्थामध्ये सिग्नेचर पनि एक हो। 

भाग्यशाली मानिएको त्यो निर्णय अन्ततः समाप्त भएको छ। किनकि एफटीएक्स डुबेपछि आपराधिक अनुसन्धानसँगै क्रिप्टो सम्पत्ति पनि रित्तिएको छ। अर्को क्रिप्टोकेन्द्रित बैंक सिल्भरगेट बैंक पनि गत हप्ता सहमतिमै बन्द गरिएको थियो।

‘यो कथा क्रिप्टो र अनुभवी बैंकरहरुले लिएका निर्णयगत ठूलो त्रुटिसँग जोडिन्छ’, वित्तीय संस्थालाई परामर्श दिने ह्वालेन ग्लोबल एडभाइजरका क्रिस्टोफर ह्वालेनले भने, ‘परिणाम उही भयो– डिपोजिट भाग्ने।’ न्युयोर्क टाइम्सबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .