ad ad

कारोबार


पोखराको बाटो चाँडो बनाउन भारतीय पर्यटन व्यवसायीको सुझाव

पोखराको बाटो चाँडो बनाउन भारतीय पर्यटन व्यवसायीको सुझाव

रासस
बैशाख ७, २०८० बिहिबार ८:३२, काठमाडौँ

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा भारतको अयोध्या एवं वनारसमा छुट्टाछुट्टै कार्यक्रम भए।

कार्यक्रममा पोखरासँगको पर्यटकीय सम्बन्ध मजबुत बनाउन ‘कनेक्टिभिटी’लाई सहज एवं प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ।

अयोध्या एवं वनारसका पर्यटन व्यवसायी एवं सम्बद्ध अधिकारीले प्राकृतिक रुपमा मनमोहक गन्तव्य पोखरा भए पनि त्यहाँ सिधा हवाई सम्पर्क भइनसकेका अवस्थामा सडक पूर्वाधार पनि समस्याका रुपमा रहेको बताए।

सडक मार्गमा निर्माण कार्य भइरहेका कारण आवतजावत गर्न असहज भएको बताउँदै उनीहरूले निर्माण कार्य चाँडो सम्पन्न गर्नुपर्ने जरुरी रहेको आवश्यकता औँल्याए।

उत्तर प्रदेश पर्यटन विभागका अधिकारी आरपी यादवले अयोध्या र पोखराबिचको पर्यटकीय सम्बन्ध बलियो बनाउनुपर्ने बताउँदै पर्यटकीय साझेदारीमा जोड दिए। अयोध्यासहित उत्तर प्रदेशबाट बर्सेनि ठूलो सङ्ख्यामा पर्यटक पोखरा जाने गरेको बताउँदै उनले आगामी दिनमा यो क्रम अझै बढ्ने विश्वास व्यक्त गरे।

अयोध्यामा रामसीताको मूर्तिका लागि कालीगण्डकीबाट ल्याइएको देवशिलाले दुई देशबिचको सम्बन्धलाई अझै मजबुत बनाएको बताउँदै कार्यक्रमका सहभागीले सदियौँदेखिको दुई देशको सम्बन्ध आँफैंमा विशिष्ट रहेको उल्लेख गरे।

पोखरा जुनसुकै मौसममा पनि जान सकिने गन्तव्य भएको बताउँदै वनारसका वरिष्ठ पर्यटन व्यवसायी कौलेश कुमारले पोखरा जाने निर्माणाधिन बाटोको काम चाँडो सम्पन्न गर्न आग्रह गरे।

वनारस धार्मिकरुपमा महत्वपूर्णस्थल रहेको र पोखराले पनि धार्मिकरुपमा महत्व राख्ने उल्लेख गर्दै उनले यी दुवै स्थानको पर्यटकीय विकासका लागि साझेदारी गर्न सकिने धारणा राखे।

अर्का पर्यटन व्यवसायी सन्दीप पटेलले पोखरासँगको पर्यटकीय सम्बन्ध पर्यटकीय साझेदारीका माध्यमबाट बलियो बनाउनुपर्ने आवश्यकता औँल्याए। पोखराको प्राकृतिक सौन्दर्यता र त्यहाँको मौसम घुम्नका लागि उपयुक्त भएको उनको भनाइ छ।

समस्याको रुपमा रहेको कनेक्टिभिटीलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिँदै उनले सडक मार्गबाट सहजरुपमा पोखरा पुग्ने वातावरण तयार गर्नुपर्ने बताए। दूरी छोटो भए पनि सडक मार्ग निर्माणाधीन अवस्थामा रहँदा पुग्न असहज हुने गरेको उनको भनाइ छ।

पोखरा पर्यटन परिषद्का अध्यष पोमनारायण श्रेष्ठले आफूहरू न्यानो आतिथ्यताका लागि सदैव तयार रहेको बताए।

सडक सञ्चालन चाँडो व्यवस्थित गर्न पर्यटन व्यवसायीका तर्फबाट पनि आफूहरूले निरन्तर दबाब दिइरहेको बताउँदै उनले निर्माण कार्य यथासक्य चाँडो गर्न सम्बद्ध निकायसँग पहल गरिरहेको बताए। प्राकृतिक दृश्यावलोकनसँगै साहसिक पर्यटनका हरेक गतिविधि एकसाथ पोखरामा गर्न सकिने उनले बताए।

नाट्टा गण्डकी प्रदेश अध्यक्ष हरिराम अधिकारीले पोखराको पर्यटन प्रवर्द्धनसँगै भारतबाट जाने पर्यटन व्यवसायीले सीमा क्षेत्र एवं नेपालमा रहँदाका अवस्थामा भोग्ने गरेका समस्याबारे प्रत्यक्षरुपमा जानकारी लिनु पनि आफूहरूको उद्देश्य रहेको बताए।

कार्यक्रमका क्रममा भारतीय पर्यटकबाट प्राप्त सुझावलाई लिएर देखिएका समस्यालाई समाधान गर्नेतर्फ प्रयास पनि गरिने उनको भनाइ छ।

पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले पोखरा सबै मौसमका लागि घुम्न सकिने गन्तव्य भएको बताउँदै सहजरुपमा घुम्दै भरपुर मनोरञ्जन लिन भारतीयलाई आग्रह गरे।

सडक निर्माण लगायतका कामलाई चाँडो सम्पन्न गर्ने कुरामा पहल गरिने उनको भनाइ छ। कार्यक्रम सञ्चालक एवं नाट्टा गण्डकी प्रदेशका महासचिव सङ्गीता पौडेलले पोखरा सधैँ ‘अतिथि देवो भवः’ को मन्त्रलाई आत्मसात् गरी अघि बढिरहेको बताइन्।

कार्यक्रमअन्तर्गत बिहीवार गोखरापुरका पर्यटन व्यवसायी एवं सञ्चारकर्मीसँग छलफल एवं अन्तर्क्रिया गर्दै टोली पोखरा फर्कने कार्यक्रम रहेको संयोजक एवं नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष किशोर दाहालले जानकारी दिए। पटनाहुँदै वनारस, अयोध्यालगायतका स्थानका सबै प्रवर्द्धनात्मक कार्यक्रम प्रभावकारी बनेको उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .