ad ad

कारोबार


पोखरामा फस्टायो अपार्टमेन्ट व्यवसाय, कहाँकहाँ हुँदैछ निर्माण?

पोखरामा फस्टायो अपार्टमेन्ट व्यवसाय, कहाँकहाँ हुँदैछ निर्माण?

वसन्त अर्याल
जेठ ३०, २०८० मंगलबार ९:१३, काठमाडौँ

पर्यटकीय नगरी पोखरामा अपार्टमेन्ट व्यवसाय फस्टाएको छ। काठमाडौंपछि सबैभन्दा बढी अपार्टमेन्ट पोखरामै निर्माण भैरहेका छन्। यही आकर्षण देखेर व्यवसायीहरुले लगानी बढाउँदै लगेका हुन्।

काठमाडौँको तुलनामा पोखराका अपार्टमेन्टको मूल्य कम छ। व्यवसायीले १ करोडदेखि साढे ३ करोड रुपैयाँसम्ममा अपार्टमेन्ट बिक्री गरिरहेका छन्। पोखरामा केही अपार्टमेन्ट तयार भैसकेका छन् भने केही निर्माणकै क्रममा छन्। 

काठमाडौँसँगै पोखरामा जग्गाको मूल्य बढ्दै जाँदा अपार्टमेन्ट बनाउन थालेको व्यवसायीहरु बताउँछन्। 

‘जग्गाको मूल्य एकदमै अकासिएर गयो। जग्गा किनेर घर बनाउनै अप्ठेरो बन्दै गएको अवस्था छ,’ नेपालमा सबैभन्दा बढी अपार्टमेन्ट र हाउजिङमा लगानी गरेको सीई कन्स्ट्रक्सनका अध्यक्ष तथा प्रबन्ध निर्देशक विजय राजभण्डारीले भने, ‘एउटा अपार्टमेन्टमा हुनै सबै सुविधा आफैँ बनाउँदा व्यवस्थापन गर्न गाह्रो हुनाले पोखरामा अपार्टमेन्ट बढ्दै गएका हुन्।’

उनले अपार्टमेन्ट बनाउँदा थोरै जग्गामा अग्लो भवन बनाउँदा केही सहज हुने बताउँछन्। नेपाली समुदायमा अपार्टमेन्ट संस्कृति विकास भैरहेकाले पोखरामा अपार्टमेन्ट फस्टाएको सुनाए। 

‘अहिले धेरै मानिस पोखरामा समय बिताउन चाहन्छन्,’ राजभण्डारीले भने, ‘पोखराकै मानिस पनि राम्रो लोकेसनमा सुविधा सम्पन्न अपार्टमेन्ट खरिद गर्न खोज्छन्।’

पोखरामा व्यावसायिक गतिविधि बढ्दो रहेको र व्यवस्थापक तहको वर्गलाई अपार्टमेन्टमा रुचि बढ्दै गएको व्यवसायीले बताएका छन्। 

बी एन्ड बी लेक भ्यू अपार्टमेन्टका सञ्चालक विमल बस्यालले होटलको कन्सेप्टमा अपार्टमेन्ट सञ्चालन गर्न लागेको बताए। उनले पोखरामा अरु अपार्टमेन्ट घरकै रुपमा बने पनि आफ्नो होटल अपार्टमेन्टको अवधारणामा बनेको बताए। 

‘नेपालमा पहिलो कन्सेप्टको रुपमा हामीले निर्माण गरिरहेका छौँ,’ बस्यालले भने,‘आफू बस्ने समयमा आफ्नो घरको रुपमा प्रयोग गर्न सक्छन्।’

पोखरामा नेपालीसँगै विदेशी पर्यटक लक्षित सुविधा सम्पन्न अपार्टमेन्ट भएको बताए। निश्चित शुल्क तिरेर आफूलाई आवश्यक समय बस्न सक्छन्। 

पोखराको कुन ठाउँमा कस्तो अपार्टमेन्ट बन्दै छन् त?

सुनगाभा अपार्टमेन्ट
सुनगाभा अपार्टमेन्ट पोखराको फूलबारीमा निर्माण हुँदै छ। १२ तलाको अपार्टमेन्ट ७ रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ। २०२४ को दसैँसम्म निर्माण सक्ने सद्भावना हाउजिङ डेभलपर्सको योजना छ।

७ रोपनी ११ आना क्षेत्रफलमा ५४ वटा फ्ल्याट रहने छन्। दुई र तीन बेड रुमसहित किचन, हल हुने छन्। अपार्टमेन्ट ब्लक, सामुदायिक भवन र गार्ड भवन गरी ३ वटा ब्लक रहने छन्।

एउटा युनिटको मूल्य २ करोड ५० लाखदेखि ३ करोड ५० लाख रुपैयाँसम्म तोकिएको छ। १४ सय देखि १६०० वर्गफिटमा अपार्टमेन्ट बन्दैछन्। अनुमानित लागत १ अर्ब रुपैयाँ छ। ७ तल्लाको भवन बनिसकेको छ। 

केही युनिट बिक्री समेत भइसकेको छ। अपार्टमेन्टमा फिटनेस सेन्टर, स्विमिङ पुल, जिम, साउना तथा सभागृह भएको क्लब भवन, खुल्ला क्षेत्र र पर्याप्त पार्किङका सुविधा हुने छन्। अपार्टमेन्टबाट ३.२ किमि दुरीमा पोखरा विमानस्थल र ४.२ किमिको दुरीमा फेवाताल छन्। 

फेवा प्रिन्स र लेक भ्यु अपार्टमेन्ट 
सीई कन्स्ट्रक्सनले पोखराको विमानस्थल नजिकै चौथेमा अपार्टमेन्ट सहित हाउजिङ निर्माण गरिरहेको छ। ६० युनिटको अपार्टमेन्ट र ३० युनिटको हाउजिङ निर्माण हुँदैछ। २५ रोपनी जग्गामध्ये १२ रोपनीमा हाउजिङ, ४ रोपनीमा अपार्टमेन्ट र बाँकीमा व्यावसायिक भवन, खुला ठाउँ रहने छ। सीईले एचजी भेन्चर्ससँगको सहकार्यमा निर्माण गरिरहेको छ। सीई कन्स्ट्रक्सनका अध्यक्ष विजय राजभण्डारीले चौथेमा अधिकांश हाउजिङ बिक्री भैसकेको र अपार्टमेन्ट बुकिङ सुरु भएको जानकारी दिए।  

सीईकै लेक भ्यु अपार्टमेन्ट लेकसाइडमा तयार भैसकेको छ। ५६ युनिट अपार्टमेन्टमध्ये ४५ वटा बिक्री भैसकेको कम्पनीले जनाएको छ। सो अपार्टमेन्ट ३ रोपनी ९ आना क्षेत्रफलमा फैलिएको छ। ४१० वर्गफिटदेखि १४९३ वर्गफिटका अपार्टमेन्ट छन्। ११ वटा बिक्री हुन बाँकी छन्। कम्पनीले १ करोड ४२ लाख रुपैयाँदेखि ३ करोड ५८ लाख रुपैयाँका अपार्टमेन्ट खाली रहेको उल्लेख गरेको छ। 

उनले पोखरामा एउटा अपार्टमेन्ट राम्रो बिक्री भएपछि दोस्रो अपार्टमेन्ट बनाउने तयारीमा रहेको सुनाए। 

सूर्योत्तम लक्जरी अपार्टमेन्ट 
केएल र केसी ग्रुपले पोखराको साराङ्कोटमा १४१ युनिटको अपार्टमेन्ट निर्माण गरिरहेको छ। १८ रोपनी क्षेत्रफलमा अपार्टमेन्ट बन्ने कम्पनीले उल्लेख गरेको छ। जय भद्रकाली डेभलपर्सले यसको निर्माण गरिरहेको छ। 

जसमा ३ वटा टावर रहने छन्। १२ सय ४ वर्गफिटदेखि १५ सय ९१ वर्गफिटसम्मका अपार्टमेन्ट बन्दै छन्। एउटा युनिटको मूल्य १ करोड ९० लाखदेखि ३ करोड रुपैयाँसम्म तोकिएको छ। 

अन्नपूर्ण अपार्टमेन्ट 
कालु गुरुङको रोड शो रियल स्टेटले अन्नपूर्ण अपार्टमेन्ट बनाउँदै छन्। पोखरामै डिप अपार्टमेन्ट बनाइसकेको रोड शोले २ वटा नयाँ अपार्टमेन्ट बनाउँदै छ। सेदी बगर र मासबारमा अपार्टमेन्ट बनाउन थालेको हो।

सेदी बगरमा ६ रोपनी क्षेत्रफलमा बन्दै छ भने मासबारमा २ रोपनी क्षेत्रफलमा। सेदी बगरमा ६० युनिटको र मासबरमा ४१ युनिटको अपार्टमेन्ट बन्दैछ। एउटा युनिटको मूल्य एक करोड राखिएको छ।

बी एन्ड बी लेक भ्यु अपार्टमेन्ट 
बिमल बस्याल र अन्य व्यवसायीले पोखराको सेदीमा नयाँ होटल सहितको अपार्टमेन्ट बनाउँदै छन्। ११ तल्लाको भवन रहने छन्। पहिलो चरणमा ६० युनिटको अपार्टमेन्ट निर्माण गरिने छ। 

३३ रोपनी क्षेत्रफलमा अपार्टमेन्ट निर्माण हुँदैछ। ७२ वटा स्टुडिओ अपार्टमेन्ट, ३६ वटा २ बेडरुम सहितका, २ वटा मिनी कटेज र ४ वटा पेन्ट हाउस अपार्टमेन्ट रहने छन्। अहिले बुकिङ खुला छ। सञ्चालक विमल बस्यालले अबको डेढ वर्षमा सञ्चालनमा आउने बताए। 

अपार्टमेन्टमा रुफ टफ रेस्टुरेन्ट, सुपरमार्केट, ट्राभल एजेन्सी, ब्युटीपार्लर, स्पा, लन टेनिस कोर्ट, बेडमिन्टन कोर्ट लगायतका आधुनिक सुविधा रहने छन्। 

लभ्ली हिल रेजिडेन्स
ह्वाइट हर्स डेभलपर्सले पोखराको पर्साङमा अपार्टमेन्ट बनाउँदै छ। १० रोपनी क्षेत्रफलमा अपार्टमेन्ट तयार हुँदै छ। २ वटा टावर सहितको अपार्टमेन्ट र भिल्ला पनि रहने छन्। अपार्टमेन्टमा ४६ वटा युनिट र १२ वटा भिल्ला रहने छन्। 

अपार्टमेन्ट १० तलाको हुनेछ। एक बेडरुम, २ बेडरुम र ३ बेडरुम सहित हल, किचन हुने छन्। ८ वटा अपार्टमेन्ट ३ बेडरुमको हुनेछन् भने २२ वटा २ वटा बेडरुम सहितको हुनेछन्।

कम्पनीले प्रतिवर्गफिट १५ हजार रुपैयाँ मूल्य तोकेको छ। ५०० देखि १५०० वर्गफिटका युनिट तयार भएका छन्। 

रेजिडेन्सीमा स्विमिङ पुल, क्लबहाउस, जिम, ब्याडमिन्टन कोर्ट, बच्चा खेल्नको लागि पार्क हुने छन्। 

पोखरा रेजिडेन्सी अपार्टमेन्ट 
कम्फर्ट गुडविल डेभलपर्सले १० तले अपार्टमेन्ट निर्माण गरेको छ। अपार्टमेन्ट तयार भैसके पनि जेठ ३ गते मात्रै गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन जरिवाना सहित पास गरेको छ। 

यो ६ रोपनी ७ आना क्षेत्रफलमा छ। १०७ वटा युनिट छन्। ३५ परिवार बसोबास गर्न थालिसकेका छन्। २०७६ मा भवन निर्माणको इजाजत पाएसँगै काम सुरु गरेको थियो। 

एउटा युनिटको १ करोड ३० लाखदेखि २ करोड ५० लाख रुपैयाँ मूल्य छ। आयोजनामा २ बीएचके, ३ बीएचके र ४ बीएचके भवन रहेका छन्। अपार्टमेन्टबाहेक जिम, साउना, ज्याकुजी, योग हल, स्विमिङ पुल जस्ता सुविधा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .