ad ad

कारोबार


दुई साता बित्दा पनि भारतबाट आइपुगेन रेलमार्गको फाइनल सर्भे रिपोर्ट

दुई साता बित्दा पनि भारतबाट आइपुगेन रेलमार्गको फाइनल सर्भे रिपोर्ट

वसन्त अर्याल
जेठ ३१, २०८० बुधबार २०:६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको (जेठ १७–२१) भ्रमणका क्रममा रक्सौल–काठमाडौं रेलमार्गको फाइनाल सर्भे रिपोर्ट नेपाललाई हस्तान्तरण गरिएको जानकारी विदेश सचिव विनयमोहन क्वात्राले दिएका थिए।  

प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीबीच हैदरवाद हाउसमा भएको भेटपछि विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा क्वात्राले यसबारेको जानकारी दिएका थिए।

तर दुई साता बितिसक्दा पनि उक्त रेलमार्गको फाइनल सर्भे रिपोर्ट नेपालको हातमा परेको छैन।

‘रक्सौल–काठमाडौं रेलको फाइनल लोकेसन सर्भे रिपोर्ट नेपाली पक्षलाई हस्तान्तरण गरिएको छ,’ क्वात्राले जेठ १८ गते पत्रकार सम्मेलनमा भनेका थिए। 

त्यसबाहेक प्रधानमन्त्रीको भारत भ्रमणमा क्वात्राले दुवै प्रधानमन्त्रीले कार्गो रेल भारतको बथनहाबाट विराटनगरको सुख्खा बन्दरगाहसम्म सुरुवात गरेको बताएका थिए। जोगवनी–विराटनगर रेललिंक  भारतको अनुदानमा निर्माण भएको हो। 

त्यसबेला कुर्था–विजलपुरा रेलखण्ड भारतले नेपाललाई हस्तान्तरण गरेको थियो। जयनगर–कुथा प्यासेन्जर रेलमार्गका लागि भारतले एकपटकलाई मर्मत खर्चसमेत दिने क्वात्राले बताएका थिए। त्यसबाहेक भारतले नेपाली रेल अधिकारीको दक्षता वृद्धि गर्ने सझदारी भएको पनि बताएका थिए।

प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएको २ हप्ता बित्यो तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा हालसम्म रेल्वेको सर्भे रिपोर्ट आएको छैन। 

मन्त्रालयको सम्बन्धित महाशाखा र रेल विभागका अधिकारीहरुले उक्त रिपोर्ट अझै पनि प्राप्त नभएको बताएका छन्।   

‘काठमाडौं–रक्सौल रेलमार्गको फाइनल सर्भे रिपोर्ट मन्त्रालयमा आइपुगेको जानकारी छैन,’ मन्त्रालयका प्रवक्ता एवम् सहसचिव भीमार्जुन अधिकारीले भने।

रेल्वे विभागका महानिर्देशक रोहितकुमार बिसुरालले सञ्चारमाध्यममा फाइनल लोकेशन सर्भे हस्तान्तरण गरेको पढे पनि हालसम्म प्राप्त नभएको बताए। 

‘विभागमा फाइनल लोकेशनको रिपोर्ट अहिलेसम्म आइपुगेको छैन। मन्त्रालयबाट पनि केही जानकारी आएको छैन,’ बिसुरालले भने।

२०७५ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले पूर्वसम्भाव्यता अध्ययन सझदारीमा हस्ताक्षर गरेका थिए। 

पूर्वसम्भाव्यता अध्ययनपछि २०७८ असोजमा नेपाल र भारतबीच सझदारीपत्रमा हस्ताक्षर भयो। भारतको कोंकण रेलवे कर्पोरेशनका प्राविधिकले फाइनल सर्भेको अध्ययन गरेका हुन्। सर्भेको पूरै लागत भारतले अनुदानमा व्यहोरेको छ। 

विभागका महानिर्देशक बिसुरालले सर्भे रिपोर्ट बन्दा आधिकारिक रुट निर्धारण भई रेलमार्ग निर्माण तयारी अगाडि बढाउन सहज हुने बताए। 
‘अहिले नै रुट कहाँबाट बन्ने सामान्य जानकारी छ। रिपोर्ट आउँदा रुट स्पष्ट निर्धारण हुन्छ,’ उनले भने, ‘कहाँ कहाँ हुँदै रेलमार्ग कुदाउने? कति दूरीको रेलमार्ग हुने भन्ने आधिकारिक विवरण रिपोर्टमा हुन्छ।’

प्रारम्भिक रिपोर्टमा काठमाडौं–वीरगञ्ज रेलमार्गको दूरी १३५.८८ किलोमिटर हुने अध्ययनले देखाएको विभागले उल्लेख गरेको छ। 
रक्सौलबाट, निजगढ हुँदै काठमाडौंको चोभारसम्म रेल ल्याउने योजना छ। 

रेल विभागका अनुसार फाइनल लोकेशन सर्भेकै डीपीआर जस्तै विस्तृत अध्ययन भएको डकुमेन्ट हो। फाइनल लोकेसन सर्भेअनुसार सुरुङमार्ग, अग्ला पुलसहित बनाउनु पर्ने छ। एक दर्जन स्टेशन रहने छन्। काठमाडौं–रक्सौल रेलमार्ग बनाउन ३ खर्ब बढी लाग्ने अनुमान छ। 
पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख अर्जुनजंग थापाले पनि फाइनल लोकेशन सर्भेको रिपोर्ट भारतबाट आइनसकेको बताए। 

‘नेपाली पक्षलाई बुझाएको भए पहिला हाम्रो महाशाखामा आउनु पर्ने हो,’ थापाले भने, ‘मन्त्रालयमा रेलमार्ग हेर्ने हामीले नै हो। आउने क्रममा होला कि?’

भारतीय पक्षले प्रधानमन्त्रीको भ्रमणका क्रममा हस्तान्तरण गरेको औपचारिक घोषणा गरे पनि कन्सल्टेन्टले पछि बुझाउने सक्ने थापाले बताए। 

‘रिपोर्ट तयार गरेको कन्र्फम हो। हामीलाई मन्त्रालयमा प्रस्तुति पनि दिएका थिए,’ सहसचिव थापाले भने, ‘रिपोर्ट मन्त्रालयमा बुझउनै पर्ने हो। त्यसपछि वातावरणीय अध्ययन गर्नुपर्छ।’

सम्भाव्यता अध्ययन, फाइनल सर्भे रिपोर्ट भारतीय सहयोगमै तयार भए पनि फाइनल सर्भेको आधारमा वातावरणीय अध्ययन नेपाल आफैँले गर्नुपर्ने उनले बताए। 

‘फाइनल सर्भे डीपीआर तहकै काम हो,’ उनले भने, ‘अब यसकै आधारमा कति लगानी लाग्ने? कसले लगानी गर्ने? प्रक्रिया अगाडि बढाउन सकिन्छ।’

नेपालले आफ्नै लगानीमा काठमाडौं–तराई द्रूर्तमार्ग बनाएकाले भारतीय सहयोगमा रेलमार्ग बनोस् भन्ने चाहेको उनले बताए। 

‘हामीले अनुदानमै बनाइदियोस् भनेका छौं,’ उनले भने, ‘तर अहिलेसम्म कसले बनाउने तय भएको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .