ad ad

कारोबार


१ करोड यात्रु धान्नेगरी त्रिभुवन विमानस्थल विस्तार गरिँदै, लगानी ५० अर्ब

१ करोड यात्रु धान्नेगरी त्रिभुवन विमानस्थल विस्तार गरिँदै, लगानी ५० अर्ब

वसन्त अर्याल
असार ६, २०८० बुधबार २०:४, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई वार्षिक १ करोड यात्रु धान्नेगरी विस्तार गरिने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिले केही समयअघि पास गरेको त्रिभुवन विमानस्थलको गुरुयोजना अनुसार ४ वटा संरचनामा ५० अर्ब रुपैयाँ लगानी हुन लागेको हो। 

त्रिभुवन विमानस्थलमा अहिले वाइडबडी र न्यारोबडी गरी ११ वटा अन्तर्राष्ट्रिय उडानका जहाज पार्किङ गर्न सकिन्छ। गुरुयोजना अनुसार एप्रोन, टर्मिनल भवन तयार हुँदा २२ वटासम्म वाइडबडी र न्यारोबडी जहाज एकै पटक पार्क गर्न सकिने बताइएको छ।

काठमाडौंमा अन्तर्राष्ट्रिय यात्रुको चाप बढेसँगै विमानस्थल विस्तार सुरु भएको थियो। ३ वर्षअघि करिब १ अर्ब लगानीमा धावनमार्ग विस्तार भएको छ। त्यसअघिको ३ हजार मिटर लामो धावनमार्ग अहिले ३ हजार ३५३ मिटर बनाइएको छ।

विमानस्थलको गुरुयोजना अनुसार ५ वटा संरचना थप गर्न सकिन्छ। जसमा ३ वटाको ठेक्का लागि सकेको छ। टर्मिनल भवन निर्माणको स्वीकृति बोर्डले दिएको छ। 

२४ वटा आन्तरिक वायुसेवाको विमानका एप्रोन (जहाज पार्किङ गर्ने ठाउँ) बनाउने योजना पनि छ। गुरुयोजनामा उल्लेख भए पनि त्यसको काम भने भने बढेको छैन। 

‘मास्टरप्लान अनुसार त्रिभुवन विमानस्थलमा अब धेरै संरचना थप्न सकिँदैन,’ नागरिक उड्डयन प्राधिकरणका हवाई यातायात क्षमता अभिवृद्धि आयोजना निर्देशक दीपेन्द्र श्रेष्ठले भने, ‘योजना पूरा हुँदा वार्षिक १ करोड यात्रुसम्म धान्न सकिन्छ।’

पछिल्लो ५ महिनामा मात्रै त्रिभुवन विमानस्थलबाट १८ लाख ४३ हजार अन्तर्राष्ट्रिय यात्रुले आउजाउ गरेका छन्। 

सवा ४ अर्बको ट्याक्सी वे : जहाज होल्ड हुने समस्या कम हुने 
विमानस्थलको धावनमार्ग विस्तार भए पनि समानान्तर ट्याक्सी वे (पार्किङबाट धावनमार्गसम्म जाने बाटो) भने आधा मात्रै छ। धावनमार्गको उत्तरतर्फ करिब ५०० मिटर ट्याक्सी वे निर्माण हुन सकेको छैन भने दक्षिणतर्फ करिब १२ सय मिटर ट्याक्सी वे छैन। 

उड्डयन प्राधिकरणले उत्तरदेखि दक्षिणसम्मै धावनमार्ग बराबरकै ट्याक्सी वे निर्माणको ठेक्का लगाएको छ। 

धावनमार्ग बराबरकै समानान्तर ट्याक्सी वे हुँदा उडान संख्या बढ्ने छन्। अहिले धावनमार्गकै बीच भागबाट छेउमा पुगेर उडान भर्नुपर्दा एउटा जहाजले रनवे धेरै समय ओगट्छ। जसले जहाज आकासमा होल्ड गर्नुपर्ने बाध्यता छ। समानान्तर ट्याक्सी वे बनेपछि जहाज घुमाउन धावनमार्ग प्रयोग गर्नुपर्दैन। ट्याक्सी वेबाट धावनमार्गको छेउमा प्रवेश गरी सिधै उडान भर्न सक्छन्। 

‘समानान्तर ट्याक्सी वे बनेपछि थप ४–५ वटा उडान अवतरण गर्न सकिन्छ,’ आयोजनाका निर्देशक श्रेष्ठले भने, ‘यसले अकासमा जहाज लामो समय होल्ड भएर बस्नु पर्दैन।’

पुरानो ट्याक्सी वे र धावनमार्गको दुरी ११० मिटर मात्रै छ। अन्तराष्ट्रिय मापदण्ड अनुसार धावनमार्ग र ट्याक्सी वेबीच १७२.५ मिटर दुरी हुनेगरी निर्माण भैरहेको छ। 

दक्षिणतर्फको समानान्तर धावनमार्ग बनाउन एडीबीको ऋण सहयोगमा ठेक्का लागेर निर्माण भैरहेको छ। यसको लागत सवा ४ अर्ब रुपैयाँ छ। चिनियाँ कम्पनी गान्सु मेकानाइजेसन कन्स्ट्रक्सन इन्जिनियरिङले निर्माणको काम गरिरहेको छ। 

३५ अर्बको नयाँ टर्मिनल भवन, प्रवेशमार्ग तिलगंगाबाट
त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलबाट वार्षिक ३५ लाखभन्दा बढी यात्रु आउजाउ गर्दै आएका छन्। उड्डयन प्राधिकरणले अहिलेको भन्दा ३ गुणा ठूलो अर्थात् वार्षिक १ करोड यात्रु आउजाउ गर्न सक्ने टर्मिनल भवन बनाउँदै छ।

नयाँ टर्मिनल भवनमा तिलगंगाबाट प्रवेश गर्ने पहुँचमार्ग बन्ने छ। त्रिभुवन आर्मी अफिसर्स गल्फ कोर्सको अधिकांश भाग नयाँ टर्मिनल भवन बनाउँदा प्रयोग हुने आयोजनाले जनाएको छ। 

नयाँ टर्मिनल भवन ६ वटा वाइडबडी ब्रिज सहितको बन्ने छ। उक्त ठाउँमै न्यारोबडी राख्दा १२ वटासम्म रहन सक्छन्। टर्मिनल भवनको डिजाइन फ्रेन्च कम्पनी एडीपीआईले तयार गरेको छ। 

गुरुयोजना अनुसार अहिलेको आन्तरिक टर्मिनल भवनलाई भत्काइने छ। हाल अन्तर्राष्ट्रिय यात्रुले प्रयोग गर्ने टर्मिनल आन्तरिक यात्रुले प्रयोग गर्ने व्यवस्था गरिनेछ।

टर्मिनल भवनको डिजाइन नेपालको हिमालको प्रतीकका रुपमा बनाइएको छ। टर्मिनल भवन ७५ हजार वर्गमिटर क्षेत्रफलमा निर्माण हुने छ। टर्मिनल भवनमा ड्युटी फ्री सप, कमर्सियल स्पेस, बिजनेस लाउन्ज लगायतका सुविधा छन्। 

अन्डरग्राउन्डबाट आवगमन कक्ष रहने छन् भने प्रस्थानको लागि माथिल्लो तल्ला प्रयोग हुने छन्। टर्मिनलमा हरियाली कार पार्किङसहितका संरचना बन्ने छन्। 

प्राधिकरण सञ्चालक समितिले साइट क्लियरेन्स गर्ने निर्णय गरिसकेको छ।

‘३५ अर्ब रुपैयाँ कसले लगानी गर्ने स्पष्ट भएको छैन,’ श्रेष्ठले भने, ‘साइट क्लियरेन्ससँगै लगानीको विषयमा स्पष्ट हुन्छ।’

नेपाल एयरलाइन्स र सेनाको संरचना सारिँदै
प्रस्तावित नयाँ टर्मिनल भवन बनाउने ठाउँमा नेपाल एयरलाइन्सको ह्याङ्गर र नेपाली सेनाको ब्यारेक समेत छ। प्राधिकरणले वायुसेवा निगम र नेपाली सेनालाई वैकल्पिक ठाउँ दिएर नयाँ टर्मिनल भवन र एप्रोन बनाउने छ। 

हाल पूर्वतर्फ रहेको बुद्ध एयरको ह्याङ्गर रहेको ठाउँमा नेपाल एयरलाइन्स र सेनाको संरचना सार्ने तयारी छ। 

‘एयरलाइन्सलाई चाहिने ठाउँको संरचना हामीले बनाउँछौँ। भवन आफैँ बनाउँछन्,’ उनले भने, ‘नेपाल एयरलाइन्सको भवनको डिजाइन भने हामीले नै गरेका छौं। अब उनीहरुले संरचना बनाए मात्रै पुग्छ।’    

१९९० को पुरानो गुरुयोजना अनुसार प्रस्तावित ठाउँमै अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने योजना थियो। केडीएन/सीसीईसीसीले  एप्रोन र ह्याङओभर बनाउनकोलागि ४ अर्ब रुपैयाँको ठेक्का पाएको छ। प्राधिकरणले एडीबीसँगै ऋण सहयोग ल्याएको छ। 

१२ वटा जहाज अटाउने ७ अर्बको ‘रिमोट पार्किङ’ 
धावनमार्गको उत्तरतर्फ रिमोट पार्किङ र ट्याक्सी वे को निर्माण भैरहेको छ। नेपाल सरकार र प्राधिकरणकै खर्चमा एप्रोन र ट्याक्सी वेको निर्माण कार्य भैरहेको हो। 

‘अहिले ११ वटा जहाज पार्किङ गर्न सकिन्छ,’ श्रेष्ठले भने, ‘अब क्षमता दोब्बर भएको छ। वाइडबडी मात्रै १५ वटा र न्यारोबडी ३० वटासम्म पार्क गर्न सकिन्छ।’

रिमोट पार्किङसँगै करिब ५ सय मिटर ट्याक्सी वे निर्माणको ठेक्का लागेको छ। पार्किङमा ६ वटा वाइडबडी र ६ वटा न्यारोबडी पार्किङ गर्न मिल्छ। रिमोट पार्किङमा रहेको जहाज चढ्न टर्मिनल भवनबाट अहिलेजस्तै  बसको प्रयोग गर्नुपर्छ। 

रिमोट पार्किङ र उत्तरतर्फको ट्याक्सी वेको ठेक्का एभिक कम्पनीले पाएको छ। भ्याटबाहेक ७ अर्ब रुपैयाँ लागत रहेको आयोजना निर्देेशक श्रेष्ठले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .