ad ad

कारोबार


दुई वर्षमा १२ अर्बले घट्यो विदेशी लगानीकर्ताले नेपालबाट लैजाने रकम

दुई वर्षमा १२ अर्बले घट्यो विदेशी लगानीकर्ताले नेपालबाट लैजाने रकम

दीपक भट्ट
साउन ३, २०८० बुधबार २०:०, काठमाडौँ

नेपालमा लगानी गरेर विदेशी लगानीकर्ताले लैजाने प्रतिफल निरन्तर घट्दै गइरहेको छ। गत दुई वर्षको अवधिमा यस्तो रकममा १२ अर्बको गिरावट आएको छ।

आर्थिक वर्ष २०७७/७८ मा विदेशी लगानीकर्ताले २८ अर्ब ३ करोड रुपैयाँ नेपालबाट रकम लगेकोमा २०७८/७९मा १८ अर्ब १२ करोड रुपैयाँ लगेका थिए। त्यस्तै गत आर्थिक वर्ष २०७९/८० अर्थात् यही असार मसान्तसम्ममा १६ अर्ब १७ करोड रुपैयाँ मात्रै प्रतिफल लगेको देखिएको हो।  

विदेशी लगानी प्रोत्साहन गर्न सरकारले यो वर्ष समेत लगानी सम्मेलन गर्दै छ। लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई देखाउने मुख्य आकर्षणमध्ये नेपालबाट बाहिरिने प्रतिफल पनि एक हो। नेपालबाट विदेश लगेको रकम भने निरन्तर घट्दो क्रममा छ। 

गत आर्थिक वर्षमा विदेशी लगानीकर्ताले १६ अर्ब १७ करोड रुपैयाँ बराबरको प्रतिफल विदेश लगेका छन्।

विदेशी लगानीकर्ताले नेपालमा लगानी गरेर त्यसमार्फत भएको प्रतिफललाई रोयल्टी र लाभांश मार्फत रकम विदेश लगेका हुन्। धेरै प्रतिफल लैजाने कम्पनीहरुमा गोर्खा ब्रुअरी, एनसेल, सूर्य नेपाल, युनिलिभर जस्ता कम्पनीहरु छन्।

यो वर्ष रोयल्टीमाफर्त २ अर्ब ३३ करोड रुपैयाँ र १३ अर्ब ८४ करोड रुपैयाँ लाभांश मार्फत रकम विदेश गएको हो। 

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा १३ अर्ब ६६ करोड रुपैयाँ लाभांश बापत गएको देखिएको थियो भने रोयल्टीमार्फत ४ अर्ब ६४ करोड रुपैयाँ। गत आर्थिक वर्षभरिमा प्रतिफलवापत १८ अर्ब ३० करोड रुपैयाँ विदेश लैजान राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको थियो। 

विदेशी लगानीकर्ताले कमाउने नाफा घटेको हो? 
विदेशी लगानीकर्ताले कम प्रतिफल लगेको आधारमा उनीहरुले यहाँ आर्जन गर्ने नाफा नै घटेको भन्न नमिल्ने राष्ट्र बैंकले बताएको छ। 

राष्ट्र बैंकका एक अधिकारी विदेशी लगानीकर्ताले विदेश लैजाने रकम कम देखिने बताउँछन्। 

‘विगतमा लगेका विवरणहरु समेत मूल्याङ्कन गर्ने हो भने चाहिँ यहाँ रोकिएको पनि हुनसक्छ। त्यस्तै उनीहरुलाई जहिले जुन अवस्थामा पनि पैसा लान पाउने छुट छ। कमाउनेबित्तिकै र नाफा बाँडफाँट हुनेबित्तिकै लान्छन् भन्ने पनि छैन,’ ती अधिकारी भन्छन्, ‘त्यसकारण नाफा नै कम भएको भनेर ठोकुवा गर्न मिल्दैन।’

तर, गत आर्थिक वर्ष नेपालको सबै आर्थिक पक्षहरु कमजोर बनेको र कोभिडका कारण सबैतिर प्रभाव देखिएको उनको भनाइ छ।

यस्तो छ नाफा लैजाने व्यवस्था 
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०५७ को दफा २० को उपदफा २ बमोजिम कम्पनीको साधारण सभाले गरेको लाभांश वितरण गर्ने निर्णयको प्रतिलिपि, सञ्चालक समितिको निर्णयको प्रतिलिपि, लेखापरीक्षण प्रतिवेदन, करचुक्ता, कर कार्यालयमा पुँजीगत लाभकर तिरेको रसिद, लाभांश लैजाँदा लाग्ने कर तिरेको रसिद, सञ्चालक लागतको विवरण, कम्पनी दर्ता, नियमावली, प्रबन्धपत्र पेस गरेको खण्डमा उद्योग विभागले विदेशी लगानीकर्तालाई रकम लैजान स्वीकृति प्रदान गर्छ। 

सोबमोजिम नेपाल राष्ट्र बैंकसँग जुन मुद्रामा विदेश रकम जाने हो, त्यसको सहमति लिएर विदेश पैसा लैजाने प्रक्रिया अपनाउन सकिन्छ। त्यस्तै सेयर बिक्रीमार्फतको रकम लैजानको लागि कम्पनीको कर्जा कालोसूचीमा नरहेको प्रमाणपत्र समेत आवश्यक पर्छ। लाभांश रकम विदेश लाँदा २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .